शनिबार, असोज २, २०७८

कार्यकर्ता भित्र्याउन हतारो : कोरोनाको छैन वास्ता

ज्योतिन्यूज २०७७ असोज २९ गते ०:०३

पार्टी प्रवेश गराउनेकै रिपोर्ट ’पोजेटिभ’

इटहरी, २९असोज।

केही समय अगाडी सम्म पार्टी प्रवेश कार्यक्रममा व्यस्त थिए नेकपा सुनसरीका अध्यक्ष योगेन्द्र मण्डल । सुनसरीको दक्षिणवर्ति विभिन्न ठाउँमा सभामा सक्रिय भएका मण्डलको कोरोना रिपोर्ट मङ्गलवार पोजेटिभ आयो ।
सात सय भन्दा बढी सङ्ख्यामा पार्टी प्रवेश गराएका उनी अहिले आइसोलेसनमा छन् । मण्डलले पार्टी प्रवेश गराएका कार्यकर्ताहरूको अवस्था यति बेला न त नेकपालाई थाहा छ न त सरकारलाई नै । नेकपा मात्र हैन आसन्न महाधिवेशनमा रहेको नेपाली कांग्रेसपनि सभा सम्मेलन गर्न कम व्यस्त छैन ।
प्रदेशसभाका प्रमुख विपक्षी दल काँग्रेसका संसदीय दल नेता तथा काँग्रेस सुनसरीका सभापति राजीव कोइराला पनि केही दिन अघि सम्म पार्टी प्रवेश गराउन जोड बलले लागेका छन् । महामारीकै बिच नेकपा र राप्रपाका १ हजार ५ सयभन्दा बढी कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराएको कोइरालाले सञ्चार माध्यमलाई नै बताएका छन् ।
नेकपा र काँग्रेसले पार्टी प्रवेश गराएपछि समाजवादीले पनि इटहरीमा बृहत् कार्यक्रम गर्दै मङ्गलवार मात्र ३०० जनालाई पार्टी प्रवेश गराएको बताएको थियो । समाजवादी दलका केन्द्रीय नेता राजेन्द्र महतोले इटहरीको सैनिक भवनमा कार्यक्रम गर्दै पार्टी प्रवेश गराएका थिए ।
केही समय अगाडी सम्म सरकारले कोरोना सङ्क्रमण फैलिन नदिन देशलाई लकडाउनमा राखेको थियो । संक्रामक रोग ऐन २०२० प्रयोग गरेर मंत्रिपरिसद र स्थानीय प्रशासनले करिब ६ महिना सर्वसाधारणलाई बाहिर निस्किन बन्देज ग¥यो । अहिले पनि स्वास्थ्य मापदण्ड पालना गरेर मात्र बाहिर निस्किन सरकारले निर्देशिका जारी गरेको छ ।
महामारी नियन्त्रणको लागि सरकारले जारी गरेको निर्देशिका यति बेला सत्तामा रहेको नेकपाले मानेको छ न त सत्ता बाहिर रहेका अन्य राजनीतिक दलहरूले नै पालना गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कार्यक्रम गरेको बताए पनि कुनै कार्यक्रममा सामाजिक दुरी कायम रहेको पटक्कै देखिँदैन ।
काठमान्डु उपत्यकापछी संक्रमण दर उच्च रहेको जिल्लामा मोरंग पछी सुनसरी आउछ । मोरंगमा ५ हजार ६ सय ८९ संक्रमित हुदा सुनसरीमा ३ हजार ६ सय ३६ जना संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मोरङमा र सुनसरीमा दिन प्रतिदिन कोरोना सङ्क्रमण बढ्दै गएको देखिन्छ । सङ्क्रमितहरूले पर्याप्त उपचार नपाइरहेको र समग्र स्वास्थ्य क्षेत्र नै अस्तव्यस्त बनेको बेला समाजको अगुवा नेताहरुनै मान्छे भेला पार्दै पार्टी प्रवेश गराई रहेका छन् ।
सुनसरीमा बुधवार सम्म ३ हजार ३ सय ३६ जना सङ्क्रमित हुदा २५ जनाको मृत्यु भएको छ । जिल्लाका १२ स्थानीय तहमध्ये धरान र इटहरी उपमहानगरपालिकामा बढी सङ्क्रमित देखा परेका छन् । जनप्रतिनिधि र कर्मचारीहरू नै सङ्क्रमणमा परेपछि धरान इटहरी र बराहक्षेत्रका वडा तथा पालिकाहरू कार्यालय बन्द छन्।
महामारी नियन्त्रणको लागि यति बेला राजनीतिक दलहरूले कार्यकर्ता परिचालन गरी सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा लाग्नुपर्थ्यो । अधिकांश ठुला भनिएका दलहरुनै महामारीका बेला झनै जोखिम बढाउने गरी कार्यकर्ता भेला गरी पार्टी प्रवेश कार्यक्रम, सभा समारोह गरिरहेका छन् ।

प्रतिक्रिया