शनिबार, मंसिर १८, २०७८

शासनमा किन भएन परिवर्तन ?

चूडामणि ढकाल २०७७ कार्तिक ५ गते १९:४५

-चुडामणि ढकाल

हामीले हाम्रो देशमा साना ठुला त अनगिनती क्रान्तिहरु ग¥यौ तर त्यो अनुसार खासै परिवर्तन भएन । भनिन्छ सबै क्रान्तिहरु संझाैतामा गएर टुगिए, त्यसैले भने जस्तो फल प्राप्ति भएन । क्रान्तिको असली अर्थ परिवर्तन नै हो किनभने क्रान्तिले केही परिवर्तन ल्याउन सकेन भने त्यसलाई सफल क्रान्ति भन सकिन्न । हो, क्रान्तिले आमुल परिवर्तन गर्न नसके पनि सामान्य परिवर्तन ल्याउन सकिन्थ्यो, त्यतापट्टी कसैको ध्यान गएको छैन । केवल सपना देखाइन्छ । ती बिपनामा परिणत हुनै सकेनन् । परिवर्तन ल्याउन खोज्ने नेतृत्वले पहिले त्यसको शुरुवात आफुबाटै गर्नु पर्दछ ।

हामीले होचिमिनको घर ,लेनिनको पुरानो ओभरकोट,लालबाहदुरशास्त्रीको सहयोग जस्ता उदाहारण देखेकै हो,पढेकै छौं । क्रिकेटबाट राजनीतिमा आएर “इमरान खान”ले पाकिस्तानमा आफूबाटै सुरुगरेको मितव्ययिता र सरलता देखेकै छौं ।बेलायती प्रधानमन्त्रीहरु जाममा पर्दा सार्वजनिक साधानबाट पनि आफ्नो समय तालिका परिर्वतन नहुनेगरी तोकिएको ठाउँमा पुग्दछन भन्ने पनि हेक्का राखेकै छौं । ठूला–ठूला परिवर्तन तत्काल हुन नसके पनि स–साना परिवर्तन धेरै ठाउँमा देखाउन सकिन्थ्यो त्यो त पटकै भएको छैन । उदाहरण स्वरुप देशका राष्ट्रध्यक्ष,प्रधानमन्त्री र मन्त्रीहरुलगायका संपूर्ण नेता गणले आफुलाइ आबश्यक सामाग्री स्वदेशी उत्पादन भएसम्म त्यो नै प्रयोग गर्दा कति राम्रो सन्देश जान्थ्यो ।

एकतर्फ स्वदेश प्रेम अर्कोतर्फ देशको औद्योगिक बिकासमा टेवा । त्यसरी नेपाल सरकारको प्रयोगमा आउने जे जति सामान छन ती भएसम्म नेपाली उत्पादन नै प्रयोग गर्नु पर्ने अनिवार्यता गर्न कसैले रोकेर सक्ने त थिएन । यसबाट देशको सोधनान्तर स्थितिमा फरक पर्न सक्थ्यो । नेपाली उत्पादनले प्रश्रय पाउँथ्यो भने उत्पादन शुल्क बढी प्राप्त भै भन्सारबाट मिल्ने राजस्व अन्त:शुल्कबाटै आउन सक्थ्यो । एउटा नभै नहुने सामानमा कागज पनि पर्दछ । नेपालमै बनेको नेपाली कागज कति टिकाउ गुणस्तरीय छ त्यसबाट लेखापढी मात्र हुने नभई विभिन्न कलात्मक सामान बनाइ निर्यात गर्न सकिन्छ । यसमा हाम्रो कसैसंग प्रतिस्पर्धा नै छैन भने यसमा देशले प्रोत्साहन गर्न पर्ने हो । तर त्यो नै प्राथमिकतामा पर्न सकेको छैन । देशमा आधुनिकीकरण गर्न प्रविधि नभई संभव छैन तर त्यो पनि हाम्रो परम्परात्मक शैलीसंग तालमेल गराउन नसकिने होइन । हाम्रो जस्तो गरिब देशले अनुत्पादक र तडक भडकमा जुन खर्च गरि रहेको छ, त्यो एकदमै सुहाउदो छैन ।

