शुक्रबार, वैशाख १०, २०७८

नेपालका कम्युनिष्टहरूको जीवन-व्यवहार

ज्योतिन्यूज २०७७ असोज २० गते २१:५०

-सुशील भट्टराई

पैसा अर्थात मुद्राको विश्वव्यापी लोकपृयता (प्रभाव) उच्च रहेको विद्यमान विश्वपरिवेशमा, यसबारे उन्नाइसौ शताब्दिका जर्मन दार्शनिक कार्लमार्क्स गरेको व्याख्या विश्लेषण हालसम्म निर्विकल्प र अद्वित्तिय रहेकोमा कसैमा शंका नरहँदा नरहँदै पनि, उनकै नाममा स्थापित मार्क्सवादी आन्दोलन र सत्ताहरू धमाधम विघटित र असफल बन्दै जानुले विश्वभरीका चिन्तकहरूको लागि एउटा कौतुहलताको विषय बनेको छ । यस सम्बन्धमा व्यक्तिगत तहमा आफ्नै मनमा चल्ने विभिन्न तरङ्गहरूलाई अवलोकन गर्न खोज्नुलाई अतिरञ्जनापूर्ण आत्म–वञ्चना नठानियोस ।

यस पंतिकारको मनमा चलेको पहिलो तरङ्ग हो, बुढा त यो संसारमै सबैभन्दा शाहसी (वौद्धिक) पो रहेछन, जसले यस ब्रम्हाण्डमा त्यसको एउटा तुच्छ अंश पृथ्वीको जीवन–विशिष्ठता (जसलाई सबैभन्दा पछिल्ला खगोल वैज्ञानिकहरूले पनि उछिन्न नसकेको) लाई पक्डदै मृत्युपछि मात्रै पुग्न सकिने मान्दै आइएको सौर्यमण्डल, आकाशगंगा वा समग्र ब्रम्हाण्ड बाहिरको कुनै स्थान÷व्यवस्था होइन कि यसै ग्रहलाई नै एउटा प्राकृत (कोरा) अवस्थाको स्वर्गको ठहर गर्दै त्यसैको साँस्कृतिक सफलताको वकालत समेत गरे ।

त्यस्तै दोस्रो तरङ्ग हो– बुढा त फन्टुस पो रहेछन, व्यवहारतः कहिल्यै पुरा नहुने युटोपिया (स्वैर–कल्पना)को ललिपप मान्छे जातिलाई देखाएर करोडौ ज्ञात–अज्ञात शहिदहरूलाई बेबकुफ नै बनाए–गाँठे । लेनिनले असामयिक मृत्यु मर्नु नपरेको भए, खै कुरा कसरी अगाडि बढ्थ्यो, थाहा भएन, तर सबैभन्दा इमान्दार अनुयायी ठानिएको स्टालिन जार वा हिटलरकै अर्को अवतारमा पो प्रकट भए कि, सबैभन्दा सृजनशील ठानिएका माओको दशवर्शे साँस्कृतिक क्रान्ति पनि समयक्रममा ‘कलाविहिन दुखान्त नाटक’ पो ठहरियो कि ?
तर तेस्रो चाहीँ तरङ्ग अलिक फरक प्रकृतीको छ, जसले न कार्लमाक्र्सलाई देवादि–देव–महादेव नै ठान्छ, न त माक्र्सवादलाई सुपरमार्केटमा सजाएर राखिएको केलाउन–पकाउनै नपर्ने तयारी चाऊचाऊ । प्रश्न स्वाभाविकै छ– उक्त अपुर्णताको कारण के थियो, त्यसमा थप्नुपर्ने कुरा के थियो ? उसोभए आजसम्म यस विश्वका अरबौ–खरबौ खोपडीहरूले उक्त अपूर्णताको समाधानबारे मेसो नपाउनु पनि कम्ती कौतुहलताको विषय त कहाँ छ र ?

यस सन्दर्भमा माक्र्स एङ्गेल्स, विश्वविख्यात कम्युनिष्ट घोषणापत्रको मुल नारा “संसारका श्रमिकहरू एक होऔं” लगायत यसको प्रस्तावना “दार्शनिकहरूले संसारको विश्लेषण त खुबै गरे, मुख्य कुरा त यसलाई बदल्नु पो हो ।” अर्थात मार्क्स कै शब्दमा तत्कालिन युरोपलाई तर्साउने भूतले जप्ने मुल (गायत्री)मन्त्रलाई लिएर केही बेर घोरिन पाउने छुट जो कोहीलाई होला ।

संसारलाई बदल्ने कुरामा त विवाद नै रहेन । दिनानुदिनका हाम्रा सबै प्रयाशहरू नै केही बदल्नकै लागि, केही नयाँपन दिनकै लागि, सकभर एउटा अपेक्षित नतिजाकै लागि हुन । सबैले सोच्ने यही नै हो । तर बदल्ने कसरी, वा कुन विधिबाट– विवाद स्वाभाविकै छ । पक्कैपनि यही विधि वा शैलीकै कारण दर्शन र यसका प्रकृतिपनि फरक फरक हुँदा हुन । बदल्नकै लागि हातमा कोर्रा (डर) लिने (वा लिनुपर्ने) भएकोले त्यसलाई सामन्ती दर्शन भनियो होला, बदल्नकै लागि खल्तिमा पैसा (प्रलोभन) लिने भएकोले त्यसलाई पूँजीवादी (बुर्जुवा) दर्शन भनियो होला । नभए, कुन चाहीँ दर्शनले आफूलाई मात्र बुद्धिविलास ठानेको होला र ? बदल्नकै लागि डर र लोभ दुबै नचाहिने, अत्यन्तै पूर्ण र कलात्मक हुने (वा हुनुपर्ने) भएकोले त्यसलाई माक्र्सवादी (क्रान्तिकारी) भन्नुमा अन्यथा नहोला । तर फेरी अर्को विरोधाभाष जन्मन्छ, यदि माक्र्सवाद आफैमा हुनुपर्नेजति पूर्ण (कलात्मक) भइदिएको भए यस्तो असफलता भोग्नु त नपर्ने ?

यस सन्दर्भमा कसै कसैले एउटा प्रश्न पनि गरेको सुनिन्छ– के माक्र्स स्वयं माक्र्सवादी नै थिए त ? आजको भौतिक विज्ञानको परिकल्पनाकै विषय रहेको टाईम–ट्राभल व्यवहारमै संभव भइदिएको भए, कसै कसैले माक्र्सलाई नै भेटी उनको जीवनकालपछि, उनका कृतिलाई लिएर गरिएका व्याख्या विश्लेषण तथा कार्यान्वयनका सन्दर्भमा घण्टौ–हप्तौ मात्र होइन, महिनौ–वर्षौ पनि बहस गर्थे होला, र एउटा निश्कर्ष कसो नआँऊदो हो ?

तर यस यथार्थमा अहिलेलाई यत्तिमात्रै भन्न सकिएला– माक्र्सवादको जननीको रुपमा रहेका महान नाटककार विलियम शेक्सपियर लगायत तत्कालिन युरोपेली साहित्य–जत्ति स्वायत्त र स्वाभाविक थिए, त्यस उपरान्तका माक्र्सवादी भनिएका साहित्यकला त्यत्तिकै स्वायत्त र स्वाभाविक रहन सकेनन । अर्को शब्दमा भारतका राहुल साँस्कृत्यायन (जो सबैभन्दा बढी द्वन्द्वात्मक भौतिकवादी हुँदा हुँदैपनि जीवनभर माक्र्सवादी वा कम्युनिष्ट बन्न सकेनन), चीनका लुसुन, रुसका गोर्की जस्ता केही अपवादलाई छोडेर, अधिकाँश माक्र्सवादी मानिएका साहित्य तथा साहित्यकार या त माक्र्सवादका सेविका (अन्धभक्त) भए, या त वेश्या (प्रायोजित) नै रहे, प्रेमको गरिहाई सहितका जीवनसँगीनी वा अर्धाङ्गिनी कहिल्यै रहन सकेनन ।

यसो भन्दैगर्दा धेरैलाई लाग्दो हो दर्शन त आफैमा पुर्ण हुन्छ नि यसलाई पनि मान्छेलाई जस्तै बाउ–आमा, जहान–परिवार, नाता–गोता, छरछिमेक आदि चाहियो किन ? तर कुरा चाहे, भौतिक वस्तु, चाहे कुनै जीव–जनावर, चाहे व्यक्तिको व्यक्तित्व, चाहे कुनै दर्शन–विचारको नै किन नहोओस, विकासको नियम नै त्यस्तै भएपछि, कस्को के लाग्दो रहेछ ?

पश्चिमी संसारमा दुईपटक चलेका दर्शनका तरङ्गहरू मध्य पहिलोे प्राचीन (शास्त्रीय) ग्रीक दर्शनले गुणात्मकतामा हासिल गरेको उत्कृष्टतासँग जर्मन दर्शनको तुलना हुनै सक्दैन । कारण यो जीवन्त साहित्य वा कलासँग एकाकार थियो । आबारा शुकरात जनताबीचका जनता नै थिए, प्लेटोका सबै कृतिहरू काव्यिक (साहित्यिक) नै थिए, एरिस्टोटल फिल्ड राजनीतिबाट टाढा कोठे दार्शनिकतामा कहिल्यै झरेनन् । कुनै दर्शन फूर्ने वित्तिकै, संभवत आजको जस्तो पुस्तक प्रकाशन वा अभिलेखिकरणको सुविधा नहुनुको कारण पनि होला, त्यसलाई साहित्य आदि कलात्मक प्रस्तुतीका साथ जनताबीच एकाकार अर्थात जीवन नै बनाइहाल्नुपर्ने बाध्यता (वा उपलब्धी) थियो उनीहरूमा ।

तर अर्कोतिर उन्नाईशौं शताब्दिको जर्मनदर्शनको पृष्ठभूमिमा रहेको तत्कालिन युरोपेली साहित्यकला आफैमा एउटा दर्शन जस्तै उच्च र स्वायत्त थिए, भने त्यस उपरान्तका साहित्य–कलाको स्वायत्तताको उच्चतालाई लिएर विविध प्रकारका प्रश्न वा टिकाटिप्पणी पनि गर्न सकिएला । एउटा टट्ट्यौली “सोमबारे औँशी के बार प¥यो, काटेको बोको के कालले म¥यो ?” भनेझै “कला-कलाको लागि कि कला जीवनको लागि”मा विभाजित तत्कालिन साहित्यको स्वायित्तिक उच्चताको त कल्पनै नगरौं, जीवन्तताप्रति नै शंका गर्नुपर्ने भयो ।

दर्शनको प्रकटीकरण वा अभिव्यक्ति वा प्रतुतिलाई लिएर यी दुई प्राचिन ग्रीक दर्शन, र आधुनिक जर्मन दर्शनबीचको फरकलाई स्पष्ट पार्न एउटा उपमाको सहारा लिने अनुमति चाहन्छु । एकातिर “सुटेट–बुटेट दलित मसिहा अम्बेडकर र अर्कोतिर लङ्गौटीधारी प्रतिक्रियावादी (बुर्जुवा) गान्धी” भन्न पनि सकिएला । अहिलेकै उपमाको रुपमा विश्व–महाशक्ति भारतका सरल शालिन मोदी र विपन्नत्तम नेपालका प्रचण्ड–ओलीको यो उत्पातै चुरीफुरी ।

पक्कैपनि गान्धीको कला वा साहित्यरुपी जीवन–अभिव्यक्ति वा जीवन–साहित्य तत्कालिन भारतका अधिकाँश जनतासँग एकाकार थियो, तर सिद्धान्त जसको नाममा जे सुकै भएपनि, अम्बेडकरको जीवन अभिव्यक्तिरुपी कला–साहित्य चाहीँ कोसँग एकाकार थियो त ? कसले त्यसमा आफूलाई देख्थ्यो त ? फेरी सोच्न मनलाग्छ, दलित जस्तो सबैभन्दा (सर्वपक्षीय) सर्वहाराको मुक्ति–अभियानका प्रणेता अम्बेडकरको दर्शनले गान्धीको कला पाएको भए, अर्थात उनी पनि गान्धीजस्तै दलितकै खान्की–बान्कीमा झुपडी–झुपडी धाउन, धुलैमा सुत्न सफल भएको भए, दक्षीण एसियाको दलित मुक्ति आन्दोलन वा क्रान्ति कँहा पुग्थ्यो होला ? अर्कोतिर आफै त विवशता र सम्झौताको पर्याय रहेको गान्धीको दर्शन त्यो पनि अम्बेडकरको टाईसुटमै झुण्डिरहेको भए परिणाम के निश्कन्थ्यो होला ?

यस पंतिकारको मनमा मार्क्सवाद र विश्वकम्युनिष्ट आन्दोलनलाई लिएर बेला बेला यस्ता तरङ्गहरू चल्ने गरेका छन । आजभन्दा झण्डै एक दशक पहिले भर्खरै प्रचण्डसँगको डिभोर्सपछि नयाँ घरजमको मेसोमा लागेका कमरेड मोहनवैद्य लगायतकाहरूलाई आफैले भनेको सम्झन्छ । हे प्रचण्डपथीय सौन्दर्यशास्त्रीज्यु ‘महान तथा गौरवशाली पार्टीको नेतृत्वमा, महान तथा गौरवशाली बलिबेदिमा होमिएका, ती नेपाल आमाका होनहार छोराछोरीहरू (महान तथा गौरवशाली सहिदहरू), केही नेता विशेषका सत्ता–भाकल पुरा गर्नलाई गढिमाईको मेलामा बधगरिएका पशु मात्रै थिए त ? तपाईहरूमा ग्लानी र पश्चाताप भन्ने कुराको त आशै नगरे भो, धैर्यता भन्ने कुरा अलिकति मात्रै छ भने कृपया यो फुच्चेका दुईटा कुरा सुनिदिनोस ।’

“कारण त्यही भाषा हो, चिल जस्तो उडन र देख्न पनि नसक्ने, कुकुर जस्तो सुँघ्न र बफादार रहन पनि नजान्ने लागायत धेरै कुरामा अरुहरूभन्दा निकै पछी, निकै परनिर्भर निम्छरो मान्छे जाति नै आज सबैभन्दा सर्बोच्च कहलिएको । त्यस्तै कारण त्यही कलात्मक वा साहित्यक भाषा हो– पहिलो इन्टरनेशनल देखि हालसम्म कम्युनिष्टकै नेतृत्वमा कम्युनिष्ट सिद्धान्तकै लागि जनताले सबैभन्दा बढी (स्टालिनको नेतृत्वमा २ करोड रुसीहरूको) बलिदान, हुँदाहुँदै पनि सन १९६०को दशक ताका लोकपृयताको सगरमाथा–चुचुरोमा पुगेको साम्यवादी व्यवस्था सन १९९० सम्म पुग्दा नपुग्दै धुलिसात अर्थात सिङ्गो संसारैभरी आज बुर्जुवाकै हालीमुहाली भयो । (स्मरण रहोस पार्टी वा सत्ताको नामको त के कुरा भयो र मुख्य कुरा त जीवन व्यवहारमा देखिन प¥यो)

यी शब्दहरू संझदै गर्दा आज सोच्न मनलाग्छ– यदि संसारकै कम्युनिष्टहरूले आफूभित्र नियाल्ने कष्ट नगरी, आफ्ना अपूर्णतालाई ढाकछोपमात्रै गरी, ‘साम्राज्य’ को गहिराईमा नपुगी, कोरा–नारा ‘साम्राज्यवाद मुदार्रवाद’को अफिममा लठ्ठीरहने हो भने, शंकै लाग्छ– कोरोना पछिको नयाँ समाजवादी विश्व–व्यवस्थाको परिकल्पना पनि साँढेको फल झर्ला र खाम्लाको बिजोग मात्रै पो हुने हो कि ?

कारण सिद्धान्ततः आफूलाई भौतिकवादी, धर्म विरोधी र नास्तिक भनेपनि, कम्युनिष्टहरूको जीवन–व्यवहारमा यो कर्मकाण्डी पाखण्डतालाई कहिलेसम्म देखिरहनु पर्ने ? के कसैको मार्क्सवादी वा कम्युनिष्ट सदस्यता भनेको निजी बर्गोत्थानको लागि सिंहदरबारभित्र लिएको घुस–हजम गर्न भोलिपल्ट विहानै भद्रकाली मन्दिरमा चढाएको भेटीरुपी हजमोला क्याण्डी जस्तै हो ? स्वयं कम्युनिष्टहरु नै यत्तिसम्म पाखण्डपूर्ण रहेपछि, सर्बहाराको दर्शनलाई सर्बहारा वर्गले नै अविश्वास गर्नुपर्ने भएपछि ?

