शुक्रबार, असार ४, २०७८

विभिन्न माग सहित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित : ’एक लाखे सल्लाहकार चाहिँदैन’

ज्योतिन्यूज २०७७ असोज २७ गते ८:१४

कृष्ण बहाब

इटहरी, २७ असोज।
धरान स्थित वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ज्यालादारी कर्मचारीहरूले विभिन्न माग राखेर आन्दोलन सुरु गरेका छन् । गत असोज २० गते अस्पतालका रजिस्ट्रारलाई १२ बुँदे मागपत्र पेस गरेका कर्मचारीहरूले सोमबार देखि आन्दोलन सुरु गरेका हुन् ।
प्रतिष्ठानमा दुई वर्ष अवधि पुरा गरेका कार्यरत ज्यालादारी कर्मचारीहरूलाई करार गर्नुपर्ने उनीहरूको प्रमुख माग छ । एक साताको अल्टिमेटम दिँदै मागपत्र पेस गरेका उनीहरूले प्रतिष्ठानका पदाधिकारीहरूले सुनुवाइ नगरेको भन्दै  ज्यालादारीहरूले आइतवारदेखि जिओपिडी भवनअघि धर्ना सुरु गरेका हुन् ।
ज्यालादारीलाई करारमा नियुक्तिमात्र नभई प्रतिष्ठानमा राजनीतिको आडमा भइरहेको भ्रष्टाचार समेत बन्दगर्न माग गरेका छन् । धर्नामा उनीहरूले दैनिक ज्यालादारीलाई करार गर्नुपर्ने, प्रतिष्ठानमा हुने राजनीति बन्द गर्न, भ्रष्टाचार बन्दगर्न मागगर्दै नारा लगाइरहेका छन् ।
आन्दोलनमा आर्थिक रुपमा धराशायी हुँदै गइरहेको प्रतिष्ठानका उपकुलपतिको सल्लाहकार दिलीप भट्टराईलाई १ लाख रुपैयाँ तलब सुविधा दिएकोमा आपत्ति जनाएका छन् । उनीहरूले उपकुलपतिका प्रशासनिक सल्लाहकारले गेस्ट हाउस दुरुपयोग गरेको बताउँदै ’एक लाखे सल्लाहकार चाहिँदैन’भन्दै नारासमेत लगाएका थिए ।
भट्टराईले प्रतिष्ठानको खर्चमा महँगो मोबाइलफोन बोकेको, प्रतिष्ठानकै खर्चमा गेस्टहाउसमा बसिरहेको भन्दै त्यहाँबाट तुरुन्त निकाल्नमाग गरेका छन् ।
आन्दोलनको नेतृत्वकर्ता जुनियर फोरम्यान किरण भट्टराईका अनुसार रजिस्ट्रारलाई मागपत्र बुझाउँदा चाडै छलफल गर्ने बताए पनि हालसम्म कुनै जानकारी नआएकोले आन्दोलन गर्न बाध्य भएको बताए । ‘२ वर्ष पुरा भएका ज्यालादारीलाई तत्काल करार नियुक्त गरेर अन्य माग बिस्तारै पुरा गर्दा पनि हुन्छ भनेको थियौँ तर अझै सम्बोधनभएन ।’
ज्यालादारी कर्मचारीहरूले २ वर्ष समय पुगेका कर्मचारीहरूलाई तत्काल करार गर्न, जोखिमभत्ता उपलब्ध गराउन, करारलाई परर्फमेन्स करार गर्न, कर्मचारी समाजको निर्वाचन गराउन, ठेकेदारलाई दिएको कोठा खाली गर्न, आन्तरिक बढुवा चाँडो गर्न पनि माग गरेका छन् । साथै कर्मचारी, नर्सिङ, प्राविधिकहरूलाई पनि तुरुन्तकोठा उपलब्ध गराउन, मनपरी सरुवा बन्द गर्न, प्रतिष्ठानको सम्पत्ति दुरुपयोग बन्द गर्न लगायत माग गरेका छन् । प्रतिष्ठानमा दैनिक ज्यालादारी एक सय २० जनाजति कार्यरत छन् ।

प्रतिक्रिया