बुधबार, साउन २०, २०७८

स्कुटर दुर्घटनामा भौतिक शास्त्रका प्राध्यापकको मृत्यु

ज्योतिन्यूज २०७७ असोज १७ गते २३:२६

पर्वत, १७ असोज ।
पर्वत र कास्कीको सिमाना नयाँपुलमा स्कुटर दुर्घटनामा भौतिक शास्त्रका प्राध्यापक पुष्कर बस्नेतको मृत्यु भएको छ ।उनी काठमाडौँ स्थित नासा कलेज र  द टायम्स इन्टरनेशनल कलेजमा प्राध्यापन गर्दथे ।

उनी  आँधीखोला गाउँपालिका–६,  स्याङ्गजाका स्थाई बासिन्दा भएको  प्रहरीले जनाएको छ ।

पोखराबाट पर्वतको कुश्मातर्फ आउँदै गरेको ग १० प २१२२ नम्बरको स्कुटर कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलस्थित पर्वत र कास्कीको सिमाना जोड्ने पक्की पुलको बारमा अनियन्त्रित भएर ठक्कर खाँदा स्कुटरको पछाडि बसेका बस्नेतको उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

आज बिहान साढे ४ बजेको समयमा भएको सो दुर्घटनामा सोही स्थान बस्ने अन्दाजी २५ वर्षीय स्कुटर चालक सन्तोष न्यौपाने भने घाइते भएका छन् । उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

आजै उनको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरी सेती नदीको रामघाटमा अन्त्यष्टी गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया