शनिबार, मंसिर १८, २०७८

प्रदेश एकलाई युएनडिपीले दियो ७५ लाखका स्वास्थ्य सामाग्री

ज्योतिन्यूज २०७७ कार्तिक ३ गते १७:४८

इटहरी,३ कार्तिक।

प्रदेश एक सरकारलाई राष्ट्रसङ्घीय विकास कार्यक्रमले (युएनडिपी) ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ । कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आइसोलेसन केन्द्रलाई युएनडिपीले स्वास्थ्य सामाग्री तथा उपकरण दिएको हो ।

हस्तान्तरण गरेको सामाग्रीहरुमा पीसीआर परीक्षणमा प्रयोग हुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटर लगायतका छन् । स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई युएनडिपीका प्रदेश १ र २ का कार्यालय प्रमुख धनबहादुर चन्दले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्री घिमिरेले विराटनगर स्थित कोभिड अस्पतालको क्षमता विस्तार गरी १५ वटा भेन्टिलेटर थप जडान गर्न लागेको उनले बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिकाले निजी स्तरको सहयोगमा अक्सिजन सहित एक सय बेडको अस्पताल सञ्चालनको तयारी गरिरहेको बताए । युएनडिपीबाट प्राप्त सामाग्रीबाट पीसीआर परीक्षणमा सहयोग पुग्ने कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए ।

प्रतिक्रिया