शनिबार, फागुन २२, २०७७

बाल संसार : कोरोनाले बालबालिकाको सिकाइमा पारेको असर

ज्योतिन्यूज २०७७ असोज २३ गते ७:३८

-स्पर्श भुसाल

अहिले पुरै विश्व कोरोना भाइरस(कोभिड–१९) महामारीको विरुद्ध लडिरहेको छ । सबै विद्यालयहरु बन्द छन्, सबै पुस्तकालयहरु बन्द छन्, कार्यालयहरु आंिशक रुपमा मात्र खुलेका छन् । यस्तो अवस्थामा बालबालिकाको समय नष्ट हुन्छ । यो उनीहरूको सिक्ने उमेर हो । यो उमेरमा उनीहरुले धेरै कुराहरु सिकेर भोलि देशको लागि केही गर्नुपर्छ भन्ने उमेर हो । यो उमेरमा उनीहरु विद्यालय जानुपर्ने बेलामा घरमा बस्नु परेको छ । उनीहरूको सिकाइ अवरुद्ध भइरहेको छ । विद्यालयहरु त बन्द नै छन् तर पुस्तकालयहरु पनि खुल्न सकेका छैनन् । अनलाइन कक्षाहरु पनि त्यति भरपर्दा देखिदैनन् । यस्तो अवस्थामा उनीहरूको पढ्ने उमेर त्यसै खेर जाने देखिन्छ । यस्तो हुन नदिन घरमा आमाबुबाले पनि यो समय सदुपयोग गर्दै बालबालिकाहरुलाई विभिन्न जीवन उपयोगी कुराहरूको बारेमा भन्ने, जीवनको हरेक मोडमा आउने बाधाअड्चनहरुसँग डटेर सामना गर्न सिकाउने गर्नुपर्छ । उनीहरुलाई विभिन्न रचनात्मक क्रियाकलापहरूमा संलग्न गराउनुपर्छ । हामीले हाम्रो पहिलो विद्यालय नै आफ्नो घर र पहिलो गुरुहरु नै आफ्ना आमाबुबा हुन् भन्ने गरेका छौं ।

यो समय त्यो भनाईलाई सत्यमा प्रमाणित गरेर देखाउने समय हो । घरमा आमा बुवाले बालबालिकाहरुलाई आफ्नो पालाको कुरा भन्ने तथा आफ्ना अनुभवहरु बाँड्ने गर्नुपर्छ । बालबालिकाहरुलाई उनीहरूको कर्तव्य, परम्परागत चलन, परम्परा आदिको ज्ञान दिन यो समय उत्तम छ । उनीहरुलाई हरेक चाडपर्वहरूको बारेमा भन्ने, आफूलाई भएका कुराहरु भन्ने र इतिहासको बारेमा भन्ने गर्नुपर्छ । यो समयमा यदि किताबी ज्ञान दिन सकिन्न भने उनीहरुलाई बाहिरी ज्ञानको भण्डारले सिगार्नु पर्छ ।

 यो समयमा विद्यालयहरुले पनि बालबालिकाहरुलाई अनलाइन कक्षामार्फत इन्टरनेटमा पाइने पुस्तकहरू पढ्न प्रोत्साहन गर्नुपर्छ । अनलाइन विधिमार्फत कहाँ–कहाँबाट पुस्तक पढ्न पाइन्छ ? त्यस्ता ठाउँहरुको खोजी गरेर विद्यार्थीहरुलाई अबगत गराउनुपर्छ । सकिन्छ भने विद्यालयका पुस्तकहरु पनि विद्यालयको वेभ साइटमा राखेर अथवा विद्यार्थीहरुलाई इमेल गरेर वा जुन विधि उपयुक्त हुन्छ त्यो विधि प्रयोग गरेर उपलब्ध गराउन कोसिस गर्नुपर्छ । यो त इन्टरनेट उपलब्ध भएको ठाउँमा भयो । तर इन्टरनेट उपलब्ध नभएका ठाउँहरुमा मास्क र सेनिटाइजर लगाएर सामाजिक दुरी कायम गराएर पुस्तकालयहरु खोल्ने कोसिस गर्नुपर्छ । त्यसपछि बालबालिकाहरुलाई अनुशासनमा रहेर पुस्तक पढ्न दिनुपर्छ ।

पुस्तकालय भनेको ज्ञानको भण्डार हो । पुस्तकालयमा धेरै ज्ञानवर्धक पुस्तकहरु हुन्छन् । पुस्तकालयमा धेरै रंगीन चित्र र अक्षर भएका पुस्तकहरु पनि हुन्छन् । जसमा बालबालिकालाई मनपर्ने रमाइला कथा, कविता, निबन्ध र कार्टुनहरु पनि पढ्न पाइन्छ । विद्यार्र्थीहरुलाई विद्यालयका पुस्तकभन्दा पुस्तकालयमा भएका पुस्तक पढ्न मनपर्छ । किनभने पुस्तकालयमा धेरै किसिमका पुस्तकहरु राखिएका हुन्छन् । पुस्तकालयमा गएर पढेका पुस्तकमा लेखेका कुरा याद गर्न पनि नपर्ने र  उनीहरुले आफ्नो इच्छाअनुसार पढ्न पाइने भएकोले बालबालिका पुस्तकालयमा गएर पढ्न मन पराउँछन् । उनीहरु पुस्तकमा भएका चित्रहरू देखेर दङ्ग पर्छन्न् । यसरी उनीहरुले रमाइलो तरिकाले केही कुरा सिक्न पाउँछन् । यदि उनीहरु दिनको एक घण्टा मात्र पनि पुस्तकालयमा गएर पढे भने उनीहरुले नयाँ साथी बनाउन, र नयाँ नयाँ कुरा सिक्न सक्छन् । उनीहरुको पुस्तकालयमा रहेका थरी थरीका पुस्तकहरु पढेर देश विदेशमा भएका नयाँ नयाँ कुराहरुका बारेमा पनि जानकारी पाउँछन् । उनीहरुले पुस्तकालयमा गएर थाहा पाएका नयाँ नयाँ कुराहरु घरमा आएर आफ्ना बुबा आमा, दाजुभाई, दिदीबहिनी सबैलाई जानकारी गराउने गर्दछन् ।

अहिले कोरोना महामारीले गर्दा सबै बालबालिकाहरु घरमै छन् । लामो समय विधालय जान नपाई घरमै बस्नु पर्दा  उनीहरूको सिर्जनशील क्षमता घट्दै गइरहेको छ भने पढ्ने बानी पनि हराउँदै गइरहेको छ । लामो समय विद्यालय बन्द रहँदा अहिले उनीहरूको समय व्यर्थै खेर गइरहेको छ । उनीहरु घरमा मोबाइलमा विभिन्न खालका गेम खेलेर, चलचित्र हेरेर र टिकटक बनाएर समय विताइ रहेका छन् । यस्तो अवस्थामा उनीहरुका लागि पुस्तकालय अत्यन्त उत्तम विकल्प हुन सक्थ्यो । तर पुस्तकालयबाट पनि कोरोना भाइरसको संक्रमण फैलिने भयले सरकारले पुस्तकालय खोल्न रोक लगाएको हुनाले लामो समयदेखि सबै पुस्तकालयहरु बन्द गरिएको छ । त्यसैले अहिले चाहेर पनि बालबालिका पुस्तकालयमा जानबाट वञ्चित रहदै आएका छन् ।

हुनत अहिले विश्वभर डिजिटाइजेसनको लहर चलिरहेको छ । अव सबै कुरा प्रविधिमैत्री हुनुपर्छ भनेर आवाज उठिरहेको छ । त्यसैले पुस्तकालहरुलाई पनि प्रविधिमैत्री बनाउने क्रममा विभिन्न संस्थाहरुले इन्टरनेटको प्रयोग गरेर अनलाइन  पुस्तकालय बनाएका छन् । भौतिक पुस्तकालयमा जानबाट वञ्चित रहेको वर्तमान अवस्थामा हामीले अनलाइन वा डिजिटल वा इ–पुस्तकालयका वेबसाइटका एप्लिकेसनहरूको प्रचारप्रसार गर्नुपर्छ । आजभोलिका युवा वर्ग, विद्यार्र्थी र बालबालिकाहरुलाई यसमा आकर्षित गर्नुपर्छ । इ–पुस्तकालय वा अनलाइन पुस्तकालयमा पुस्तकका अतिरिक्त विभिन्न ज्ञानवर्धक र मनोरञ्जनात्मक रमाइला भिडियो र अडियोहरु पनि राखिएको हुन्छ जसलाई हेरेर र सुनेर ज्ञान लिनुका साथै मनोरञ्जन पनि पाउन सकिन्छ ।

अहिलेका अभिभावकहरुले पनि बालबालिकालाई कोर्षका किताबहरु मात्र रटेर पनि हुन्न भनेर सोच्नुपर्छ । बालबालिकालाई रचनात्मक कामहरुमा अगाडि लगाउनुुपर्छ, प्रोत्साहन दिनुपर्छ । उनीहरुलाई कथा, कविता, निबन्ध आदि लेख्न प्रोत्साहित गर्नुपर्छ, सिकाउनुपर्छ । यदि उनीहरुलाई चित्र बनाउन मनपर्छ भने सो गर्न दिनुपर्छ । अहिले उनीहरू विद्यालय जान सक्दैनन् । त्यसैले उनीहरूको रचनात्मक सीप बढाउनुपर्छ । उनीहरूको किताबी ज्ञानसँगै बाहिरी साहित्यिक र अतिरिक्त ज्ञान बढाउन यो समय उत्तम छ ।

 आजका बालबालिका देशका कर्णधार हुन् । यदि उनीहरुलाई आज सबै कुरामा उत्तम बनाउन सकियो भने भोली केही नभएपनि विश्वका महान चित्रकार “लियोनार्दो दा भिन्ची” जस्तै चित्रकलाबाट देशको  सान बढाउन सक्नेछन्, ।  त्यस्तै नोवेल पुरस्कार विजेता रबिन्द्रनाथ टेगोर जस्तै महान साहित्यकार बनेर देशलाई चिनाउन सक्नेछन् । आजका बालबालिका भोलिका लक्ष्मीप्रसाद देवकोटा, अल्बर्ट आइन्स्टाइन, लियोनार्दाे दा भिन्ची, बिल गेट्स जस्ता व्यक्ति बन्न सक्छन् । हरेक व्यक्तिमा केहि न केहि कला र प्रतिभा हुन्छ र उनीहरुको त्यो कला र प्रतिभा उजागर गर्ने यो भन्दा उपयुक्त समय कहिल्यै आउँदैन । हामीले यो कोरोना महामारीलाई एउटा अवसरको रूपमा लिन सक्नुपर्छ ।

अन्तमा, यो बालबालिकाहरूको सिक्ने उमेर हो र हामीले जसरी भएपनि उनीहरुलाई सिक्ने वातावरण सिर्जना गर्नुपर्छ । महामारीको जोखिमलाई मध्यनजर गर्दै सकेसम्म चाँडो विद्यालय र पुस्तकालय खोल्ने वातावरण बनाउनुपर्छ । हामीले उनीहरूको भविष्यलाई यसरी खेर जान दिनुहुँदैन ।

-(लेखक, कीर्तिपुरस्थीत पुष्पसदन आवासीय मा.वि.मा कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।)

प्रतिक्रिया