बुधबार, मंसिर २२, २०७८

सिमसार: आफ्ना उत्पादनलाई ’ब्रान्ड’ बनाउँदै कोशीटप्पुका स्थानीय महिला

ज्योतिन्यूज २०७७ असोज २९ गते २०:०३

कृष्ण बहाब भट्टराई

कोशीटप्पु,२९ असोज  ।

कोशी नदीले बनाएको टापुमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा यति बेला काँस फुलेर सेताम्मे भएको छ । फुल्दै गरेको काँस अब घरमा छाउने खर बन्ने प्रक्रियामा छ । काँस मात्र हैन अहिले मिचाहा झारको रूपमा रहेको जलकुम्भी पनि कोशी टप्पुको सिमसारमा मनग्य छ । सिमसारमा यति बेला पटेर पनि काट्ने बेला भएकाे छ।
केही वर्ष अगाडी सम्म यस्ता वनस्पतिहरू कोशी टप्पुका स्थानीयहरूले आफ्नो घरायसी प्रयोजनका लागि मात्र उपयोग गर्थे । तर अहिले त्यो अवस्था अलि फेरिएको छ । सिमसारमा पाइने बनस्पतिहरुलाई यति बेला स्थानीयहरूले ब्राण्डीङ गर्न थालेका छन् ।
अल्पसङ्ख्यक सरदार जातिका स्थानीय महिलाहरूले कोशीटप्पुको सिमसारमा पाइने वनस्पतिहरूबाट हस्तकलाका वस्तु  उत्पादनहरू गर्न थालेका छन् । अधिकांश मिचाहा प्रजातिका वनस्पतिलाई हस्तकलामा ढाल्दा वातावरणमा राम्रो प्रभाव परेकै छ भने आर्थिक रूपमा पछाडि रहेका स्थानीयहरूलाई पनि थप आम्दानीको स्रोत बनेको छ ।
स्थानीयको कला र हाते सीपका माध्यमबाट स्थानीय वनस्पतिहरूलाई कलात्मक ढाँचा दिन थालिएको छ । कोशी गाउँपालिकामा रहेको आरक्षको कार्यालयको हाता भित्र हात्तीसारसँगै रहेको प्रशोधन केन्द्रमा कार्यरत महिलाहरूले दैनिक रूपमा वनस्पतिहरूबाट गुन्द्री,चकटी,कुसन,ब्याग,पर्स,ढक्की र मुडा लगायतका सामान निर्माण गर्दै आएका छन् ।
स्थानीय महिलाहरूले बनाएको वनस्पतिजन्य सामाग्रीको माग बजारमा राम्रो छ । त्यसैले त्यस्ता सामग्रीको माग निकै रहेको पटेर प्रशोधन केन्द्र समितिका संयोजक अशोक कुमार साह बताउँछन् । उनका अनुसार उत्पादित सामग्री स्थानीय बजारसँगै मुलुकका विभिन्न सहरसम्म पुग्ने गरेको छ भने कोशीटप्पु भ्रमणमा आउने पर्यटकको रोजाइमा समेत पर्ने गरेको छ ।
स्थानीय फुलोदेवी सरदारका अनुसार घरमा कुनै काम नभएको बेला गुन्द्री परिका बुनेर राम्रो आम्दानी भइरहेको बत्ताउँछिन् । दैनिक एक देखि दुई वटा पटेरको गुन्द्री बुनेर ५ सय देखि ६ सयसम्म कमाउने उनको अनुभव छ ।

रोटरी क्लबबाट प्राप्त सहयोग सामग्रीको उपयोग गर्दै महिलाहरू पटेरसँगै अन्य झार र घाँसबाट बन्ने सामग्री उत्पादनमा जुटेका छन् । उत्पादित सामग्रीको बजार विस्तारमा जोड दिँदै यतिबेला त्यस्ता सामग्रीको उत्पादन बढाउन थालिएको छ ।
वनस्पतिबाट तयार पारिएका सामानहरू नेपाली बजारका अलावा अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री हुने गरेको होटेल व्यवसायी सुरज गिरी बताउँछन् । अक्वा ईको टुरिस्ट रिर्सोटका प्रबन्धक समेत रहेका गिरीले त्यस्ता सामग्रीको उत्पादन र त्यसको बिक्री वितरणले कोशी टप्पु आरक्षको समेत प्रचार प्रसारमा टेवा पुग्ने बताए ।
सञ्चालक समूहले सरदार र बाँतर समुदायका महिलाहरू मार्फत उत्पादन गरेका सामग्रीलाई चिनो पसल सञ्चालनमा ल्याई बिक्रीका लागि राखेको छ । उक्त पसलको औपचारिक कार्यक्रमका बिच उद्घाटन समेत गरिएको छ ।
सन् १९७६ मा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्षले सुनसरी, उदयपुर र सप्तरीको १ सय ७५ वर्ग किलोमिटर भू -भाग ओगटेको छ । अर्ना र चराका लागि उपयुक्त वातावरण भएको यस ठाउँको ६८ प्रतिशत घाँसेमैदानले ढाकेको छ भने यहाँ ५ सय १४ प्रकारका सिमसारजन्य घाँस पाइन्छन् ।

प्रतिक्रिया