शुक्रबार, असार ४, २०७८

राखेप र कीर्तिपुर नगरपालिकाबीच सम्झौता

ज्योतिन्यूज २०७७ पुष १ गते १८:२७

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले १३औँ दक्षिण एशियाली खेलकूद (साग)लाई लक्षित गरी कीर्तिपुर नगरपालिकाको नयाँबजारमा निर्माण गरेको कभर्डहल आज नगरपालिकालाई भोगचलनका लागि हस्तान्तरण गरेको छ ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र नगर प्रमुख रमेश महर्जनले सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । राखेपले राज्यको लगानीमा निर्माण गरेको कभर्डहल नगरपालिकालाई सञ्चालन तथा व्यवस्थापन गर्न दिने, राखेपले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकूद प्रतियोगिता, प्रशिक्षण, सेमिनार गोष्ठी गर्नुपर्ने भएमा नगरपालिकालाई पूर्वजानकारी गराउनुपर्ने तथा नगरपालिकाले स्वीकृति दिनुपर्ने उक्त सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौताअनुसार कभर्डहलमा प्रयोग हुने टेलिफोन, खानेपानी, सुरक्षा व्यवस्था तथा त्यसको महशुल खर्चलगायत आवश्यक मर्मतसम्भारको खर्च नगरपालिकाले व्यहोर्नु पर्नेछ । नगरपालिकाले आवश्यक तथा मागअनुसार खेलकूद प्रतियोगिता, प्रशिक्षण र खेल गतिविधि सञ्चालन गर्नसक्ने, कभर्डहल सञ्चालन तथा व्यवस्थापन गर्ने क्रममा कुनै विवाद भए आपसी सहमतिमा मिलाउने तथा विवाद मिलाउन असफल भएमा प्रचलित कानूनबमोजिम समाधान गरिने सम्झौतामा उल्लेख छ ।

विसं २०७५ भदौ १ गते निर्माण शुरु गरिएको उक्त कभर्डहल रु तीन करोड दुई लाख ३० हजारको लागतमा सम्पन्न भएको हो । विसं २०७६ कात्तिक ३० गते निर्माण सम्पन्न भएको सो कभर्डहल ५०० दर्शक अटाउने क्षमताको छ । कभर्डहलमा बास्केटबल, भलिबल, टेबलटेनिस, मार्सल आर्ट्स, जुडोलगायत खेल खेल्न सकिनेछ ।

सदस्य–सचिव सिलवालले कभर्डहलले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभालाई अझ तिखार्न महत्वपूर्ण अवसर दिने बताउँदै नगरपालिका र नगरवासीले कभर्डहलको भरपुर सदुयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । नगर प्रमुख महर्जनले कीर्तिपुरलाई खेलकूदको केन्द्र बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया