शुक्रबार, माघ ७, २०७८

कर्णाली विवादले नेकपाको भविष्यमाथि पूर्णविराम लाग्न सक्छ

प्रभुनारायण बस्नेत २०७७ कार्तिक ६ गते १५:२६

  सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को किचलो फेरि कर्णाली प्रदेश सरकारको रुपमा व्यक्त भएको छ । दुई विपरीत ध्रुवमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्र वीच एकता भएको साँढे दुई बर्षको अवधिमा पटक-पटक विबाद हुँदै आएको छ । एकता प्रकृयाले पूर्णता नपाउँदै पुनः विभाजनको मुखैमा पुगेर बचेको सो दल अहिले कर्णाली प्रदेशमा पुगेर गंभीर संकटमा परेको छ । एमाले र माओवादीको मोर्चाले प्रचण्ड बहुमत हासिल गरेपछि गरिएको भागवण्डामा सो प्रदेश माओवादीको भागमा परेको थियो । तर एमालेका आकांक्षीहरुलाई त्यो निर्णय मनपरेको थिएन । एमाले एक्लैको बहुमत पुग्ने प्रदेशमा माओवादीलाई नेतृत्व सुम्पने कुरा सहज पनि थिएन । त्यही असहज निर्णयले त्यो प्रदेश बारम्वार विवादको भुँमरीमा फसिरहेको थियो । अहिले मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता महेन्द्रबहादुर शाही विरुद्द दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि पार्टी केन्द्रमा रहेको शत्रुतापूर्ण अन्तविरोध त्यहाँ प्रकट भएको ठान्न थालिएको छ ।

