बुधबार, असार ९, २०७८

दशैको समयमा विभिन्न हातहतियार बरामद

ज्योतिन्यूज २०७७ कार्तिक ४ गते १७:४८

काठमाडौं, ४ कात्तिक ।

तनहुँ, बन्दीपुर गाउँपालिका-६ ज्यामिरेस्वाराबाट २ थान चाइनिज पेस्तोल, १ थान जंगी राउन्ड, १ तान ड्यामे राउन्ड, सोही पेस्तोलको २ थान म्यग्जिन, २ थान जंगली जनाबरको जस्तो देखिने सिङ र ५ थान जंगली जनाबरको जस्तो देखिने छाला सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भानु मुकाम, ईलाका प्रहरी कार्यालय सारङघाट र प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले वीरेन्द्र गुरुङ समेत बस्दै आएको सोही ठाउँस्थित ४० वर्षीय अशोक गुरुङको घर तलासी गर्दा उक्त हतियार लगायत अन्य सामान फेला पारी बरामद गरेको हो । उक्त घटनामा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै  अछाम, ढकारी गाउँपालिका-४ भरामस्थित बासपानीको जंगलमा लुकाई छिपाई राखिएको अवस्थामा भरुवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सुनको औंठी, मोबाइल तथा नगद लुटपाट गरेको अभियोगमा पक्राउ

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-१० कपन जुगल स्कुल नजिकबाट सुनको औंठी, मोबाइल तथा नगद लुटपाट गरेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका-१३ भङ्गाल बस्ने संखुवासभा घर भएका २१ वर्षीय सनिष राई र सोही ठाउँ बस्ने खोटाङ घर भएका १७ वर्षीय किशोर रहेका छन् ।

उक्त स्कुल नजिकबाट बुढानिलकण्ठ नगरपालिका-१० कपनस्थित दुर्गा मन्दिर नजिक डेरा गरी बस्ने उदयपुर बलम्पा गाउँपालिका-५  घर भएका एक पुरुषको औंठी, मोबाईल तथा नगद सनिष राई लगायत ६ जनाको समूहले लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उक्त लुटपाटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न फरार अन्य व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया