मंगलबार, फागुन १८, २०७७

पृथ्वी फर्कियो अन्तरिक्ष यान चन्द्रमाको चट्टान र धुलो लिएर

ज्योतिन्यूज २०७७ पुष २ गते ९:३८

काठमाडौं । चीनको चाङ्ग-अ फाइभ अभियान अन्तर्गत चन्द्रमाबाट चट्टान र धुलो लिएर आएको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ । उक्त अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार १:३० बजे भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको हो ।

अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमुना ल्याएको ४० वर्ष भन्दा बढी भइसकेको छ । अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्नेछ ।

चाङ्ग-अ फाइभ अभियान सफलतापूर्वक सकिनुलाई चीनको अन्तरिक्षमा बढ्दो क्षमताको अर्को प्रदर्शनका रुपमा पनि हेरिनेछ । चाङ्ग-अ फाइभ अभियान नोभेम्बरको अन्त्यमा चन्द्रमामा पठाइएको थियो । चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ वरपरको क्षेत्र अवलोकन गरेर अनि सामग्रीहरू सङ्कलन गरेर बिताएको थियो ।

ल्यान्डरले भुइँबाट चट्टान वा धूलो उठाएर थियो । उसले कति नमुना सङ्कलन गर्‍यो भन्ने स्पष्ट छैन, तर सम्भवत २-४ किलो सामान हुनुपर्छ । त्यसरी सङ्कलन गरिएको नमुनालाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाएर त्यसलाई पृथ्वीमा फर्काइएको हो ।

अमेरिकी एपोलो अन्तरिक्षयात्री र सोभियत रोबोटिक लुना अभियानहरूले चन्द्रमाको सतहको जम्मा ४०० किलो सामग्री सङ्कलन गरेका थिए । तर ती नमुनाहरू धेरै पुराना थिए – तीन अर्ब वर्षभन्दा बढी पुराना। चाङ्ग-अ फाइभले ल्याएको चट्टान र धूलो भने अलि फरक नै हुनुपर्छ ।

चीनको अभियानले मन्स रुम्केर भनिने उत्तरपश्चिमको उच्च ज्वालामुखी क्षेत्रलाई निशानामा पारेको छ । यो क्षेत्रबाट ल्याइएको नमुना भने १.२ देखि १.३ अर्ब वर्षभन्दा पुरानो नहुन सक्छ । त्यसैले अहिलेको नमुना अध्ययन गर्दा त्यसले चन्द्रमा भित्री रुपमा कसरी निर्माण भएको छ भन्ने थप जानकारी प्रदान गर्न सक्छ । बीबीसी

प्रतिक्रिया