बुधबार, वैशाख २९, २०७८

‘डाक्टर केसीसँग कुरा नगर्ने बरु कात्रो पठाउने तयारी हो?’

ज्योतिन्यूज २०७७ असोज २१ गते १६:१०

२१ असोज, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनसनरत डाक्टर गोविन्द केसीसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।  पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत डाक्टर केसीको जीवन रक्षाको लागि पहल नगर्ने सरकारी नीति महँगो पर्ने चेतावनी दिनुभएको हो ।

‘डाक्टर केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महँगो पर्नेछ प्रधानमन्त्रीज्यू । हेक्का रहोस्, लोकतन्त्र भर्सेस ‘कम्युनिस्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्’, विज्ञप्तिमा भनिएको छ ।

‘अनसनजस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ। खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि- लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक हुन्छ?,’ शर्माको प्रश्न छ।

प्रतिक्रिया