शुक्रबार, कार्तिक ५, २०७८

स्वास्थ्य सामग्री खरिदमा ‘गलत’ भएको लेखाको ठहर, अख्तियारलाई छानविन गर्न पठाइने

ज्योतिन्यूज २०७७ पुष ३ गते १६:४६

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा आर्थिक अनियमितता भएको निष्कर्ष निकालेको छ ।

समितिको शुक्रवार बसेको बैठकले खरिद प्रक्रियामा संलग्न पदाधिकारीहरूमाथि थप छानबिन गरी दोषीलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय भएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले पनि समितिलाई दिएको प्रतिवेदनमा खरिद कानूनसम्मत नभएको कुरा भनेको थियो ।

शुक्रवारको बैठकमा उपस्थित हुनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले महामारीको समय र स्वास्थ्य सामग्रीको हाहाकार भएको बेलामा हतारमा सामान ल्याउनु परेको बताउनुभएको थियो ।

स्वास्थ्य सेवा विभागले कोरोना महामारी रोकथाम तथा उपचारका लागि चाहिने औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न १२ चैत २०७६ मा ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनल ओम्नी समूहसँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार ओम्नी समूहले १६ गते पहिलो लटमा सामान पनि ल्याएको थियो, तर महँगोमा सामान खरिद भएको भनेर विरोध हुनुका साथै थप सामग्री ल्याउन नसकेपछि १९ चैतमा सम्झौता रद्द भयो ।

उक्त खरिद पक्रिया नियमसम्मत नभएको निष्कर्ष लेखा समितिले निकालेको हो ।

प्रतिक्रिया