शनिबार, मंसिर १८, २०७८

दास युगदेखि पूजिबादी युगसम्म एक नजर

ज्योतिन्यूज २०७७ कार्तिक ४ गते ८:०१

     रमेश भुसाल

राजनीतिक र समाजशास्त्रीय परिभाषा अनुसार मानव-समाज विकासक्रमसँगै जब मानिस जंगली युगबाट सभ्य युगमा प्रवेश गर्यो तव देखि यो वा उ प्रकारले मानिसले मानिसमाथि शासन गर्न वा अधिकार जमाउन संघर्ष गरिरह्यो  । समयानुकुल मानिसको चेतनाको स्तरमा परिर्वतन आउँदै गर्दा चलाख र टाठो मान्छेले आफूले धेरै मान्छेमाथि कसरी अधिकार वा शासन गर्ने भन्नेमा आफ्नो ध्यान केन्द्रित गर्न थाल्यो । जसको फलस्वरुप मानिसले मानिसमाथि शासन गर्न विभिन्न नियम कानूनहरुको प्रतिपादन गर्यो ।

टाठा बाठा मानिसहरु शुरु शुरुमा जमिनमाथि एकाधिकार वा स्वामित्व कायम गर्ने कार्यमा जोड तोडले लागे  । मानव सभ्यताको प्रारम्भिक युग जमिनमाथि व्यक्तिगत स्वामित्व कायम गर्ने होडबाजीमै वित्यो । मानिसले जमिनमाथि मात्र एकाधिकार जमाएर सन्तुष्ट भएन । मानव सभ्यताले विकासका नयाँ नयाँ सम्भावना र अवसरहरु पनि सँगसँगै अगाडि ल्यायो । जसअनुसार मानिस एकलबाट समूहमा बस्न थाल्यो, एकलबाट परिवारमा परिणत हुनपुग्यो । आफूले कब्जा गरेको जमिन निजी सम्पत्तिमा परिवर्तन गरिए ।  भाषा र जीवनशैली मिल्नेहरुका छुट्टाछट्टै समुह बन्दै गए । प्रारम्भमा सिमित ठाउँमा बसोबास गरेको मानिस विश्वभर फैलदै गयो । मानिसको जनसंख्या वृद्धि हुदै गएपछि एक आपसमा सानातिना कुराहरुमा पनि झैझगडा, मारपिट आदि हुन थाल्यो । टाठा मान्छेले कम्जोर मानिसलाई वस्तुसरह उपयोग गर्दै आए । जसलाई कार्ल मार्क्सले  दास युगको संज्ञा दिएका छन् ।

दास युगमा मानिसले मानिसलाई गर्ने व्यवहार अहिले पशुलाई गर्ने व्यवहार भन्दा पनि तल्लो स्तरको थियो । साँच्चै भन्ने हो भने दास युगमा कुनै नियम कानुन थिएन, भर्खर भर्खर  राज्यको परिकल्पना हुँदै थियो । राज्यको उत्पत्ति हुनु भन्दा पहिले नाइके, अगुवा, टाठो,  जेठो आदिले शासन गर्ने गर्दथे जसलाई मालिक वा नाइके भनिन्थ्यो । जुन अत्यन्त अमानवीय प्रकारको शासन थियो । हुनत उनीहरुलाई शासन गर्ने ज्ञान समेत थिएन । किनभने शासन वा राज्य भन्ने कुरा मानिसले मानिसमाथि हैकम र सम्पत्तिमाथि एकाधिकार कायम गर्न थालेपछि त्यसले निम्त्याएका असंगतिहरुको अन्त्य गर्न  राज्यको परिकल्पना गरिएको हो तर त्यसले पनि ती असंगतिहरुलाई निर्मूल पार्न सकेन, जसरी राज्यको स्वरुप बदलिंदै आयो त्यसैगरी ति असंगतिहरु पनि बदलिंदै आए, जमिनलाई मात्र पूँजिको मुख्य आधार मान्दै आएकोमा पूँजिका पनि वहु रुपहरु देखा पर्न थाले ।

शुरुमा जमिनलाई नै सम्पति वा पूँजि ठान्ने गरिएकोमा १५औं शताब्दी पछि भने पूँजिका धेरै रुपहरु विकास भए । प्रारम्भमा अचल पूँजिको रुपमा सिमित रहँदै आएको पूँजिलाई विस्तार गरी पैसा, औजार, धातु वस्तुभाउ आदिलाई चल पूँजिको रुपमा प्रयोगमा ल्यायो ।  जसलेगर्दा मानिसको ध्यान अचल भन्दा चल पूँजिको अधिक स्वामित्वतर्फ आकर्षित हुन थाल्यो ।  मानिसले आफूलाई आफैले नियन्त्रण गर्ने  नयाँ प्रणालीको अभ्यास गर्न थाल्यो जसलाई पछि राज्य भन्न थालियो । राज्य वा शासन प्रणालीको अवधारणा विकास भएपछि राज्यले चल पूँजिलाई नै पूँजि प्रयोगको प्रमुख माध्यम बनायो । राज्यको उत्पत्ति भएलगत्तै मानिसले उपयोग गर्ने बस्तु वा सेवालाई निजी र सार्वजनिक गरी विभाजन गर्न थालियो । समयक्रमसँगै त्यो राज्यको स्वरुपमा परिवर्तन हुदै आयो र शुरुमा राज्य नियन्त्रित बैंक तथा वित्तीय संस्थाहरु स्थापना भए ।  राज्यले नै घोषित रुपमा चल पूँजिलाई नै प्राथमिकता दिएपछि आजको रुपैयाँ – पैसाको महत्व बढ्दै गएको होे ।

राज्यको उत्पत्ति भएपछि सबैभन्दा पहिले दास युगको प्रारम्भ भयो  र यसको पनि केही वर्षपछि अन्त्य भयो । त्यसपछि मानिस सामन्तवादी युगमा प्रवेश गर्यो । नेपाली सम्बत अनुसार ७०० वर्षसम्म विश्वभर सामन्तवादी शासन कायम रहन पुग्यो । विश्वका केही मुलुकमा अहिले पनि सामन्तवादका अवशेषहरु कायमै भेटिन्छन् । अहिले भने सामन्तवादलाई पूंजिवादले विस्थापित  गरि सकेको छ ।

मानव चेतनाको विकासक्रमसँगै नयाँ- नयाँ शासन प्रणालीको अभ्यास गर्दै जानेक्रममा मानिसले समन्तवादी शासन प्रणालीलाई अस्वीकार गर्दै पूजिवादी शासन प्रणालीतर्फ आकर्षित हुदै आयो । सामन्तवादको सबैभन्दा ठूलो अवगुण वा पतनको कारण भनेको शासक वंशानुगत हुने र आफूलाई आम नागरिकभन्दा माथि देवताको अवतारको प्रस्तुत गर्नु तथा सार्वजनिक संरचनामा जनताको पहुँच हुन नदिनु थियो । त्यसैले १९ औं शताब्दिमा सामन्तबादका विरुद्ध पूजिवादी र साम्यवादी पक्षधर विचारको उदय भयो ।

बिसौं शताब्दी पूजिबादी र समाजबादी व्यवस्था बीचको टकरावमा अगाडि बढेको भएपनि एकाइसौं शताब्दीको शुरुमा नै पूजिवादले विश्वव्यापी रुपमा एकाधिकार कायम गर्न सफल भयो । सामन्तबादको विरुद्ध उदय भएका समाजवादी धार र पूूजिबादी धार सामन्तवादको अवशेष रहुन्जेल एक अकार्काका प्रतिस्पर्धी रुपमा रहेका भएपनि त्यसको अवशान पछि भने विश्वव्यापी रुपमा नै पूजिवाद हावी हुन थाल्यो । १९ औं शताब्दीसम्म विश्वभर  सामन्तवादको एकमना अधिपत्य रहदै आएकोमा १६औं शताब्दीदेखि  १८ औं शताब्दीसम्म विश्वका महान विचारकहरुले शासन प्रणालीका विभिन्न स्वरुपहरु बारे अध्ययन गरे । जसानुसारः १९ औं शताब्दीमा पूजिवादी  र साम्यवादी विचारको बीचमा ठूलो बहस भयो । पूंजिको असमान वितरण वा सम्पत्तिमाथि असमान स्वमित्वका कारण समाजमा विवाद, असमानता र असन्तुलन देखा पर्दै गए । पूजिवादीहरुले प्रजातन्त्रको वकालत गर्दै राज्य लोककल्याणकारी हुनुपर्ने कुरामा जोड दिन थाले । सरकारी स्वामित्वमा विभिन्न सार्वजनिक संरचना निर्माण गर्न थाले, निम्न पूजि भएकाहरुका लागि लक्षित गरेर उनीहरुलाई निःशुल्क वा न्यूनतम् शुल्कमा सेवा प्रदान गर्ने हेतुले सरकारी स्वामित्वमा विद्यालय, अस्पताल, सडक, विजुली, खानेपानी, खेलमैदान जस्ता विभिन्न संरचनाहरु खडा गरियो । आवधिक निर्वाचन प्रणालीको अभ्यास गर्न थालियो । बहुमतको निर्णय अल्पमतले मान्नु पर्ने प्रणालीको विकास गरियो । अन्यायमा परेकालाई राज्यले न्याय दिलाउने र अन्याय गर्नेलाई दण्ड सजाय गर्ने  गर्न थालियो । मुख्यत व्यक्तिको श्रम, सीप र क्षमता व्यक्तिगत पूंजिमा रुपान्तरण गर्दै त्यसको उपयोग गरे वापत राज्यले त्यसको मुल्य दिने परिपाटीको थालनी गरियो । जसलेगर्दा सीप र क्षमता भएका जाँगरिला मानिसहरु यही व्यवस्थाप्रति आकर्षित हुन थाले ।

सायद १९ औं शताब्दीको प्रारम्भदेखि नै हुनुपर्छ व्यक्तिगत र पारिवारिक शासन प्रणालीबाट सामुहिक र दलीय शासन प्रणालीमा रुपान्तरण भयो । विश्वभर राजनैतिक दलहरुको उदय भयो । विश्वभर साम्यवाद र पूंजिवादको वकालत गर्नेहरुले दल स्थापना गर्न थाले र शासन पनि तिनै दलमार्फत गर्न थाले जो अहिले पनि कायम रहेको छ ।

प्रतिक्रिया