बुधबार, साउन २०, २०७८

लुम्बिनी प्रदेश राजपत्रमा राजधानीको नाम देउखुरी मात्र लेखिएपछि फेरी विवाद शुरु

ज्योतिन्यूज २०७७ असोज २२ गते १२:२२

२२ असोज, बुटवल ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीको विषयमा फेरी विवाद उत्पन्न भएको छ । प्रदेश सभाले दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई समेटेर राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका अन्तर्गत भालुवाङ्ग क्षेत्रलाई राजधानी बनाउने भनी पेश भएको प्रस्ताव बहुमतले पारित भएको थियो । तर प्रदेश सरकारले राजपत्रमा देउखुरी मात्रै नाम राखेको कारण फेरी विवाद शुरु भएको हो । प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले प्रकाशित गरेको राजपत्रमा दाङको राप्ती उपत्यकाको देउखुरी मात्र स्थायी राजधानी लेखिएको छ ।

यस खालको विवरण प्रकाशमा आएसँगै अर्घाखाँचीवासीले सामाजिक सञ्जालमा आक्रोश ब्यक्त गरेका छन् । उनीहरुले जिल्लामाथि प्रदेशका केही नेताहरुको मिलेमतोमा धोका दिन खोजेको आरोप लगाएका छन् । प्रदेश सभामा मतदान हुनु अघि कानुनमन्त्री कुलप्रसाद केसीले सभामा प्रस्ताव दर्ता गराउँदै यसो भनेका थिए,–‘दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको, राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी कायम गरियोस’ ।
सोही अनुसार दुई तिहाई भन्दा बढी मतले उक्त प्रस्तावलाई पास गर्याै र सभामुख पूर्णबहादुर घर्तीले पनि स्पष्ट भाषामा प्रस्ताव अनुसारकै ठाँउलाई राजधानी तोकिएको बताउनुभएको थियो । तर त्यस अनुसारका नाम राजपत्रमा नआएपछि यस विवादमा पुनः विवाद शुरु भएको छ । सामाजिक सञ्जालमा मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्ण बहादुर घर्ती सहित सरकारको आलोचना शुरु भएकोे छ ।
तर सभामुख घर्तीले नाम आउँदा छोटो रूपमा स्थान तोकेर मात्र प्रकाशित गरिएको बताउँदै यसमा कुनै पनि शंका गर्न नपर्ने बताउनुभयो ।

प्रतिक्रिया