शुक्रबार, कार्तिक ५, २०७८

महेन्द्र आदर्श नमुना माविको प्रधानाध्यापकमा देविराम शर्मा नियुक्त

ज्योतिन्यूज २०७७ पुष ३ गते १२:५६

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ७ वामी स्थित महेन्द्र आदर्श माबिको प्रधानाध्यापकमा देविराम शर्मा नियुक्त हुनुभएको छ ।

नमुना विद्यालयको प्रध्यानाध्यापक छनौट कार्यविधि अनुसार ३ सदस्यीय छनौट समितिले यसअघि विद्यालयका उपप्रधानाध्यापकको रुपमा काम गरिसक्नुभएका शर्माको नाम सार्वजनिक गरेको हो ।

छनौट समितिमा विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार पूर्व प्रध्यानाध्यापक भीमलाल सापकोटा, नगर शिक्षा समितिको तर्फबाट चुराबहादुर छन्तेल र शिक्षा बिकास समन्वय ईकाई गुल्मी बाट रेसुंगा बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द गौतम रहनुभएको थियो । डेढ महिना अघि समितिले दरखास्त आह्वान गरेको थियो । जसमा मुसिकोट नगरपालिका शिक्षा शाखामा कार्यरत शर्माको मात्र उम्मेद्वारी परेको थियो ।

मूल्याङ्कन समितिले गत मंसिर २८ गते शर्मालाई प्रअको रुपमा नियुक्त गर्न सिफारिस गरेको थियो । शुक्रवार बसेको व्यवस्थापन समितिले शर्मालाई नियुक्त गरेको विद्यालयका सहायक प्रधानाध्यापक अनन्तलाल भण्डारीले जानकारी दिनुभयो ।

योसँगै शर्माले आजैबाट प्रअको कार्यभार सम्हाल्नुभएको छ । यसअघि प्रद्यानाध्यापकको रुपमा रहनुभएका बुद्धि प्रसाद शर्माले कार्यभार शर्मालाई हस्तान्तरण गर्नुभयो ।

उक्त कार्यक्रममा वडाध्यक्ष प्रकाश काफ्ले, उद्योग वाणिज्य संघ अध्यक्ष सुदर्शन शाक्यसहित विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

कार्यभार सम्हालेपछि ज्योतिन्यूजसंग कुराकानी गर्दै नमुना बनिसकेको विद्यालयलाई आगामी दिनमा अझै आगामी दिनमा विद्यालयलाई भौतिक रुपमा सम्पन्न, आर्थिक रुपमा सवल बनाउदै यस क्षेत्रकै उत्कृष्ट सामुदायिक शैक्षिक गन्तब्य बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्न आगामी दिनमा सर्वपक्षीय समन्वय गरेर अघि बढ्ने उहाँको भनाई छ ।

दुई बर्ष अघि हीरक महोत्सब मनाएको विद्यालयले महोत्सबमा सञ्चालन गरेको धनधान्याञ्चल महायज्ञबाट करिब ६ करोड अर्थ संकलन गरी प्राविधिक शिक्षा (सिविल इन्जिनीयरिङ्ग) समेत सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया