आइतबार, माघ ११, २०७७

बाटो बिराएको ’पहेँलोठुँडे कलहाँस’: कोशीटप्पुको लागि नयाँ चरा

ज्योतिन्यूज २०७७ मंसिर ८ गते १९:०८

(फोटो सौजन्य:संजीव आचार्य)
कोशीटप्पु । कोशीटप्पुको लागि सोमबार नयाँ पाहुना चरा देखिएको छ । कोशी पंक्षी समाजका अध्यक्ष रहेका संजीव आचार्यले कोशीटप्पु वन्यजन्तु आरक्षको लागि नयाँ चरा पत्ता लगाएका हुन् ।
यसअघि कोशीटप्पु क्षेत्र भित्र ५ सय ३० प्रजातिका चरा देखिएका छन् ।

आचार्यले पत्ता लगाएसँगै आरक्ष आसपासका क्षेत्रमा ५३१ प्रजातिका चरा रेकर्ड भएका छन ।

पहेँलोठुँडे कलहाँस (विन गुज) कोशीमा मात्र हैन नेपालकै लागि दुर्लभ चराको रूपमा चिनिन्छ ।
हिमाली प्रकृतिका पंक्षीविद् समेत रहेका आचार्यका अनुसार सन् १९८५ मा पहिलो पटक चितवनको राप्ति नदी क्षेत्रमा एउटा मात्र पहेँलो ठुँडे कलहाँस देखिएको थियो ।

चखेवा (रेडीसियल डक) को झुन्डमा एउटा मात्रको सङ्ख्यामा देखिएको यो चरा नेपालमा मात्र नभई दक्षिणमै कम देखिने चराको रूपमा चिनिने आचार्य बताउँछन् ।
साइबेरियाबाट बसाईं-सराई गरेर हिँड्ने विन गुज हत्तपत्त नेपालको यात्रातय गर्दैन ।

आचार्यका अनुसार हालसम्म नेपालमा १० वटाको सङ्ख्यामा मात्र यो चरा देखिएको छ ।

पछिल्लो पटक सन् २०१७ मा पोखराको फेवातालमा ४ वटाको सङ्ख्यामा यो चरा देखिएको थियो ।

जुन नेपालको लागि अहिले सम्मकै ठुलो सङ्ख्याको रेकर्ड हो ।
हाँस प्रजातिको यो चरा साइबेरियाबाट प्राय युरोप तिरको भ्रमणमा व्यस्त हुन्छ । तर कहिलेकाहीँ यात्राको क्रममा आफ्नो झुन्डसँग छुट्टिएर दक्षिण एसियाली क्षेत्रमा आउने गरेको छ ।
’जनसङ्ख्याको आधारमा हेर्ने हो भने विन गुज साइबेरियाबाट युरोपतिर बसाईं-सराई गर्ने गर्छ’ आचार्य भन्छन् ’ तर कहिलेकाहीँ अन्य हाँस प्रजातिकै झुन्डसँग मिसिएर युरोप बाहेक भारतीय उपमहाद्वीप क्षेत्रमा आउने गरेको तथ्याङ्कले देखाएको छ ।’
हाँस प्रजातिको प्रायः सबै चरा पाइने रसियाको साइबेरियाबाट अत्यधिक जाडो भएपछि चराहरू बसाईं-सराई गर्न थाल्छन् ।

सेप्टेम्बर देखि बसाईं-सराई गर्न थालेका चराहरू डिसेम्बरसम्म विभिन्न स्थानमा पुग्ने गर्दछन् ।
कोशीटप्पुमा हाँस प्रजातिका विभिन्न विशेषताका चराहरू छन् ।

सगरमाथा भन्दा माथिको उचाई देखि उडान भरेर आउने खोया हाँस (बार हेडेड गुज) देखि चखेवा (रेडिसियल डक) लगायतका हाँस प्रजाति यो क्षेत्रका आकर्षणहरू हुन् ।

थपिएको ’विन गुज’ सँगै कोशीटप्पु क्षेत्रमा अभिलेख भएका हाँस प्रजातिको सङ्ख्या ३७ पुगेको छ ।

प्रतिक्रिया