अहिले नेकपा गाँउदेखि केन्द्रसम्म विवादमा चुर्लुम्म डुबेको छ । कतिपय निकायमा त अलग-अलग समिति समेत क्रियाशील छन । एउटै समिति भएका स्थानमा पनि हार्दिकता, मित्रता र अपनत्वको बिलकूलै अभाव छ । एकले अर्कालाई विरोध गर्ने , असफल पार्न खोज्ने र शत्रुतापूर्ण व्यवहार गर्ने कुरा अहिले नेकपाको संस्कृति बनेको छ । त्यो संस्कृति पार्टी केन्द्र अर्थात दुई अध्यक्षबाटै निसृत भएको हो । र, त्यसको श्रोत सिद्धान्त,नीति कार्यक्रम,कार्यनीति-रणनीतिसंग होइन सत्ता स्वार्थसंग जोडिएको छ । नेकपाको आजको विवाद र नेतृत्वको कार्यशैलीसंग सम्बन्धित छ भन्ने गरिन्छ । त्यस भनाइमा आंशिक सत्यता पनि छ ।तर शैलीगत भिन्नताकै कारण कुनै पनि पार्टी यो रुपमा विवादमा फँस्दैन । एमाले र माओवादीबीचको संस्करगत भिन्नताले पार्टी एकता गर्न समस्या पारेन भने एकता पछि त्यसलाई अघि बढाउन मात्र कसरी त्यत्रो व्यावधान खडा गर्छ ? अतः एमाले र माओवादीको धङ्धङीसंगै सिङ्गो पार्टीको विवादको मूल कारण सत्तास्वार्थ नै हो भन्ने कुरा घटनाक्रमहरुले सिद्ध गरेका छन ।
संसार भरिका सत्तारुढ दलहरु भित्र देखिने विवाद , मनमुटाव र मतभेदकोकारण निहीत स्वार्थ नै हुने गर्छ । र, हरेक सत्तासीन पार्टी यो समस्यामा उल्झेकै हुन्छन । अधिनायक बादी बिचार बोक्ने दलमा त्यो प्रकट रुपमा सार्वजनिक हुंदैन । भित्रभित्रै भुसको आगो सल्के झैं सल्किरहेको हुन्छ, विवाद । आफुलाई पारदर्शी ठान्ने र लोकतन्त्रमा विश्वास गर्ने भन्ने पूँजीवादी पार्टीमा त्यस्तो विवाद सार्वजनिक रुपमै प्रकट हुन्छ । धेरै जसो अविकसित र पछौटे मुलुकको प्रजातन्त्र सामाजिक रुपन्त्तरण , राष्ट्रको बिकास र आधुनिकीकरणका लागि होइन सत्तास्वार्थमै केन्द्रित रहने गरेको छ । नेपाल त्यसको अपबाद हुने सम्भाबना नै रहदैन । धेरै पछि फर्कनै पर्दैन, २०४८ को आमनिर्वाचन पछि भित्रिएका विकृति,अपसंस्कृति र विसंगतिको एउटा कारण हो दलहरु वीचको सत्तालिप्सा।
सत्तामा एकलौटी गर्ने शासकीय मनोविज्ञानले ग्रस्त नेतृत्वकै कारण नेपाली कांग्रेस लगभग पतनको स्थितिबाट गुज्रिरहेको छ । संघर्षको अनुपम उदाहरण मानिएको नेपाली कांग्रेसको त्यो दशा हुनमा सत्तास्वार्थ नै कारकतत्व रहेको कुरामा विवाद छैन । कांग्रेसभित्र त अहिले पार्टी सत्ताको लडाईं पनि चर्को रुपमा प्रकट भएको छ । कसले नेतृत्व हत्याउने पार्टी कसरी कब्जा गर्ने भन्ने चिन्तामा कांग्रेस नेताहरु अहोरात्र खटेका हुन्छन । नेकपा भित्र त झन त्यो महारोग उपचार गर्नै नसकिने तहमा छ । नेपालका कम्युनिष्टहरु सत्तामा नहुँदा त फुट विभाजन र विखण्डनको उदाहरण बनेको थिए भने सत्तामा पुगेपछि त झन राज्यशक्तिको दुरूपयोग गर्दै पार्टीमा रहेका आफ्ना विरोधीलाई सिध्याउने क्रम तीव्र हुन्छ । सत्तामा रहेकाहरुको जीवनशैली, शानशौगत र फुतिफार्तीले सत्ताबाहिर रहेकालाई स्वाभाविक रुपले चिढ्याउने हुन्छ । फलत : विवाद चर्केर पार्टी नै विभाजनको स्थितिमा पुग्छ । अहिले नेकपा बैधानिक रुपले एउटा दल भएपनि सिद्धान्तत: त्यो एउटा खुकुलो मोर्चा जस्तो रहेको छ । व्यक्ति केन्द्रित राजनीति खेति सञ्चालन का लागि नेकपा भित्र बहुकेन्द्र निर्माण र त्यसको परिचालन धेरै अघि देखि हुंदै आएको छ । पार्टीगत रुपमै पनि एमाले र माओवादीको अस्तित्व पूर्णरुपमा समाप्त भइसकेको छैन । हामी एमाले हौँ लोकतन्त्रबादी हौँ भन्नेको जमात नेतादेखि कार्यकर्ता तहसम्म निकै ठूलो छ । बहुदलीय “जनबाद”को विश्वासमा रमाउने त्यो समूहले हत्या,हिंसा र आतंकको पृष्ठभूमिबाट आएको माओवादीसंग आफुलाई एउटै हारमा खडा भएर अघि बढ्न सहज ठान्दैन । माओवादीमा त झन दश वर्षे गौरबपूर्ण जनयुद्ध लडेको अभिमान स्वभाविक रुपले प्रचुर छ । त्यो पनि दरबार र कांग्रेससंग दलाली गरेर गुजारा गर्ने भनेर नेतृत्वले सिकाए/बुझाएको जमातसंगै बसेर कसरी सहजरुपले कामगर्न सक्छ ? नेकपा भित्रको गुट मनोविज्ञानका लागि यो स्वाभाविक र तर्कसंगत कारण हो ।
सैद्दान्तिक निरुपणका दृष्टिले नेकपा शास्त्रीय ढांचाको कम्युनिष्ट नरहेको लामो कालखण्ड गुज्रिसकेको छ ।अहिले मार्क्सवाद,लेनिनवाद र माओवादीका ठेली पढ्ने, सिद्दान्तको वहस – छलफल चलाउने,शासन सत्तालाई श्रमजीवि वर्गको पक्षमा बनाउनु पर्छ भनेर पैरवी गर्ने तप्का नेकपा भित्र शुन्यको स्थितिमा छ । पार्टीको मूल नेतृत्व नै विचलनको शिकार भएपछि तल्लो तहका कार्यकर्तामा अन्योल पैदा हुनुलाई अस्वाभाविक पनि ठान्नु हुँदैन ।त्यसैले नेतृत्वले भन्ने लोकतन्त्र,प्रतिक्रियावादी सत्ताको जनहितमा प्रयोग आदि सम्बन्धमा कार्यकर्तामा डरलाग्दो भ्रम छ ।पंच र कांग्रेसभन्दा खराब ढंगले सत्ता चलाउने र त्यसलाई उत्कृष्ट देख्ने त्यहि अस्पष्टताको पराकाष्टा हो ।त्यसले नेकपलाई एउटा सिद्दान्तनिष्ट कम्युनिष्ट पार्टीको रुपमा होइन एउटा दलको रुपमा मात्र पनि अस्तित्व बचाउन गाह्रो पर्छ ।सत्तामा पुगेपछि फजुल खर्च गरेर “देशको इज्जत” बचाउनु पर्छ भन्ने अभिव्यक्ति मन्त्रीहरुबाटै पटक पटक सुनिन्छ । सत्तामा बस्नेले राज्यशक्ति,श्रोत र ढुकुटीको दुरुपयोग गर्दा पार्टीकै सत्ता बाहिर बस्ने बीच दुरी बढ्नु स्वाभाविक हो ।त्यो दुरीले पार्टीलाई अन्तत: विभाजनसम्म डोर्याउन सक्छ । केन्द्र प्रदेश र स्थानीय सरकारहरुमा त्यसको संकेत स्पष्ट रुपमा देखिइसकेको छ ।
वर्तमान प्रधानमन्त्रीको हठ,अहंकार र काम गर्ने निरङ्कुश शैलीले समस्या थप चर्काउने काम गरेको छ ।जनतालाई रैती ठान्ने,पार्टीलाई वपौती ठान्ने र कार्यकर्तालाई दास ठान्ने रोगले ग्रस्त प्रधानमन्त्री खड्गप्रसाद ओलि कै व्यबहारका कारण नेकपाको भविष्यमाथि ग्रहण लाग्दै छ ।अहिले देखिएको गुटबन्दी पार्टीबाटै सरकारको विरोध र सरकारको नेतृत्व फेर्ने दवावको एउटै कारण प्रधानमन्त्री हुन ।प्रधानमन्त्रीले पार्टी भित्रै आफ्नो र अर्काको भनेर छुट्याउन थालेपछि अर्को पक्ष रहँदैन तव परिणाम के निस्कन्छ भन्नेकुरा स्वत:सिद्द छ । अहिले प्रधानमंत्रीले नेताहरुलाई खेलाउने,तल्लो तहका कार्यकर्ता र आफ्नो पकडमा भएका निकायका नेतालाई प्रयोग गरेर आफु सुरक्षित रहने षडयन्त्रमुलक खेल खेलिरहेका छन् । त्यही प्रत्युद्पादक बनेर उनको सत्ता बहिर्गमनको कारण बन्न सक्छ ।
हुन त वहुकेन्द्रको रुपमा रहेको नेकपा भित्र सबै केन्द्रलाई समानरुपले अवसर प्रदान गर्नु र सबैको चित्त बुझाउनु आकाश खसाउनु झैं असम्भव कार्य हो ।एमाले र माओवादी बीच एकता गर्दै दुई अध्यक्षात्मक प्रणालीको नयाँ प्रयोग गरेर समाधान खोजिएको थियो ।अहिले समानान्तर शक्तिकेन्द्र बनेको अर्को शक्तिकेन्द्र पार्टी र सरकारका लागि घाँडो सावित भएको छ ।वालुवाटारले आफुलाई जतिसुकै शक्तिशाली ठाने पनि खुमलटार,कोटेश्वर ,भैंसेपाटी केन्द्रको सामू त्यो निरीह बन्ने स्थिति आउँछ ।र, पटकपटक त्यस्तो अवस्था आउने गरेको पनि छ ।पार्टी अध्यक्ष समेत रहेका ओलि कम्युनिष्ट सिस्टममा रहेको चुनौति विहिन नेताको लोभमा फँसेका छन् ।अर्कोतिर उनलाई लोकतन्त्र, पारदर्शिता,विधिको शासनको प्रचार पनि गर्न छ ।यो विरोधाभाषबाट उम्कन नसक्दा गाउँले फटाहा र रकमीको शैली अनुकरण गर्ने गरेका छन,कहिले कसलाई उचाल्ने र कहिले कसलाई पछार्ने । त्यो शैली अपनाएर पनि धेरै दिन सत्ता टिकाउन सम्भव भने हुँदैन ।किनकि त्यसो गरेरपनि जनआकांक्षा सम्बोधन सम्भब छैन ।जनआकांक्षाको उपेक्षाले अलोकप्रियता हात लाग्छ र अन्तत: त्यसले पतनको दिशातर्फ नै डोर्याउँछ ।
चुनावी मोर्चा जस्तो पार्टीलाई मजबुद सूत्रमा आबद्द गराउन सक्ने सक्षम र गतिशील नेतृत्वको अभावमा नेकपा संकटमा छ ।एकले अर्कालाई नेता नमान्ने र आफैलाई मात्र नेता ठान्ने रोगले नै त्यो शक्तिलाई सिध्याउने निश्चित छ ।सामुहिक नेतृत्वको धमास छोड्ने र अरु सबैलाई समाप्त गरेर आफु निर्बिकल्प बन्ने गोटी चाल्ने प्रवृतिले पतन निम्त्याउँछ ।पार्टीलाई प्रजातान्त्रिकरण गर्ने,नेतृत्वमा हार्दिकता विकास गर्ने ,कार्यकर्ताको कुरा सुन्ने र पार्टीप्रति जनतामा धर्मराउंदै गएको विश्वास पुन: आर्जन गर्ने काम वर्तमान नेत्तृत्वबाट सम्भव छैन ।र,त्यो विश्वास सावित गर्ने बैकल्पिक नेता पनि देखिंदैन ।सबै प्रयोग भैसकेका र असफल भैसकेका नेताबाट एकल नेतृत्व सम्भव नै छैन ।पार्टीभित्रका यावत समस्या हल गर्न राज्य संयन्त्रलाई एकलौटी आफ्नो वपौती ठान्ने सिमित व्यक्तिको मनोमानिलाई नियन्त्रण गर्न र पुन:भरोसा जगाएर अकन्टक रुपले सत्ता टिकाउने सामुहिक नेतृत्वको कामयाब गराउनु नै उत्तम विकल्प हुन सक्छ ।

प्रभुनारायण बस्नेत

ज्योतिन्यूजका नियमित स्तम्भकार रहेका बरिष्ठ पत्रकार बस्नेत राजनीति, समसामयिक घटनाक्रममा कलम चलाउँछन् ।  

प्रतिक्रिया