आइतबार, फागुन १६, २०७७

कर्णालीमा चार हजार सङ्क्रमित, तीन हजार सङ्क्रमणमुक्त

ज्योतिन्यूज २०७७ असोज १८ गते २१:३१

सुर्खेत, १८ असोज ।
दिनहुँ कोरोना सङ्क्रमित बढ्ने क्रमसँगै आज पनि कर्णालीमा ६१ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यद्यपि आज २० जना मात्र कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा ५८ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा तीन गरी ६१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

“६१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या तीन हजार ८४१ पुगेको छ”, कँडेलले भन्नुभयो, “तीन हजार ११० व्यक्ति भने सङ्क्रमणमुक्त भएका छन् ।” सङ्क्रमितमा सुर्खेतका ५२, दैलेखका छ तथा कालीकोट, जाजरकोट र रुकुम(पश्चिम)का एकएक व्यक्ति रहेको उहाँले बताउनुभयो ।

अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा कोरोना सङ्क्रमण पुष्टि हुनेमा कन्ट्याक्ट ट्रेसिङमा परेका ४८, एनसिसी बैंकका चार, विद्यार्थी दुई तथा आँखा अस्पताल, नेपाल टेलिकम, व्यापार र मजदूरी क्षेत्रका एकएक व्यक्ति छन् । दैलेखमा भने तीन नागरिकमा सङ्क्रमण देखिएको उहाँले जनाउनुभएको छ ।

प्रतिक्रिया