एउटा पंतिकार इन्भेक्टिभ (भद्दा–आलोचक) मात्रै नभएर क्रियटिभ (सृजनात्मक) पनि हुनुपर्दछ भन्नेकुरालाई महशुस गर्दै राजनेताहरूप्रतिको निरेपेक्ष समर्थन र निरेपेक्ष विरोधबाट मुक्त रहँदै, विषयवस्तुलाई अलिक फरक प्रसँगबाट अगाडी बढाउने अनुमति चाहन्छु । माक्र्सवाद मात्रै नभएर लेनिन नेतृत्वको कम्युनिष्ट आन्दोलन (बोल्सेभिक क्रान्ति) लाई बडो उत्साहका साथ नजिकबाट नियाल्दै आएका बेलायती दार्शनिक बर्टण्ड रसेल (साहित्यमा नोबेल पुरस्कार जित्न सफल गणीतका प्राध्यापक) ले आफ्नो कृति ‘विवाह र नैतिकता’को शुरुमै उल्लेख गरेका छन– “जीवन चाहे, व्यक्तिगत होओस वा संसारव्यापी माक्र्सले वकालत गरेजस्तो पैसाले मात्रै पनि पूर्ण हुँदो रहेनछ, यसको लागि गम्भीर प्रेमिल–आलिङ्गनको पनि उत्तिकै आवश्यक पर्दो रहेछ ।” त्यही नै मार्क्सवादको अपुर्णता रह्यो, कम्युनिष्ट आन्दोलनको असफलताको कारण पनि ।

चाहे खेतबारीमा, चाहे उद्योग–निर्माण आदिमा जो–कोहीले देख्ने कुरा त्यही हो-ठूलो सँख्यामा मानिसहरू मिलेर काम गरिरहेका हुन्छन, यो वा त्यो रुपमा एकतावद्ध भइरहेका हुन्छन, एउटा स्वतःस्फूर्त व्यवस्था वा प्रणाली बनिरहेको हुन्छ । त्यहाँको ठूलो र सानो को प्राधिकार र को अनुयायी, आदि देखिदैन । व्यक्तिवादी अहँकार, तँछाड–मछाड, खुट्टा तानातान, आदि देख्नै पाईदैन, जुनकुरा फूर्सदका, अभिजात वा अवकाशप्राप्त वा ठूला–ठालुहरूबीच कल्पना पनि गर्न सकिदैन । यसै दृष्य वा स्थितिभित्रको व्यापक र विश्वव्यापी संभावना एउटा लोकपृय विश्वविख्यात नाराको रुपमा लिपिवद्ध भयो “संसारभरका श्रमिकहरू एक होऔं ।” यसै मियोमा अडिएर कम्युनिष्ट पार्टीहरू बने र सत्ता पनि चलाए, विकास–निर्माण लगायतका धेरै कुरामा आशातित सफलता पनि हासिल गरे तर पनि फेरी उनीहरू कहाँ र किन चुके ?

तर मार्क्सवादी दर्शनले एउटी किशोरीको अनुहारमा स्वाभाविक रुपमा छाउने गुलावी लज्जा भाव अर्थात जीवनको कलात्मक पक्षलाई देख्न सकेनछ । समाजमा वा उत्पादन प्रणालीमा श्रमीक वर्ग र शोषक वर्गलाई देख्नसक्ने मार्क्सवादीहरूले देख्नसकेनछन-आलिङ्गनका विविध स्वाभाव र प्रकारहरु, त्यस्तै सबै आलिङ्गनहरू डर र लोभबाट मुक्त साँच्चिकै गम्भीर प्रकारको वा अर्थपूर्ण भइदिए त जीवन सुन्दर हुन्थ्यो, तर त्यही नभइदिंदा कुरुप । यसको कारण खोतल्न र समाधान निकाल्न नसक्दा, न त कम्युनिष्ट जीवन पद्दतिले कलात्मकता पाउन सक्यो न त राज्यसत्ता नै यान्त्रिकता वा कुरुपताबाट मुक्त रहन सक्यो ?

त्यसैले भन्न मनलाग्छ- जसरी दिनभरी आत्मकेन्द्रित व्यक्तिवादबाट मुक्त एकतावद्ध श्रममा जुटेको एउटा श्रमिकलाई बेलुका गम्भीर प्रेमिलय-आलिङ्गनको आवश्यकता पर्दछ, दर्शनलाई नै डर र लोभबाट मुक्त रहनको लागि मार्क्सवादको अभिव्यक्ति वा प्रकटिकरण पनि उच्च कलात्मक हुनु अनिवार्य छ ।
-विश्वभाषा क्याम्पस (नेपाल राष्ट्रिय प्राध्यापक सँगठनमा आबद्ध)

यी लेखकका निजी विचार हुन ।

 

प्रतिक्रिया