सोमबार, असोज ४, २०७८

बास्तोलालाई ‘ऋषि लिला पत्रकारिता’ पुरस्कार

ज्योतिन्यूज २०७७ असोज २२ गते ६:५९

कास्की, २२ असोज ।
पोखरा बृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषि लिला पत्रकारिता पुरस्कार २०७७’ बाट रासस गण्डकी प्रदेश कार्यालयमा कार्यरत पत्रकार हरि बास्तोला पुरस्कृत हुनुहुने भएको छ ।

पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिक तथा सडक मानवबारे निरन्तर आवाज उठाउँँदै आउनु भएका बास्तोलालाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले बताउनुभयो । पुरस्कारको राशी रु २० हजार रहेको छ ।

नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल संयोजक तथा पत्रकारहरु माधव पनेरु र दुर्गा अधिकारी सदस्य रहेको प्रतिभा सिफारिस समितिले बास्तोलालाई पुरस्कार प्रदान गर्न सिफारिस गरेपछि बृद्धाश्रमले उहाँलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

केही दिनमा विशेष समारोहकाबीच सो पुरस्कार बास्तोलालाई प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । अध्यक्ष पराजुलीले आफ्ना माता पिताको स्मरणमा सो पुरस्कार स्थापना गर्नुभएको थियो । सो पुरस्कारबाट यसअघि पत्रकार चट्याङ, मास्टर र दीपेन्द्र श्रेष्ठ पुरस्कृत भईसक्नुभएको छ ।

बास्तोला यसअघि गजेन्द्र स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार, आदित्यध्वज पत्रकारिता पुरस्कार, प्रेस चौतारी कास्की पत्रकारिता पुरस्कार, नेपाल पर्वतारोहण सङ्घबाट सञ्चालित पत्रकारिता सम्मानलगायत पुरस्कारबाट पुरस्कृत भईसक्नु भएको छ । विसं २०४५ मा राससबाट उहाँले पत्रकारिता शुरु गर्नुभएको थियो ।

प्रतिक्रिया