बुधबार, वैशाख २९, २०७८

गुट संस्थागत गर्दै प्रधानमन्त्री : मन्त्रिमण्डल पुनर्गठनमा पार्टी भित्र चरम असन्तुष्टि

ज्योतिन्यूज २०७७ असोज २८ गते २३:२५

पोखरेल डि-फ्याक्टो प्रधानमन्त्री !

काठमाडौँ, २८ असोज ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सो पदमा आसिन भइसकेपछि एक दर्जन पटक मन्त्रिमण्डल पुनर्गठन गरे । तर हरेक मन्त्रिमण्डल पुनर्गठन गर्दा उनी विवाद रहित हुन सकेका छैनन् । किनकी आफ्नो गुटमा रहेका ब्यक्तिलाई जुनसुकै अपराध गरेकै भएपनि पक्षपोषण गर्ने र पदमाथि पद दिने उनको राजनीतिक चरित्र नै बन्न पुगेको छ,जुनकुरा युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकार बनाएको एक हाप्ता पुग्दा नपुग्दै अमेरिकाको लागि राजदुतमा सिफारिश गरेको पछिल्लो उदाहरण काफि छ ।
भ्रष्ट्रचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्प बोकेका प्रधानमन्त्रीले भ्रष्ट्राचारीलाई काखी च्यापेर पदैपदका चिठ्ठा दिएका धेरै उदाहरण छन् । यस्तै उदाहरण मध्येको एक हो वुधबार पुनर्गठन गरिएको मन्त्रिमण्डल । जसमा उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएर प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन् ।
पोखरेलले अब देशको समग्र विकास-निर्माणका आयोजना अनुगमन, सम्पत्ति शुद्धीकरण,राजस्व अनुसन्धान विभाग र शक्तिशाली संबैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका काम,कारवाही प्रतक्ष्य रुपले हेर्ने छन्।विभागीय विशिष्ट मन्त्री पद नदिएरै आफ्नो कार्यालयमा ल्याएर प्रधानमन्त्री ओलीले ईश्वर पोखरेललाई झनै शक्तिशाली बनाएको प्रष्ट देखिएको छ । अब पोखरेल डि-फ्याक्टो प्रधानमन्त्री बनेका छन् । डि-फ्याक्टोको अर्थ हुन्छ, कुनै निश्चित नियुक्ती विना कुनै पद ओगटे जसैगरी काम गर्नु । यसको अर्थ अबबाट पोखरेल भित्रभित्रै प्रधानमन्त्री जस्तै बनेर देश चलाउनेछन् ।
यस अघि उद्योग ,वाणिज्य र आपूर्ति मन्त्री हुँदा विभिन्न मुद्धामा मुछिएका पोखरेललाई प्रधानमन्त्रीले यसपटक उपप्रधानमन्त्री सहित अझै पावरफुल बनाएका हुन् । विशेष गरी नेपालमा कोरोना महमारी शुरु भएसँगै चीनदेखि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो छोरालाई परोक्ष सहभागी गराएर कमसल स्वास्थ्य सामग्री खरिद गरि उनले आर्थिक अपचलनको काम गरेको संसदीय समितिले औंल्याएको छ ।
हालसम्म स्वतन्त्र रहेको नेपाली सेनालाई आर्थिक अनियमितताको विबादमा पारेर अख्तियारको छानविन हुनबाट जोगाउने खेल पोखरेलले कोरोना नियन्त्रण गर्न बनाएको सीसीएमसीको प्रमुखको हैसियतलाई दुरुपयोग गरेको चर्चा स्वयम् नेकपाका संसदले गर्ने गरेका छन् ।जबकी महामारीमा भारत लगायत विश्व भरि नै गृहमन्त्रीको संयोजकत्वमा कोरोना महामारी नियन्त्रणका समिति बनेका छन तर नेपालमा भने रक्षामंत्रीलाई जिम्मेवारी दिनुले थप शंका गर्ने ठाउं पाएको छ ।
साथै उनको पद अनुसारको कार्यक्षमता नभएको भन्दै धेरैले चर्को आलोचना गरिरहने गरेका छन् । सेनालाई राजनीतिक रंग दिएर आर्थिक हिनामीनामा संलग्न भएका रक्षा मन्त्री रहेका पोखरेललाई प्रधानमन्त्रीले आफु बराबरकै हैसियत दिएर थप संरक्षण गरेको देखिएको छ । त्यति मात्र नभएर ओम्नी समुहमा उनको आर्थिक हिनामिनाको कर्तुत पनि सबै सामू छर्लङ्ग हुँदा पनि प्रधानमन्त्रीले आँखा चिम्लेर थप महत्वपूर्ण जिम्मेवारी दिंदा अब नेकपा भित्रको सत्ता समिकरण अदाला-बदलि हुनेमा संसदहरुका विचारमा ठुलै परिवर्तन आएकोमा सहमति प्राय: देखिएको छ।

पार्टीको निर्देशन मान्दैनन् प्रधानमन्त्री

भदौको अन्तिममा नेकपामा लामो समयदेखि चलेको विवादको राँको एकाएक निभेको भन्दै अन्तरपार्टी निर्देशनजारी गर्दै दुई अध्यक्षले अब झगडा गर्दैनौँ भनेर शपथ लिए तर त्यसको केही दिनमै निर्देशन मिचेर अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुइंको समेत नदिएरै तीन राजदूत र मुख्य सचिवको नियुक्ती प्रधानमन्त्रीले एकलौटी गरेर कार्यकारी अध्यक्षलाई आफ्नो हैसियत देखाई दिए । जसको कारण पार्टी भित्र पूर्वमाओबादी र माधब नेपाल खेमा उनीसँग चिसिएको छ । नाम नबताउने शर्तमा पूर्व माओबादी पक्षका एक नेताले ज्योतिन्यूजसंग भने-“मन्त्रिमण्डल पुनर्गठन हुने कुरा कार्यकारी अध्यक्ष प्रचण्डलाई थाहा थियो, तर को को मन्त्री बन्दैछन भन्ने विषयमा कुनै पनि सहमति भएको थिएन” । उनले प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको मानमर्दन हुनेगरी प्राय:काम कारवाही एकलौटी ढंगले अगाडी बढाएको आरोप लगाए ।
राजदूत नियुक्ती गर्दा गरेको गल्तीबाट सच्चिएलान भनेका ओली फेरी पनि आफ्नो गुटलाई संस्थागत गर्ने अडानबाट टसमस देखिएनन । जुन बुधबारको मन्त्रिमण्डल पुनर्गठनले पुन: प्रष्ट पारेको छ ।
उनले ईश्वर पोखेरललाई आफ्ना ईश्वर नै मानेर पुजा मात्र गरेनन् । हिजो स्वास्थ्य मन्त्री हुँदै कानुन मन्त्रीमा पुर्याइएका समाजवादीका नेता उपेन्द्र यादव र शहरी विकास मन्त्रीमा रहेका इस्तियाक राईको जिम्मेवारीमा रहेका मन्त्री पदमा आफ्नै गुटका नेतालाई एकलौटी नियुक्ति गरेका छन् । जसको कारण कार्यकारी अध्यक्ष प्रचण्ड,वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल पक्षका नेता,कार्यकर्ता प्रधानमन्त्री ओलीसंग चिढिएका छन् । विवादको राँको बन्द भएको भनिएको केही दिनमै फेरि ओलीले गरेका एकलौटी निर्णयले पार्टी भित्र भुसको आगो झैं झगडाको रुप भित्र भित्रै सल्कंदैछ ।
हाल नियुक्त भएका महिलामन्त्री लीलानाथ श्रेष्ठ प्रचण्डका कटु विरोधी र आलोचक हुन् । दोस्रो संविधान सभाको कार्यकालमा उनले प्रचण्डलाई निर्वाचन बिशेष अदालतमा मुद्धा समेत हाल्न भ्याएका थिए । त्यस प्रकारका ब्यक्तिलाई सोझै मन्त्रीमा ल्याइदिंदा प्रचण्ड पक्ष चिढिनु अस्वभाविक नभएको नेताहरुले बताए ।
ओलीले आफ्ना गुटलाई मात्र संस्थागत गर्दै जाने र पार्टीलाई मिलाउनु भन्दा पनि विभाजनको दिशामा दम्भ देखाउने खालका गतिविधिले नेकपा भित्रको किचलो अझै बढ्दै जाने देखिएको छ । त्यतिमात्र नभएर बहुमतकै लागि एकता गरिएको जस्तो देखिएको नेकपाको एकता शब्दमा मात्र सीमित रहेको र भविष्यमा यो एकता दुर्घटना हुने सम्भावना उन्मुख रहेको वाम विश्लेषकहरुको ठम्याई छ ।

प्रतिक्रिया