मंगलबार, कार्तिक ९, २०७८

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता नगर्ने अडानमा

ज्योतिन्यूज २०७७ पुष २ गते २२:१४


काठमाडौं । आफ्नै पार्टीबाट चर्को विरोध र राष्ट्रपति समक्ष विशेष अधिवेशन आवह्वानका लागि समावेदन गरेपछि प्रधानमन्त्रीले हिजो (बुधबार)को स्थायी समिति बैठकमा उक्त अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाएका थिए ।

उनको प्रतिवद्धतासँगै आफ्नै दलका बहुमत सांसदको हस्ताक्षर सहितको विशेष अधिवेशन मागको निवेदन फिर्ता गरिएको थियो । तर त्यसको २४ घण्टा नवित्दै प्रधानमन्त्री आफ्नो अडानबाट पछाडि हटेका छन् ।

आज (बिहिबार) साँझ बसेको मन्त्रीपरिषदको बैठकले उक्त अध्यादेश फिर्ताको निर्णय गर्ने धेरैको अनुमान थियो तर बैठकमा त्य विषयले प्रवेश नै पाएन ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले आजको बैठकमा कुनै राजनीतिक विषयको समेत चर्चा गरेनन् । जवकी हिजोको स्थायी समितिको बैठकमा प्रक्रियागत ढंगले फिर्ता गर्ने बताएका थिए ।

बालुवाटारमा आज दिनभर यही विषयमा छलफल भएको र प्रधानमन्त्री केपी शर्मा ओली जसरी पनि पूर्व एमाले समूहलाई एकिकृत गर्ने प्रयासमा रहेकोले त्यसका लागि पहिले माधवकुमार नेपाल समूहका भनेर चिनिएका वर्तमान मन्त्री समेत रहेका घनश्याम भुसाल र योगेश भट्टराईलाई समेत आफ्नो पक्षमा ल्याउने अधिकतम् कोसिस भइरहेको बालुवाटार श्रोतले बतायो ।

आजको मन्त्रिपरिषद बैठकमा अध्यादेश फिर्ता गर्ने प्रस्ताव त गएनछ नी भन्ने जिज्ञाशामा बालुवाटार श्रोतले भन्यो–“प्रधानमन्त्रीले त्यो अध्यादेश प्रतिपक्षको गैरजिम्मेवार भूमिकाका कारण लामोसमयदेखी संबैधानिक अंगका प्रमुखलगाएतका पदहरु रिक्त रहदै आएकोले सरकारको नियमित र प्रभावकारी काममा बाधा पुगेको हुनाले त्यो रिक्ततालाई पुरा गर्न यो अध्यादेश ल्याउनु वान्छनीय थियो तर आफ्नै पार्टीका साथीहरु नै जसरी यसको विरोधमा उभिन पुग्नुभयो र प्रतिपक्षको भन्दापनि तल्लोस्तरको गैर राजनीतिक व्यवहार देखाउनु भयो यसबाट प्रधानमन्त्री थप रुष्ट हुनुभएको छ ।

हिजो (बुधबार) दुई अध्यक्षका बीचमा अध्यादेशसँगै आरोप–प्रत्यारोप पत्र पनि फिर्ता लिने सहमति भएकोमा अर्का अध्यक्ष पुष्पकमल दाहाल स्थायी समितिको बैठकमा त्यसबाट पछाडि हटेको हुनाले विशेष अधिवेशन टार्नका लागि मात्र प्रधानमन्त्री ज्यूले उक्त कुरा बोल्नु भएको हो, जवसम्म प्रचण्डले आफ्नो आरोप पत्र फिर्ता लिने सहमति कार्यान्वयन नगरुन्जेल यो अध्यादेश फिर्ता हुँदैन ।

हेर्दै जानोस् विस्तारै पूर्व एमालेका सबै साथीहरू एउटै कित्तामा उभिनु हुनेछ, त्यसको नेतृत्व बामदेव गौतम सहित शंकर पोखरेल, घनश्याम भुसाल र योगेश भट्टराई लगाएतका नेताहरूले गर्नुहुनेछ । त्यो अवस्थामा कमरेड माधब नेपाल र झलनाथ खनाल कसरी बाहिर रहनु होला र ?” बालुवाटार श्रोतले भन्यो ।


बालुवाटार श्रोतका अनुसार अवका एक दुई दिनमा प्रचण्ड र प्रधानमन्त्रीका दुबै अध्यक्षले आ–आफ्ना प्रस्तावहरू फिर्ता लिने सहमति हुनेछ र आगामी स्थायी समितिको बैठकमा दुबै अध्यक्षले संंयुक्त प्रस्ताव पेस गर्नुहुनेछ । त्यसकालागि घनश्याम भुसाल र सुवास नेम्वाङ गृहकार्यमा जुटिसकेको बताइएको छ ।

प्रतिक्रिया