हुनेले तडक भडक देखाउँदा नहुनेले पनि जसोतसो पुगिनसरी गर्न खोज्दा अप्रत्यक्ष भ्रष्टचार पनि बढ्न गएको छ । नेता कार्यकर्ता सरकारी सेवकका छोरा छोरी अनिवार्य रुपमा सरकारी स्कूलमा पढाउने दिन शिक्षाको सुधार हुन धेरै समय लाग्ने नै छैन । शिक्षालाई राष्ट्रियकरण गर्न आवश्यकतै रहंदैन । त्यस्तै सरकारी अस्पतालमा सरकारी संयन्त्रले उपचार गराउन पर्ने त्यहाँ नहुने भए चिकित्सकको सिफरिसले अन्त उपचार गर्न पाउने व्यवस्था भए स्वास्थ्य सेवामा आमुल परिवर्तन भइ नै हाल्दछ । कारण सरकारी अस्पतालहरु नै स्वत: उपचार गर्न सक्षम हुन करै लाग्दछ । सरकारी चिकित्सक निजी अस्पतालमा जाने समय नै कहाँ पाउँछन ? समयको बर्वादी हामी कहाँ रेर्कड तोड्ने खालको छ ।

एउटा सामान्य पुस्तक ,पत्र-पत्रिका , विमोचन गर्न राजनेताहरु लालायित हुने, त्यसको व्यवस्थापन गर्न सडकखालि गर्ने र जामको समस्याले कार्यक्रम ढिलो हुँदा १ घण्टाको कार्यक्रम कम्तिमा ५-६ घण्टा लाग्ने भएको छ । अझ बिच बिचमा आउँदै गर्ने अतिथीको आसन ग्रहणको त कुरै नगरौं । समय नै पैसा हो भन्ने हो, यस्ता कार्यक्रमका विशेष अतिथी नै समस्याका मूल हुन्छन । यस्ता कार्यक्रमहरु तत् तत् क्षेत्रमा संलग्न र सम्बन्धितहरुबाट गराउने हो भने धेरै परिवर्तन हुन जान्छ । सार्वजनिक सडकमा कार्यकारी प्रमुख लगायतका व्यक्तिहरुको सवारी यति भड्किलो जनतालाई चिड्चिड्याएर हुने खालको छ , त्यो त राणाकालको भन्दा पनि भद्दा छ यि त बाइसी- चौविसी राजा भन्दा कम देखिन्न ।  र, शासनमा किन भएन परिवर्तन ?  चुरो कुरा  यसमा मात्र परिवर्तन ल्याउँदा पनि गणतन्त्रको झलक भेटिने छ, ।

आर्थिक क्रान्ति नभए पनि धेरै सामाजिक क्रान्तिबाट पनि नागरिकले  शासनमा परिवर्तनको महशुस गर्दछन । परिवर्तन तलबाट भन्दा माथिबाट शुरु भयो भने त्यो ज्यादै प्रभावी हुन्छ । जो मानिसले परिवर्तन ल्याउने जिम्मा पाएको छ , सर्वप्रथम ऊ नै आफू परिवर्तन भएको जनताले देख्नु पर्दछ तव त्यो प्रभाव क्रमशः तल पर्दछ । नत्र गुरु बन्न सजिलो चेला बन्न गाह्रो नै हुन्छ । आहार, विहार बोलि बचनबाट पनि परिवर्तनको प्रत्याभूति हुन्छ ।सामन्ती कालको व्यवहार मिजास गणतन्त्र कालमा पाच्य हुन सक्दैन । बदलामा राज्यलाई उसले दिनै पर्ने तिर्न पर्ने कर खुशी राजी गौरवका साथ दिने वातावरण पनि क्रमशः तयार हुन्छ ।पश्चिम युरोपका देशमा जनतामा कर तिर्ने उत्सुकता यसको द्योतक हो । हामीले कर तिर्ने नै सरकारले हाम्रो लागि खर्च गर्छ । त्यसैले कर तिर्नु आफ्नै बिमा गर्नु हो भन्ने मान्यता स्थापित हुंदै गएको छ । कल्याणकारी राज्यलाई जनताले कर बुझाउन कुनै दुखेसो पोख्ने ठाउँ नै रहंदैन । नागरिकले तिरेको कर कस्तो प्रयोजनमा खर्च भइ रहेको छ , त्यो मात्र खोजको विषय बन्दछ । बन्नुपर्ने पनि यहि नै हो ।

चूडामणि ढकाल

लामो समयको सरकारी सेवाबाट सेवानिवृत ढकाल ज्योतिन्यूजका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया