शुक्रबार, फागुन १४, २०७७

सुरु भयो काठमाडौं-दिल्ली उडान

ज्योतिन्यूज २०७७ पुष २ गते १५:१५

काठमाडौँ । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन भएको छ ।

काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनःशुरु भएको हो ।

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन् । नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण विसं २०७६ चैत १० अर्थात २३ मार्च सन् २०२० गतेदेखि काठमाडौँ–दिल्ली उडान स्थगित भएको थियो ।

कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब छ महिनापछि गत भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरु भएको थियो ।

कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । यही मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो ।

नेपाल एयरलाइन्सको न्यारोबडी ए ३२० जहाजले काठमाडौँबाट १४१ यात्रु लिएर दिल्ली उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । बिहान ११:२० बजे उडेको उडान नं २०५१ जहाज दिल्लीबाट त्यहाँको समयअनुसार दिउँसो १:५५ बजे काठमाडौँ फर्किने उडान तालिका छ । एक सय ५७ यात्रु क्षमताको न्यारोबडी जहाजमा १३५ इकोनोमिक र छ बिजनेस क्लासका यात्रु सवार रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया