शुक्रबार, कार्तिक ५, २०७८

टीकापुर घटना : उच्च अदालतको फैसलाविरुद्ध आन्दोलन गर्ने घोषणा

ज्योतिन्यूज २०७७ पुष ३ गते १६:१३

काठमाडौँ । उच्च अदालत दिपायलले गरेको फैसलाविरुद्ध थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलन गर्ने निर्णय गरेको छ ।

कैलालीको टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो ।

२०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।

उक्त घटना घटाएको आरोपमा कैलाली जिल्ला अदालतले २०७५ सालको फागुन २२ गते रेशमलाल चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । उच्च अदालतले तीमध्ये ७ जनाको सजाय सदर गरेको छ भने चार जनाको सजाय घटाएको छ ।

यो पनि : रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

जिल्ला अदालत कैलालीले लक्ष्मण थारुलाई तीन वर्षको सजाय फैसला गरेको थियो । उनी तीनवर्ष भन्दा बढी पुर्पक्षमा रहेकाले जिल्ला अदालतको फैसलापछि छुटिसकेका थिए । तर उच्च अदालतले थारूलाई जन्मकैदको सजाय सुनाएको छ । जन्मकैदको सजाय हुनेमा लक्ष्मण थारु, रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन् ।

लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला भएपछि मोर्चा आन्दोलित भएको हो । शुक्रबार धनगढीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै मोर्चाका संयोजक माधव थारुले अधिकारको आन्दोलनलाई राज्यले राजनीतिक पूर्वाग्रह राखी अपराधी बनाएको भन्दै आन्दोलन चर्काउने चेतावनी दिनुभएको हो ।

प्रतिक्रिया