शुक्रबार, वैशाख ३१, २०७८

नेपालमा कोरोना : जागेश्वर जगाएर सरकार चीर निद्रामा

ज्योतिन्यूज २०७७ कार्तिक ३ गते ११:२६

केही हप्ता देखि नेपालमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्ने क्रममा छ । दशैँ नजिकिदै गर्दा कोरोना संक्रमण अझै ठूलो मात्रामा बढ्ने निश्चित छ ।
नेपालमा कोरोना भाइरस देखिएको ९ महिना पुगेको छ । यस अवधिमा सरकारले जनतालाई धारे हात लाउने बाहेक अरु केही पनि गर्न सकेन । कथित लकडाउन लगाएर जनताको गास खोस्ने काम गर्याे तर त्यसमा उनीहरुलाई राहत दिन पनि सकेन् । त्यसपछि लकडाउन खोल्यो, बजार पुन उदाउन थाल्यो, त्यसपछि कोरोनाको दर आगोको राँको जसरी फैलियो । यो ९ महिनाको अवधिमा सरकारले गर्न सकेको भनेको सांसद मन्त्रीहरुलाई  भत्ता दिने, मन्त्रिमण्डल हेरफेर गर्ने, जनतालाई गालीगर्ने र धारे हात लगाउने, स्वास्थ्य सामग्री खरिदमा अनियमितता । त्यति मात्र नभएर जनतालाई सास्ती दिने तर ठुला ठालु मान्छेहरुलाई भने कै भरमा पिसिआर परिक्षण गर्ने र संक्रमित र मृतकको संख्या डा. जागेश्वर गौतमलाई मिडिया मार्फत भन्न लगाउने ।
देशभर आइसोलेसन बेड अभाव भएकै कारण संक्रमितहरु घरमै बसेका छन् । ठिकै छ, अन्य देशमा पनि संक्रमितहरु घरमै बसेका छन् । तर संक्रमितहरुलाई समस्या हुँदा उपचार सेवा दिने, आइसियु र भेन्टिलेटर प्रदान गर्ने दायित्व सरकारको हो । तर अहिले बेड नपाएरै बिरामीहरु मरिरहेका छन् । त्यसमा सरकारले अंकगणित मात्र गरेको छ । महामारीबाट देशबासीलाई जोगाउने कुरा छोडेको छ । आइतवार मात्रै सरकारले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम मार्फत भन्न लगायो-हामीले महामारीमा परेकाहरुलाई परिक्षण, उपचार केही पनि गर्न सक्दैनौ, बाँकी सबै जिम्मा पशुपति नाथको !चीनको वुहानबाट फर्किएका नेपाली विद्यार्थीमा माघ ९ मा पहिलोपटक संक्रमण पुष्टि भएको थियो । दोस्रो संक्रमित चैत १० मा भेटियो । विज्ञहरुले नेपालमा हाल बल्ल महामारी शुुरु भएको बताउन थालेका छन् । तर सरकारले भने हार मानेर हात झिकेको छ । संक्रमित संख्यासँगै बढिरहेको मृत्युदरको अवस्थामा सरकारले जनतालाई आफै परिक्षण र उपचार आफै गर्न लगाउनुलाई नेपालको संविधानले प्रदान गरेको स्वास्थ्य सम्बन्धी हकलाई मात्र कुल्चिएको छैन, सर्वाेच्च अदालतले दिएको आदेशको अटेरी गरी अदालतकै मानहानी गरिएको छ ।सरकारले पछिल्लो एक महिना देखि नै महामारी नियन्त्रणबाट भाग्न खोज्ने खालका निर्णयहरु गर्दै आइरहेको छ । महामारी नियन्त्रण  उक्त समय उपप्रधान तथा रक्षा मन्त्री रहेका ईश्वर पोखरेलको नेतृत्वमा गठित सीसीएमसी पुरै निष्क्रिय रहेको छ । यस अवस्थामा दैनिक संक्रमणको ग्राफ हेर्दै विभिन्न उपायहरु अबलम्बन गर्नुपर्ने समयमा सीसीएमसी मात्र नभएर समग्र सरकार कानमा तेल हालेर सुतेको छ । देशको अभिभावक नै गैरजिम्मेवार भएपनि जनताले के आश गर्ने ? त्यसैमाथि दुई तिहाईको स्थिर सरकारले अस्थिर सरकारको भन्दा पनि कमजोर प्रदर्शन गरिहँदा जनताको राज्य सरकार माथिको विश्वास टुट्दै जान थालेको छ । अब निकम्मा सरकारको काम स्वास्थ्य  तथा जनसंख्याका प्रवक्ता  जागेश्वर गौतमलाई जगाएर मृतक र संक्रमित संख्या भट्याउने गर्दा  केही महिना अघि महामारी नियन्त्रण गर्न सफल भएको भन्दै बधाईको ओइरो पाएका प्रधानमन्त्री केपी शर्मा  ओली तथा स्वास्थ्य  तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अहिले के सोचिरहेका होलान ?

प्रतिक्रिया