मंगलबार, कार्तिक २, २०७८

‘मकुना’ हेर्ने प्राविधिक टोली कोसीमा, स्थानीय संरक्षणकर्मी भन्छन् ‘मार्ने विकल्पको प्रतिकार गर्छौ’

कृष्ण बहाब २०७७ पुष १ गते २०:३६

कोशीटप्पु : कोशीटप्पुको ‘हिरो’ हात्तीको रूपमा परिचित रैथाने मकुना हात्तीको अवस्था बुझ्न चितवनबाट तिन सदस्यीय टोली कोशीटप्पु आएर काम थालेको छ । चितवनबाट पशु चिकित्सक सहितको तीन सदस्यीय टोलीले कोसीमा मकुनाको ‘मुमेन्ट’ अवलोकन सुरु गरेको छ ।

आरक्ष भित्रै रहेको मकुनाको हालको अवस्थाको बारेमा पशु चिकित्सक डा.अमिर सडौला सहितको टोलीले मिहिन रूपमा निगरानी राख्ने छ । मार्ने विकल्पमा छलफल भएको समाचार प्रकाशित भएको एक दिनपछि चितवनबाट पशु चिकित्सक डा.अमिर सडौला वन्यजन्तु प्राविधिक तीर्थ लामा र एम्बुलेन्स चालक सुरेन्द्र तामाङको टोलिला आजबाट काम सुरु गरेको हो ।

प्राविधिक टोलीले आरक्षको कार्यालय सँगको समन्वयमा पहिलो चरणमा जङ्गली हात्ती मकुनाको हाउभाउ बुझ्ने काम थालिएको हो । सुडौलाका अनुसार हात्तीले क्षति गर्नु पछाडिको कारणहरूमा निगरानी राख्ने छ । सुडौलाका अनुसार विभिन्न कारणले हात्तीले वितण्डा मच्चाउने गर्दछ । त्यसको मिहिन अनुसन्धान गरेर सम्भावित कारणहरू प्राविधिकले यकिन गरेपछि अन्तिममा के गर्ने विषयमा पुग्ने उनले बताए ।

प्राविधिक टोलीले तत्काल हात्ती थप हिंस्रक कसरी भयो भन्ने विषयमा हात्तीलाई पछ्याउने छ । हात्ती आरक्ष बाहिर निस्कनुलाई शरीरमा घाउचोट भएको वा यौन चाहाना बढेर उन्मत्त भएको हो कि भन्ने विषयमा प्राविधिक टोलिला मिहिन अवलोकन गर्ने छ । अवलोकनपछि हर्मोन कन्ट्रोल गर्ने देखि अन्य उपचार गर्ने छ ।

प्राविधिकहरूले आज देखि मात्र काम सुरु गरे पनि सुनसरी प्रशासनले भने हात्ती मार्ने विषयलाई केही दिन अगाडी देखि अन्तिम विकल्पको रूपमा प्रस्तुत गर्दै आएको थियो । त्यसलाई समेटेर ज्योति न्युजले समाचार प्रकाशित गरेपछि भने चितवनबाट प्राविधिक झिकाएर अनुसन्धान सुरु गरिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ मा रहेको प्रावधानलाई टेकेर मकुनालाई मार्ने विकल्पमा प्रशासकहरूका बिच छलफल सुरु भएको थियो । त्यसको जनस्तरबाट विरोध भएपछि अहिले भने प्राविधिकलाई बोलाएर काम सुरु गरिएको हो ।

‘मार्ने विकल्पको प्रतिकार गर्छौ’

मकुना हात्तीलाई मार्ने विषयमा छलफल भएपछि संरक्षणप्रेमीहरुले विरोध जनाउन थालेका छन् । जङ्गली हात्ती व्यवस्थापन गर्ने अनेकौँ विकल्पहरू हुँदाहुँदै मकुनालाई मार्ने विषयमा कोसी पक्षी समाजले प्रेस विज्ञप्ति निकाल्दै ध्यानाकर्षण भएको जनाएको छ ।

वन्यजन्तु पीडित समेत रहेका स्थानीय संरक्षणकर्मीहरुले हात्ती मार्ने विकल्पको सम्बन्धमा भर्त्सना जनाएका हुन् । जङ्गली हात्तीको सङ्ख्या दिनानुदिन घट्दै गएको अवस्थामा अन्य तरिकाले व्यवस्थापन गर्नु पर्ने भन्दै समाजले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको हो । 

‘जिम्बेबार कार्मचारीहरुले नै अन्य विकल्प हुँदाहुँदै मार्ने विषयमा छलफल थालेका रहेछन्‘ कोसी पक्षी समाजका उपाध्यक्ष रहेका माधव बरालले भने  ‘ मान्छे र हात्तीकै अस्तित्व स्वीकार हुने गरीको विकल्पमा छलफल हुनु पर्छ नत्र यसको कडा प्रतिकार हुन्छ ।’

प्रतिक्रिया