शुक्रबार, असार ४, २०७८

कोरोना संक्रमणवाट थप ६ जनाको मृत्यु

ज्योतिन्यूज २०७७ कार्तिक ३ गते १३:१८

काठमाडौं । कोरोना संक्रमणवाट आज थप ६ जनाको मृत्यु भएकोे छ । विराटनगरमा आज बिहान र गयराति संक्रमित चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन्। तीमध्ये एक जना अस्पताल सञ्चालक पनि हुन्। उपचारका क्रममा दुई जनाको नोबेल शिक्षण अस्पताल, एक जनाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र एक जनाको न्युरो अस्पतालमा ज्यान गएको हो।

मोरङको ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको छ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोभिड अस्पतालको आइसोलेसनमा बिहान ९ बजेतिर वृद्धको मृत्यु भएको हो।

त्यस्तै, नोबेलमै विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय वृद्ध पुरुषको गयराति मृत्यु भएको छ। कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा असोज २७ गते रिपोर्ट पोजिटिभ आएको थियो।

यता, विराटनगरकै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित वृद्धा महिलाको ज्यान गएको छ। विराटनगर–२ की ६० वर्षीया महिलाको बिहान मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताउनुुभयो ।

यसैबीच विराटनगरकै न्युरो अस्पतालमा उपचाररत एक संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको छ। न्युरोको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिनुुभयो ।

यता, चितवन मेडिकल कलेज (सीएमसी)मा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको सीएमसीका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुुभयो ।

उता, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।सुुनसरीको इटहरी–२० का ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुुभयो ।

यसैबिच, गण्डकी प्रदेशमा थप ५६ जनामा कोभिड १९ पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५६ जना संक्रमित भेटिएका हुन्।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३ जिल्लाका ३५ जनामा संक्रमण देखिएको हो। तनहुँका ९ जना, बाग्लुङका २ जना र बाँकी २४ जना कास्कीको पोखरा महानगरपालिकाका रहेका छन्।

प्रतिक्रिया