सोमबार, साउन १८, २०७८

इटहरीमा दसैँ अनुगमन सुरु : ४ मासु पसलमा सिल

ज्योतिन्यूज २०७७ कार्तिक १ गते १८:४३

इटहरी,१ कार्तिक ।

मासु पसलले पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पालना नगरेको भन्दै इटहरीमा चार वटा मासु पसलमा ताला लगाइएको छ । यसअघिको अनुगमनमा समेत सुझाव दिए पनि अटेर गरेर न्यूनतम मापदण्ड पालना नगरेका पसलमा ताला लगाइएको जनाइएको छ ।
इटहरी उपमहानगर उपभोक्ता हित तथा संरक्षण समिति संयोजक तथा उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा शनिवार बिहान भएको बजार अनुगमनमा इटहरी स्थित विपीचोक जाने सडक छेउमा रहेका चार वटा मासु पसलमा ताला लगाइएको हो ।
उपमेयर गौतमका अनुसार गत असोज २५ गते अनुगमनका क्रममा ती पसलहरूलाई खुल्ला रूपमा मासु नबेच्न र ३ दिन भित्रमा जाली लगाउन निर्देशन सहितको पत्र दिइएको थियो । तर पुनः अनुगमन गर्दा पनि मापदण्ड पुरा नगरेको पाइएपछि बाध्य भएर ताला लगाइएको उपभोक्ता हित तथा संरक्षण शाखाका प्रमुख नोवल किशोर भट्टराईले बताए ।
उपमेयर लक्ष्मी गौतमको संयोजकत्वमा नगर प्रहरी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि, इलाका प्रहरी सहित गएको बजार अनुगमन टोलीले इटहरी पश्चिम लाइनमा रहेका नमस्ते मासु पसल, मामा मिट सेन्टर, इटहरी मिट सेन्टर र सन्जेल मिट पसलमा सिल गरेको हो ।
शनिवार गरिएको अनुगमनमा चार वटामा सिल र अन्य चार वटा पसललाई तीन दिन भित्र सुधार गर्न पत्र दिइएको छ । विगत दुई वर्ष देखि अनुगमनका क्रममा ती पसलहरूलाई न्यूनतम मापदण्ड पालना गर्न सुझाव दिए पनि अटेर गरेको उपमेयर गौतमले बताउनु भयो   ।
गौतमका अनुसार फेरी पनि अनुगमनका क्रममा सुधार गरेको नपाइए ती पसलहरूमा पनि ताला लगाउन बाध्य हुने बताउनु भयो ।

प्रतिक्रिया