आइतबार, जेठ २, २०७८

चाडबाड नजिकीएसँगै बजार अनुगमनमा तीव्रता

ज्योतिन्यूज २०७७ असोज २२ गते १८:२२

२२ असोज, डोटी । दशैँ तिहारजस्ता चाड पर्व नजिकिएसँगै जिल्लाका प्रमुख व्यापारिक केन्द्र पिपल्ला, राजपुर, सिलगढी, गोपघाट, बीपीनगर तथा बुडरका बजारमा सरसामान किन्ने स्थानीयवासीको एकाएक चहल पहल बढ्न थालेको छ ।

कोरोनाका कारण लामो समयदेखि बन्द रहेका यहाँका बजार, उद्योग तथा होटेल अहिले पूर्णरुपमा सञ्चालनमा आएका छन् । यसै सिलसिलामा दशैँ तिहारका लागि बजारमा स्थानीयवासीको सरसामान किन्नेको भीड लाग्न थालेपछि जिल्लाको सबैभन्दा पुरानो स्थानीय तह दिपायल सिलगढी नगरपालिकाका विभिन्न बजारमा पछिल्लो समय बजार अनुगमनलाई तीव्र पारिएको छ । अनुगमनलाई निकै प्राथमिकतामा राखेर प्रायः दैनिक रुपमा बजार अनुगमन गरिन् थालिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिलगढीले जनाएको छ ।

यहाँका प्रमुख व्यापारी केन्द्रमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटी तथा दिपायल सिलगढी नगरपालिकाको संयुक्त आयोजनामा खाद्य वस्तुको विक्री वितरण तथा गुणस्तर र म्याद भएको नभएको बारे अनुगमन गरिन् थालिएको हो । अनुगमन समितिले जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ को सिलगढी, पिपल्ला, दिपायल र राजपुर बजारमा रहेका सप्लायर्स पसल, किराना, तरकारी तथा मिठाइ पसलमा अनुगमन गर्न थालेको दिपायल सिलगढी नगरपालिकाका नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक शिवराज खड्काले जानकारी दिनुभयो ।

नागरिकको मागअनुसार जिल्लामा चाडबाडको समयमा कालोबजारी र मूल्य वृद्धि नहोस् भन्ने उद्देश्यले बजार अनुगमन गरिएको र अनुगमन कार्यलाई निरन्तरता दिइने नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक खड्काले बताउनुभयो । जिल्लाका प्रमुख बजारमा प्रायः चाडबाडको समयमा अखाद्य वस्तु विक्री वितरण हुने गरेको पटकपटक पाइएकाले सम्बन्धित निकायले नियमित अनुगमन गर्न आवश्यक रहेको दिपायल पिपल्लाका स्थानीयवासी मोहनबहादुर पातलीले बताउनुभयो । जिल्लामा वर्षको एक पटक दशैँ तिहारको समयमा मात्रै अनुगमन हुने भएकाले त्यसो नगर्न पनि यहाँका स्थानीयवासीले अनुगमन समितिलाई सुझाव दिँदै आएका छन् ।

नागरिकको स्वास्थ्य सुरक्षामा व्यापारीहरु निकै सचेत भएकाले अहिले यहाँका बजारमा खासै अखाद्य वस्तु विक्री वितरण नहुने गरेको आफूले अनुगमनका क्रममा पाएको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले बताउनुभयो । गएको वर्ष भदौ महिनामा गरिएको अनुगमनमा जिल्लाको पिपल्ला बजारबाट मात्रै रु २५ लाख बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको थियो । जिल्लामा अखाद्य वस्तु विक्री वितरण गर्ने कुनै पनि व्यापारीलाई हालसम्म कारवाही नभएका कारण पनि अखाद्य वस्तु विक्री वितरणले प्रश्रय पाउँदै आएको जनाइएको छ ।

प्रतिक्रिया