शुक्रबार, कार्तिक ५, २०७८

पेरिसडाँडा भेलाबाट नेताहरुले प्रधानमन्त्री ओलीलाई दिए यस्तो सन्देश

ओली अध्यादेश फिर्ता नलिए कठोर भएर लाग्ने

ज्योतिन्यूज २०७७ पुष ३ गते १६:३२

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेलाले अध्यक्ष केपी शर्मा ओली अध्यादेश फिर्ता नलिए कठोर भएर लाग्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रवार आयोजित प्रदेश १ का नेताहरूको भेलामा ओली प्रवृतिको डटेर सामना गर्ने निर्णय भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा एकलकाटे कार्यशैली हावी भएको भन्दै पछिल्लो परिस्थितिविरूद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

आफुले पेश गरेको राजनैतिक प्रतिवेदन विधि र विधानको लागि भएको स्पष्ट पार्दै उहाँले उक्त प्रतिवेदन कुनै पनि हालतमा फिर्ता नहुने समेत बताउनुभएको थियो ।

नेकपा केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाले अध्यादेश फिर्ता नभए थप कदम चाल्ने तयारी गरिएको जानकारी दिनुभयो । “ओलीबाट विधि, पद्धति र नेकपाको राजनीति स्खलन भइरहेको छ ।” उहाँले भन्नुभयो ।

दुवै अध्यक्षहरुको प्रतिवेदन सबैले पढेको भन्दै उहाँले ओली नै गलत रहेको प्रष्ट हुने दावी गर्नुभयो ।

भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पार्टीलाई विभाजित हुन नदिने तर गलत प्रवृत्तिका विरुद्धमा लडिरहने बताउनुभयो ।

अपराह्न १ बजे शुरू भएको भेला करीब अढाई घण्टा चलेको थियो ।

भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीलाई एकलकाँटे कार्यशैली अपनाएर पार्टीलाई धरापमा पारेको बताउनुभएको थियो । उहाँले ओलीबाट अब देश र पार्टी नचल्ने समेत बताउनुभयो ।

प्रतिक्रिया