मंगलबार, मंसिर २१, २०७८

धरानको विपीमा कोरोना संक्रमितका लागि ६० हजार धरौटी

ज्योतिन्यूज २०७७ कार्तिक ६ गते १८:५५

धरान, ६ कात्तिक ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि कोरोना संक्रमित बिरामीको उपचारको लागि रकम तोकेको छ । प्रतिष्ठानले संक्रमितको उपचार सुरु गर्नु पूर्व धरौटी राखेर मात्र उपचार गर्ने निर्णय गरेको हो ।
सङ्घीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार प्रतिष्ठानले शुल्क तोकेको जनाएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरी शंकर साहले बुधवार जारी गरेको सूचना अनुसार कार्तिक ९ गते आइतबारदेखि संक्रमितको उपचारको लागि धरौटी रकम राख्ने निर्णय गरेको छ ।
प्रतिष्ठानको सूचना अनुसार कोरोना संक्रमितको अवस्थालाई हेरेर ४ वटा वर्गीकरण गरिएको छ । जसको धरौटी रकम समेत बिरामीको प्रकृति हेरेर छुट्टाछुट्टै छ । सूचनामा संक्रमित बिरामी प्रतिष्ठानमा भर्ना हुनु अगाडी नै धरौटी बुझाउनुपर्ने प्रावधान छ ।
प्रतिष्ठानले कुनै लक्षण नभएका संक्रमितलाई ७ हजार धरौटी राख्नुपर्नेछ भने प्रतिदिन २ हजार शुल्क तिर्नुपर्नेछ । हल्का लक्षण भएकाले १२ हजार धरौटी भर्ना हुनु अघि नै राख्नुपर्नेछ भने प्रतिदिन ३५ सय शुल्क तिर्नुपर्नेछ । मध्यम लक्षण भएका बिरामीले ३५ हजार धरौटी बुझाउनुपर्नेछ भने प्रतिदिन शुल्क ७ हजार ५ सय दिनुपर्नेछ ।
यस्तै, गम्भीर लक्षण भएका बिरामीले ६० हजार धरौटी बुझाउनुपर्ने भएको छ भने प्रतिदिन १५ हजार शुल्क तिर्नुपर्नेछ ।
आर्थिकरुपले विपन्न, अशक्त र असहाय नागरिक, असहाय एकल महिला, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकहरुलाई लक्षण देखिएमा सिफारिस तथा परिचय पत्रको आधारमा निःशुल्क पिसिआर परीक्षण गर्ने पनि प्रतिष्ठानले जनाएको छ । अन्य सबैलाई २२ सय रुपैयाँ पिसिआर शुल्क लिने पनि प्रतिष्ठानको भनाई छ ।

प्रतिक्रिया