मंगलबार, असार ८, २०७८

दशैँ : केही अनुभूति, केही अध्ययन

ज्योतिन्यूज २०७७ कार्तिक २ गते ०:४६

( पठनपूर्व भन्नै पर्ने हुन्छ – यस लेखवारे लेखककै पूर्वप्रकाशित लेख वा टेलिभिन संवादमा आएका प्रसंग विचार र भावना लाग्न सक्लान् । हतारका पाठकलाई लेख केही लामो पनि हुनसक्छ । यसलाई सांस्कृतिक इतिहास, समाजविकास र आलोचनात्मक कोणबाट अध्ययनको लेखकीय अपेक्षा हो । पर्व र धर्म एकै ठाँउमा घालमेल हुँन जाँदा विषयको चुरोमा पुग्न सकिँदैन् । अन्धास्थाले त पढनै गाह्रो पनि पार्न सक्ला । कोरोना माहामारीले पर्वलाई छोट्यांउदै र डिजिटलाइजेसन बनाउदै छ । हिजै लेखको बहुकोणीय संवाद सुन्जुकीसंग भयो । उनी मझधारकी विज्ञानपुत्री हुन् र भगवतीभक्त । कोरोनाले धेरैकुरा भत्कायो । देबीदेवता, शक्तिपीठ गायव भए । डाक्टर र अस्पताल जान प¥यो । तर, घण्टी सोच हराएन । यूरोपमा कतै शक्तिपीठ त छैन ? आरयल त अक्क न बक्क परे । देख्दैछु– मन्दिर, चर्च, सेनेगाग र मस्जिदमा ताल्चा लागे, भक्तजनको रक्षामा कुनै आलौकिक शक्ति धरतीमा उत्रेन । धारको प्रतिकूल चिन्तन गाह्रो छ, त्यस्ले दशैँका विविध आयामबारे लेख्दैछु । )

यो समय पर्वको महाउत्सव–याम हो । हरेक पर्वसंग समाजको धार्मिक, सांस्कृतिक, ऐतिहासिकता र आर्थिकसंबन्ध जोडिएको मात्रै हुँँदैन्, सामाजिक मनोविज्ञानको तस्विर समेत खिचिरहेको हुन्छ । नेपाली समाजमा श्रीपञ्चमी गयो –लावर्षा, नागपञ्चमी आयो –गोवर्षा भन्ने लोकोक्ति नै छ । नागपञ्चमीले चाडपर्वको ढोका नै खोलिदिन्छ । हाम्रो समाज कृषि आधारित अर्थतन्त्र भएकाले पर्व कृषिपात्रो र मौसमी हावापानीसंग सरोकार राख्छ । समाजको आर्थिक चरित्र र प्रविधीको विकाससंगै सोच पनि फेरिँदै जान्छन् । हाम्रा चालचलन र पर्वका संवेदना र अर्थ पनि फेरिने भए नै ।

कतिपय आगन्तुक पर्व र अनुसरणले पनि परम्परागत रितिथिति र पर्वमा प्रभाव पारिरहेका हुन्छन् । अझ बजार मिडियाले पर्वचिन्तनमा जवरजस्ती हस्तक्षेप गर्दैछ  । धार्मिक अतिवादले पर्वको महत्वलाई धार्मिक अन्धतामा सिमित पार्नेहुँदा कुपमन्डुक, अवैज्ञानिक र अतार्किकतामा खुम्च्याउने प्रयत्न पनि गर्छन् । आँउनुस् –अहिले भने दशै-तिहारजस्ता नेपाली पर्वका बहानामा ( यो प्रवृत्ति छठ्, होली, ल्होसार  र इदमा पनि देखिँदैछन )  धार्मिक आस्थाको विकास, सांस्कृतिक एवं अर्थशास्त्रका विविध पक्षवारे संझिप्त चर्चा गरौँ ।
१. वैद्धिक इतिहास

दशैँ महापर्वकाे रुपमा हिन्दु संस्कृतिमा नेपाली खस आर्य र वंगालीहरुको प्रमुख पर्व हो । अन्य हिन्दुको दोश्रोस्तरको । दशैँसंगै जोडिएका विभिन्न पहलुवारे चर्चागर्दा आर्य र अनार्यको युद्ध अध्ययन आवश्यक  हुन्छ । दशैँ–महात्म्य त्यसै पेरीफेरीको युद्दगाथा मात्र हो । दशैँ , दसहरा, बिजोया, आयुध पूजा भनेर भारतवर्षको विभिन्न रुपमा उल्लेखित भएको दशैँ, आर्यहरुको विजयगाथा र आर्य-अनार्य दुई सभ्यताबीचको भिषण टकराहट हो । रावण र महिषासुरसंगको रणविजय नै यस प्राय:द्विप आगन्तुक आर्यको दशैँ–महात्म्य हो । जित्ने देवता बने, हार्ने राक्षस । जित्नेको प्रशंसाको निरन्तरता सन्तान-दरसन्तानले  गर्ने नै भए । सिन्धनदी पूर्वका आदिवासी प्रतिरोधी–असुर अत्यन्तै सुरवीर रहेकाले युद्द जितेर पनि मर्माहत भएको घायल आर्यजातिले त्यस प्रतिकारलाई युगौँसम्म विर्सनै सकेन् । तत्कालीन यूद्दगाथा इतिहासकै रुपमा नभै महिषासुर र रावण दहनको धार्मिक कलेवर दिँदै मृत्यूउत्सव मनाँउदै रह्यो । देवासुर संग्राम कुनै दैवीकालमा नभएर आर्यको यस उपमहाद्विपमा  आगमनसंगै रैथाने अनार्यसंग भएका लौहयुगको युद्दकथा हो । असुर कुनै हिन्दु वैद्धिकग्रन्थमा वीभत्स चित्रण गरिएका राक्षस नभएर अझै पनि भारतको झारखण्ड, उडिसा र पश्चिम बंगालमा रहेका लोपोन्मुख आदिवासी हुँन जस्को जनशंख्या १९९०को भारतीय जनगणना अनुसार १०,७१२ रहेको छ । झारखण्डमा मात्रै ७,७८३ रहेका छन् । त्यहाँ इसापूर्व ६ हजार वर्ष पहिलादेखि नै मुण्डाहरुको उपस्थिति छ । आर्यसंगको पराजयपछाडि मात्र असुरिया सभ्यता र शक्तिशाली असुर राज्यको पतन सुरु भयो । लौहयुगका जनक असुरको मूख्य पेशा फलाम गलाउने प्राचीनविधी संसारमै अन्य केही अफ्रिकी आदीवासीमा मात्र पाइन्छ । अहिले मुख्य असुरवस्ती झारखण्ड राज्यको गुमला, लोहारदंगा, पालमु र लातेहार जिल्लामा छन् । समाजशास्त्री के. के. ल्युमाका अनुसार अहिलेका असुर महाभारतकालीन असुरवंश नै हुँन भन्ने छ ।

हाम्रै हुम्ला जिल्लाको श्रीनगर आसपासका माडिला र मदना क्षेत्रमा पनि महिषासुरको पुजा गरिन्छ भने भारतको आदिदबासी क्षेत्र झारखण्ड, उडिसा र बंगालको पुररियाक्षेत्रमा पुजा हुँने गर्छ । अझ झापा जिल्लासंगै जोडिएको पश्चिमवंगाल राज्यको जलपाईगुडी अलिपुरदुआरको माझेरडाबरीका असुरवंशीले दुर्गापुजाको बेला शोक दिवस मनाउन न कपडा लगाँउछन् न घरबाटै बाहिर निक्लन्छन् । उनीहरु आफुलाई महिषासुर वंशीं भन्ने गर्छन् । एकातर्फ विजयादशमीको दिन भारतमा महिषासुर र रावण दहनलाई विजय उत्सवको रुपमा लिईन्छ भने अर्कातर्फ त्यही रावणको पुजा आरधाना गर्ने मन्दिर उत्तरप्रदेशको गाजियावाद विशरख, जोधपुरका दवे,गोधा र श्रीमाली समाज रावणको पुजा हुँने गर्छ । मध्यप्रदेशको मन्दसौर, उज्जैनको चिखलीमा मात्र हैन् कर्णाटकाको कोलार जिल्लामा त रावणलाई अन्न देवताकै रूपमा पुजिन्छ । जैनमत अनुसार रावण राक्षस नभै विद्याधर थिए । महाराष्ट्रको अमरावती र गाढचिरौली जिल्लाका कोरकुर र गोंड आदिवासी रावण र रावणपुत्र मेघनादलाई आफनो देवता नै मान्छन् । महाभारत धेरै अर्थमा यसक्षेत्रको महायूद्द भएपनि सो यूद्दगाथा आर्यहरुबीचमै भएकाले दशैँजस्तो महिषासुर र रावण दहनगर्दै पर्वको रुपमा मृत्यूउत्सव नमानाईएको हो । एकातर्फ अशुरजाति र सभ्यतामाथिको विजयलाई आर्यले विजया दशमीको दिन विजयउत्सव मनाउदै गए भने अशुरले महिषासुर र रावण महिमा गाँउनेगर्छन् ।

२. पर्वका अर्थशास्त्र

हाम्रा पूर्वजहरु फिरन्ते युगबाट मानवसभ्यताको कृषियुगमा पुग्दासम्मका आर्यका कृषि उत्पादन, यूद्द गाथा र आर्थिक सम्बन्धका उत्सव मात्र हैन् । आदिआर्यका उत्सव कृषिअर्थतन्त्रसंग जोडिएका हुन्थे । त्यसैले पर्व पनि मनसुनको अन्त, बालीनाली भित्रिसकेका या खेतीबारीबाट फूर्सद भएको समयमा कृषिपात्रो आधारित हुन्थे । होम, यज्ञ पनि वाली भित्र्याईसकेपछि मात्र हुन्थे । त्यो बेला खोलानाला र बाढी-पैह्रो पनि टरिसकेकाले यात्रा सुगम हुन्थ्यो । कालान्तरमा आर्थिक उत्पादनको संबन्ध फेरिदैँजाँदा र सूचना-संचारले अन्यन्त्रका आक्रमक संस्कृति झेल्न नसक्दा पनि पर्वको अर्थशास्त्र कृषिपात्रोबाट फड्को मार्दे बजार–संस्कृतिमा फेरिंदै गयो । समाजमा पुरानो पुरै छोड्न पनि नसक्ने, नयाँ पुरै स्वीर्कान पनि नसक्ने तप्का हुन्छ नै वैश्विकरणसंगै अहिले भने बजारले मानिसको स्वभावलाई नियन्त्रण र निर्देशन गर्दै पर्वकै अर्थसम्बन्ध पनि फेरिदियो । बजार कि हजार भनिन्छ । बजारमा किन्ने र बेच्ने वस्तुमात्रै हुँदैन्, भावना र आस्था पनि हुन्छन् । त्यही आस्था उरालेर पर्वको बजार चम्कन्छ । बजारले मानिसको सोच र भूमिका फेरीदिएको मात्र छैन् गर्भको बच्चा र आर्यघाटका लास पनि बजारले ग्राहक बनाँईदिएको छ । आस्था र आवेगमा तुजुकको घालमेल हुँने पर्वको बजार अर्थशास्त्र कृतिम आवस्यकता पैदा गरेर अरुभन्दा भिन्न वा उम्दा देखिने मनोविज्ञान बन्दै गएको छ । अझ अतृत्प वासना जगाएर भावनालाई बस्तुमा फेरिदिँदै सुक्रिविक्री गरिदिँदैछ । पर्वको बजार–अर्थशास्त्र भनेको अरुभन्दा कसरी उम्दा र भिन्न देखाउने मनोभाव उत्पादन गर्नु हो । जताततै दशैँँका बम्पर उपहार, छुट्का सामान, दिल र दिमाग छुँने मनमोहक विज्ञापनले भरिएका मिडियाले लुरुलुरु र खुरुखुरी डोरिरहेका मनुवामा ‘ऋण गरेर नि घ्यू पिउने’ मानसिकता बनाईदिने हुँदा ‘आयो दशैँढोल बजाई, गयो दशैँ ऋण बोकाई’ पर्व–अर्थशास्त्रमा आधारित भनाई हो ।
३. बली महात्म्य र शक्तिको उपशाना

दशैँको बलि–महात्म्य अपरम्पार छ । दशैंको आध्यात्मिक दर्शन भनेकै बली चढाएर गरिने शक्तिको उपासना हो । इस्लाममा पनि कुर्वानीले विशेष महत्व राख्छ । शक्ति पाउँन बलि दिनुपर्छ तर कसैले पनि बाघ, भालुलाई भने बलि दिदैन् । एकातर्फ वैद्धिक इतिहास र राजनीतिको सम्झना, अर्कातर्फ बलि दिएर शक्तिको उपासना दशैँको शक्ति–मनोविज्ञान हो । भक्कुको राँगो बन्न नचाहनेलाई शक्तिले कहिल्यै कसैले पनि मौलामा पर्सनै सक्दैन् । हो …..जहिले र जहाँपनि निमसराकै बली दिईने गरिन्छ । अझ उपासकले कुनै जमानामा शक्ति हत्याउन नरबलि पनि चढाउँथे अरे, नरदेबी त्यसै कहलिएकी हैनन् । कलकत्ते कालीको महिमा विश्वासीका लागी अच्चमै छ । त्यहाँ दुर्गापुजाका लागि ल्याईने माटो अझै “वेश्यालय वा कोठीकै” हुँनुपर्छ । शक्ति हत्याउन, शक्ति रिझाउन नवरात्रको आराधना कुण्डलिनी जगाँउनेको के कुरा गर्ने र ! त्यसवेला नन्दी, भृगीँ, डंकिनी, भूत, प्रेत, पिशाच र तन्त्रविद्याका  उपासक सक्रिय हुन्छन् । दशैँका अन्धअनुयायी भनेकै आफुसंग जे छ, त्यो बलि दिएर शक्तिको भक्ति गर्नु हो र दुश्मनका विरुद्द औकात अनुसार आफ्ना कोतमा रहेका पुराना हतियार अर्जाप्नु हो । कमजोरको बलि दिँदै शक्तिलाई रिझाएर शक्ति हासिल गर्नु हो । अहिंसावादी पनि कुभिण्डो, लौका, घिरौंलाको बलि दिने गर्छन् । दशैँमहात्म्य आधुनिक शक्ति उपासकलाई देववाणी बन्ने गर्छ । बलि संस्कृतिमा शक्ति आर्जन हुँनेहुँदा कस्ले कस्लाई कसरी बलि दिने र कसरी भोग खाँने भन्ने तुजुक देखाँउछ ।
४. पर्वको सामाजिक र धार्मिक सम्बन्ध

बजारले संस्कृति नियन्त्रित र निर्देशित गरिरहेकोले पर्व अहिले सांस्कृतिक निरन्तरतामाभन्दा तुजुक थलोमा फेरिँदैछन् । तुजुकले धर्म र संस्कृतिको निरन्तरता दिन नसक्ने भएकाले समाजिक हैसियत प्रर्दशन थलो बन्दै गएका छन्, पर्वहरु । आधुनिकतासंगै पर्ववारे चर्चा गर्दा धर्म र संस्कृति बीच कति सामिप्यता र कति भिन्नता भन्ने सिमाना छुट्याउनै मुस्किल हुँदै गएको छ । दुवैको एकैठाँउमा घालमेल भएको छ । बजार–संस्कृति र पर्व मिस्कट भएर ठिमाहा संस्कृति बनेको छ । विज्ञानचेत बढाउनु पर्ने मिडिया पनि कर्पोरेटिकरण हुँदा धार्मिक आस्था र विवेक प्रचारकभन्दा अन्धविश्वास फैलाउँदै बजार–संस्कृतिको मलजल गर्नेे माध्यम बनेका छन् । एण्टीकरेण्ट वा एण्टीमार्केट मिडिया सामाग्री बन्नै सक्दैन् । त्यसैले सामाजिक मनोदशा पर्वलाई के कसरी बुझ्नेमा अन्यौलता आएको छ । को सुर ! को असुर !, को नायक ! को खलनायक ! भन्ने समय सापेक्ष हुन्छ । हरेक समाज र संस्कृतिमा जित्दा देवता र हार्दा दैत्य हुन्छन् । नायक र खलनायकको बीचको दुरी पनि एउटा सानो रेखाले मात्रतय गर्छ । यी भनेका शक्तिले लगाईदिएको सिमाना र बन्ने धारणामा भर पर्ने विषय हुन् । शक्ति र दशैँबीच अचम्मकै साईनो जोडिएको हुँदा सत्तासंस्कृतिसंग जोडिने नै भयो । हतियारमा साँध लगायो, युद्ध अभ्यास पर्व मनायो । सामान्ती यूगका आर्य राजा, महाराजाहरु दशैँमै युद्ध अभ्यास र युद्दअभियान चलाउँथे । युद्धले नरबलि त खान्छ नै । शक्ति हत्याउन् प्रत्यक्ष वा छद्म आवस्यक हुन्छ । शक्तिरुपा अत्यन्तै चंचल भएर रुप, धन र बलको खास्टो ओड्दै मोहनी लाँउछे । संसारमा शक्तिलाई कसैले कज्याउन सकेन् तर त्यसको भोकले पनि कसैलाई पनि छोडेन् । अश्वमेद्ध यज्ञ र स्यामाकर्णे घोडा पौराणिक शक्ति कथा अहिले पनि मिठास हुन्छन् । कोत गारतमा बलि दिएर, हतियार पुजा गरेता पनि शास्त्र कहिल्यै आफ्नोे भने हुनेहैन् । समय चिनेर चलाउने युक्ति बुद्धिको स्वामित्व हतियारमाथी हुन्छ । रावण विद्धान थिए, वैद्धिक हिन्दु आख्यान पनि यसै भन्छन् । शक्तिको घोडा चढेर चाबुक मार्न सकिएन् भने उल्टो शक्तिनै घोडा चढ्छ् । हिजाका शक्तिवान भोलिका बबुरा इतिहासका नजिर हुन । आफैँले प्रयोग गरेको हतियार भोलि अर्काले प्रयोग गर्यो भने आफ्नै गर्दन छिनाल्ने कुरा कम्मरमा खुकुरी भिर्ने वित्तिकै अमरसिंह थापा सोच्नेले बुझ्दैनन् । शितयुद्ध र मनोयुद्ध त एउटौ लास नपारी शक्ति आर्जन खेल भएकोले दशैँको सौन्दर्यशास्त्र शक्तिप्यासाका लागि अदभूतै हुने गर्छ । तर, दशैँले दिएको शक्ति–उपासना र बलि सिद्धान्त कतिले हेक्का राख्छन् भिन्नै कुरा हो ।
५. समाजशास्त्र र दशैँ

हरेक जाति, समाज र संस्कृतिमा पर्वले आफ्नै समयका प्रकृतिसंग पौँठाजोरी, मानवयी द्धन्द र युद्ध, राजनीतिक गाथा र सामाजिक लोकमनोरंजनका सरोकारबन्दै सांस्कृतिक चरित्रलाई निरन्तरता दिईएका हुन्छन् । प्राकृतिक पुजकले प्रकृतिमा भएका चमत्कार, त्यसले पैदा गर्ने भय, त्यसवाट उन्मुक्तिका प्रयत्न, आशा र अपेक्षासंग पर्वमहात्म्य जोडेका हुन्छन् । नागपंचमी त्यही एउटा उदाहरण हो । ती पर्व कालान्तरमा धर्मका रुपलिँदै संस्कृतिमा फेरिँदै जान्छन् । मृत्यूपछिको मोक्ष र असुरक्षाको डर, सुखी जिन्दिगीको कल्पनाले धेरै भाकल, पुजा, आरधाना र बलि, र शक्तिको भक्तिले मान्छेलाई आस्तिकतामा पु¥याउदै गयो ।

समाज विकाससंगै संरक्षक, युद्दनायक, शक्तिशाली र विजेता जन्मदै गए । कालान्तरमा ती देवी-देवतामा फेरिए भने पराजीत भने राक्षेस र सैतानको रुपमा । विजेताको गुनगान र पराजितको घृणाले कालान्तरमा पर्वको शक्तिको दैवीरुप धारणगर्दै पर्वमा फेरिँदै गयो । भयको मनोविज्ञान भनेको शक्तिका उपासक हुन् । यसमा शक्ति–सौन्दयशास्त्रीहरुको दिमागी चमत्कार चातुर्यता पनि लगाँउदै गए । अहिले हामीबीच जो जति शक्तिशाली छ, त्यतिकै धार्मिक र अन्धविश्वासी पनि छ, । जति धन, बल र राजकीय सत्ता हत्याउँछ वा अभिलाषी हुन्छ त्यो त्यतिकै मन्दिर, मस्जिद, चर्च र गुम्बा धाउने पनि गर्छ । जोड्ले घण्टा हल्लाउँछ र उचों स्वरमा शंखफुक्छ । हरेक पर्वको विश्वास र गच्छे अनुसारको अर्थ लाग्छन् । आध्यत्मवादी र अन्धविश्वासीहरुलाई शक्ति आर्जन गर्ने दशैँ साईत हुन्छ भने नवधनाढ्यलाई चाड्वाड तुजुग देखाउने थलो बन्दै गएको छ । खेती-किसानीमा थाकेका किसानलाई विश्रामयाम बनिदिन्छ । सांस्कृतिक रुपमा भने गरिब गुरुवाका बच्चाबच्चीलाई वर्षदिन चिची र नाना बनेर आँउछ, गरिबलाई जोहो गरेर मिठो मसिनु खाने यो पर्व खेती किसानबाट फूर्सदको समय बन्छ । सामाजिक भेटघाट, रासरौस, मिठोमसिनो संगोलमा खाने, बिरक्तिएको भ्रमित आफन्तिलो मनको कालोमैलो धुने, नाता संबन्धलाई अर्जाप्ने, विगतको कटुता भुलाएर नयाँ संबन्ध सुरुवात गर्ने मौका पनि बन्छ । देशमा लाहुरे बन्दै विदेश भित्रिने र शहर गाँउमा पस्ने, पुर्खौली थातथलो पुग्ने र मान्यजनको आशिर्वाद लिने अवसर बन्छ । उमेरमा यौवन साटने, साथसंगीसंग कालान्तरमा भेटघाट गर्ने, सामाजिक संबन्ध र भावनाको पर्वरुपी दशैँ सामाजिक सदभावको मञ्च पनि हो । हरेक बालापनकाको मिठो सम्झना पर्वे सांस्कृतिक निरन्तरता हो । तर अहिले दशैँ सांस्कृतिक रुपमा कम, अन्धआस्था र तुजुकको घालमेलका रुपमा बढी देखिँदै छ । कोरोना माहामारी ती सुखद्पक्षको दुश्मन बन्यो
६. आस्था र प्रविधी

प्रविधीको विकाससंगै सञ्चारको ब्यापकताले आस्था पनि प्रविधीमार्फत बजार–आध्यात्म फैलाउदै दशैँलाई डिजिटल पर्व बनाँउदै छ । प्रविधी विज्ञानको उपज हो भने विज्ञानले जहिले पनि वैज्ञानिक दृष्टिकोणको अपेक्षा गर्छ । तर कयौँ विज्ञानका सन्तान र उपयोग गर्ने नै वैज्ञानिक दृष्टिकोण भने राख्दैनन् । अत्याधिक वैज्ञानिक नै अन्धविश्वासी, रुढीवादी हुन्छन् । अझ जति मान्छे धनाढ्य वा शक्तिशाली हुन्छन् सो स्तर घट्ला वा अझप्राप्तिको लालसाले त्यतिनै तर्क, प्रमाणभन्दा अन्धआस्था वा शक्तिको लालशी बन्छन् सामर्थ्य पनि उनीलाई नै नायक ठान्दैे प्रविधीले फैलाउने आध्यात्म वा अन्धविश्वासको अनुसरण गर्न पुग्छन । तव धर्म, पर्व र आस्थाले डिजिटलाईजेसन बन्दै स्वआतंकबाट मुक्त हुँन पर्वलाई सांस्कृतिकीकरण गर्नुभन्दा पनि या त उपभोक्तावादी बनाईदिँदैछ या शिक्षित एवं आधुनिक रुढिवादी फेरिदिँदै छ । हरेक समाजका आआफना पर्वका शैली हुन्छन् तर अहिले प्रविधी र मिडियाको सयुक्त अभ्यासमा अन्यन्त्रको दशैँशैलीले मौलिक आफ्नै दशैँसंस्कृतिमा आक्रमण गरिरहेको छ । ‘.
७. आगन्तुक संस्कृति र त्यसले समाजमा पारेको प्रभाव

भनिसकियो..‘ एकातर्फ पुँजी, प्रविधी र मिडियाको घालमेलले हाम्रा चालचलन, रहनसहन, खानपिन र सोचमा प्रभाव पार्दैछ अर्कातर्फ जनसंख्याको धेरैठूलो हिस्सा देश बाहिर छ । त्यो बाहिर मात्र छैन् त्यहाँको पर्व, संस्कृति र चालचलनसंग पनि प्रभावित हुँदैछ । अर्कातर्फ हामीसंगका मौलिक पर्वहुँदा पनि आफनालाई वास्ता नहुँने र “सभ्य” हुन अरुहरुकालाई आत्मासात गर्ने देखिन्छ । आफूलाई कट्टर धार्मिक भन्ने पनि पश्चिमा सांस्कृतिक नक्कल बर्थ डे, किटी पार्टी, फाष्ट फुड कल्चर, अप्रिल फुल, गेग्रियन न्यूइयर, फादर डे, मदर डे‘, के के हुन के के डेहरु, पश्चिमाशैलीका वैवाहिक पद्दति र एनभरसरी जस्ता चलन सामान्यबन्दै गएका छन् भने अरु हिन्दु वा बाैद्धमतानुसारका पर्वमा पनि तुजुक देखाउन् हावी हुँदै गएको छ । विवाह, मृत्यू वा अन्य संस्कार पनि त्यसैबाट प्रभवित हुँदै गएका छन् । त्यसमा ब्यापक बढ्दो धर्मपरिवर्तनले पनि पर्व र संस्कृतिलाई असर पारिरहेकोे छ ।
अन्तमा …
दशैँ र संस्कृति चर्चाको बिट मार्न थाल्दा चाहे इतिहास– वैद्धिक होस् वा लिखत वा अलिखत हत्तस् होस् इतिहासलाई इतिहासकै रुपमा र घटनालाई त्यसकाल, परिस्थति, त्यसवेलाको मानव चेतना, द्धन्दको अवस्था, आर्थिक र सामाजिक सम्बन्ध, उत्पादनको मानव श्रमसंगको सरोकार, युद्धका विजेता र पराजित शक्तिको रुपमा हेर्न आवश्यक हुन्छ । कुनै पनि ऐतिहासिक घटनाले पर्वको रुपलिन लामो समयको सांस्कृतिक यात्रा पुरा गरेको हुन्छ । नायक र खलनायकबीचको दुरी त्यति टाढाको हुँदैन । जितारुका विजयगाथा लेखिन्छन्, प्रतिद्धन्दी शक्तिशाली छ भने उसलाई कुरुप पात्र, खलनायक वा राक्षश भनिन्छ नत्र विश्मृतिका गर्भमा हराँउछन् । कसैको देवता कसैको राक्षस हुन्छ । जहिले पनि शक्ति चाकर खोज्छ भने चाकरी बजाएर शक्ति हासिल गर्न सकिन्छ भने विभिन्न प्रकारको बलि चतुरेले सदाकालमा दिँदै आएका छन् । धर्म र संस्कृति एउटै नभए पनि धर्म संस्कृतिको आडमा मात्र जिउन सक्छ । कुनै देशको अस्तित्व ध्वस्त गर्नु छ भने भाषा साहित्य र संस्कृतिमाथि आक्रमण गरिन्छ । जति शक्तिशाली, धनाढ्य हुन्छ,ऊ त्यतिनै डरपोक र अन्धधर्मात्मा बन्छ । आधुनिकता विज्ञानपथमा नभई रुढिवादमा धर्मकर्म बन्दै समाजमा तुजुक प्रदर्शन गर्दोछ ।
दशैँको ऐतहिासिक युद्दगाथाको अहिलेको अवस्थालाई मानवसभ्यताको विकस र यसभेगको द्दन्द अध्यताको रुपमा अध्ययन गर्ने  कि !
स्वस्थ  बहस  र  छलफलका लागि – [email protected]

प्रतिक्रिया