मंगलबार, कार्तिक २, २०७८

खुल्यो करदाता सेवा कार्यालय मन्थलीमा पनि

ज्योतिन्यूज २०७७ असोज २८ गते १६:२४

 मन्थली,२८ असोज।

आन्तरिक राजस्व कार्यालय धुलिखेलबाट सेवा प्राप्त गरिरहेका रामेछाप जिल्लाका करदाताहरूले अब देखि आफनै जिल्ला सदरमुकाम मन्थली बजारको मदन आश्रित स्मृतीचोकमा २०७७ असोज २८ गते बुधबारस्थापना भएको करदाता सेवा कार्यालयबाट सेवा प्राप्त गर्ने छन् ।

कार्यालय स्थापना भए पश्चात् यस जिल्लामा रहेका करदाताहरूले १०० कि.मी. टाढा रहेको आन्तरिक राजस्व कार्यालय धुलिखेल जानुपर्ने अवस्थाबाट राहत पाउने छन् । यहाँका करदाताहरूले अब छिटो छरितो एवं कम समयमा सेवा प्राप्त गर्नुका साथै समय र लागतको पनि बचत हुनेछ ।

कार्यालयबाट व्यक्तिगत प्यान, व्यवसायिक प्यान, भ्याट रजिष्ट्रेशन गर्ने, व्यवसाय दर्ता खारेज, करचुक्ता प्रमाण पत्र प्रदान गर्ने, कर विवरण, आय विवरण, अन्त:शुल्क विवरण बुझाउने, कर राजस्व बुझाउने लगायतका सेवा प्रदान हुनेछन् । त्यस्तै करदाता शिक्षा प्रदान गर्ने बजार अनुगमन गर्ने, अवैद्य मदिरा नियन्त्रण गर्ने कार्यमा समेत यस कार्यालयको प्रभावकारी भुमिका रहनेछ ।

कार्यालय स्थापना हुनुको मुख्य उद्देश्य छिटो र कम लागतमा गुणस्तरिय सेवा प्रदान गर्ने, राजस्व संकलन गर्ने, वैध व्यवसायलाई प्रोत्साहन तथा अवैद्य व्यापार नियन्त्रण गर्ने, कर कानुनको परिपालना गराउने, करदाताहरूको हकहित र अधिकारको संरक्षण गर्ने आदि रहेको एक प्रेस बक्तव्य मार्फत सेवा कार्यालय, मन्थलीले जनाएको छ ।

प्रतिक्रिया