शुक्रबार, कार्तिक ५, २०७८

ओलीलाई पेरिसडाँडाको चेतावनी, नसच्चिए कारवाही !

विशेष संंवाददाता २०७७ पुष ३ गते १८:०४

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट ओलीलाई एकैस्वरमा अझै पनि नसच्चिए कारवाही गर्ने चेतावनी दिएका छन् ।

शुक्रवार अपराह्न १ बजे प्रदेश १ का नेता कार्यकर्तालाई पेरिसडाँडा बोलाइएको थियो । भेलामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाललगायत प्रदेश १ बाट प्रतिनिधित्व गर्ने करीब ५० जना नेता कार्यकर्ता उपस्थित भएका थिए ।

भेलामा बोल्दै प्रचण्डले आफूहरूको सुझबुझले गर्दा नै नेकपाको एकता जोगिएको प्रसंग निकाले । प्रचण्डको भनाइ उदृत गर्दै भेलामा सहभागी एक नेताले भने, ‘हामीले सुझबुझपूर्ण निर्णय लिएका छौं, त्यसैले एकता अहिलेसम्म जोगिएको छ । अन्यथा ओलीले उहिल्यै पार्टी फुटाएर जानुहुन्थ्यो ।’

अध्यक्ष प्रचण्डले केही दिनअघि सरकारले जारी गरेको अध्यादेश जबरजस्ती फिर्ता गराइएको बताए । ‘ओलीमा चरम पदलोलुपता देखिएको छ, चरम राजनीतिक स्खलन देखिएको छ,’ प्रचण्डले भने, ‘उहाँ पार्टी र सरकार दुवै चलाउन अयोग्य हुनुहुन्छ । अझै यस्तै क्रियाकलाप गर्दै जाने हो भने पार्टीबाट कारवाही गरेरै निकाल्नुपर्ने अवस्था आउन सक्छ ।’

भेलामा बोल्दै वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फूटको दिशा रोजेर ओलीले गल्ती गरेको बताए । ‘ओलीले पार्टी फूटको दिशा रोजेर गल्ती गर्नुभएको छ,’ नेता नेपालले भने, ‘या त सच्चिनु पर्यो, नत्र भने कारवाही भोग्न तयार हुनुपर्यो ।’

नेता नेपालले आफूहरूको कोशिसबाट नै पार्टी अहिलेसम्म नफुटेको दाबी गरे । ‘पार्टी फुट्नु हुँदैन,’ उनले भने, ‘फूटको दिशातर्फ लैजाने ओली नै हुन् । सच्चिएर अघि बढे राम्रै होला नत्र भने पार्टीले कमिटीको बैठकबाट आवश्यक निर्णय लिन्छ ।’

भेलामा वरिष्ठ नेता खनालले परिपूर्ण लोकतन्त्रको कुरा गर्नेले अधिनायकवादी चरित्र अंगालेको भन्दै ओलीमाथि तितो टिप्पणी गरे । ‘दस्तावेजमा परिपूर्ण लोकतन्त्र भन्दै ओठे कुरा लेख्ने, तर व्यवहारमा गुटबाट माथि उठ्न नसक्ने, खल्तीका मान्छेहरूलाई नियुक्त गर्न सजिलो होस् भनेर अध्यादेश ल्याउने जस्ता कुराहरू भएका छन्,’ खनालले आक्रोश हुँदै भने ।

भेलामा सहभागी प्रदेश १ बाट प्रतिनिधित्व गर्ने एक सांसदले ओलीलाई भेलाले कडा चेतावनी दिएको बताए । ‘शीर्ष नेताहरूको कुरा सुन्यौं,’ उनले भने, ‘दुवै अध्यक्षको प्रतिवेदन पढ्नुस र तपाईंहरूले पनि पार्टी एकताका पक्षमा क्रियाकलाप गर्नुस् भनेर नेताहरूले हामीलाई भन्नुभएको छ । ओलीले पार्टी विभाजन गरे उनी सक्किने र त्यसभन्दा अघि नै पार्टीले कारवाही गरेर निकाल्न सक्ने आशय नेताहरूको देखिएको थियो ।’

नेकपामा संकट चुलिंदै गएपछि ओलीले गत मंगलवार अध्यादेशको अस्त्र फ्याँकेका थिए । द्रूत मार्गमा केही घण्टामै राष्ट्रपति कार्यालयबाट जारी भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश विवादमा पर्यो । बुधवार बसेको पार्टीको स्थायी कमिटी बैठकले ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिएको छ ।

संवैधानिक निकायमा एकलौटी नियुक्ति गर्ने मनासयका साथ ल्याइएको अध्यादेशको राजनीतिक वैधता समाप्त भइसकेको छ भने कानूनी रूपमा ओलीले अझै फिर्ता लिन मानेका छैनन् ।

बुधवार भएको ओली प्रचण्डबीचको छलफलमा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने शर्त राखेको स्रोतको दाबी छ । पार्टीले दिएको निर्देशन कार्यान्वयन गर्न छाडेर ओलीले अध्यादेशलाई अझै बार्गेनिङ गर्न दुरुपयोग गरेको कतिपय नेताहरूको टिप्पणी छ ।

पार्टीभित्र ओली यतिबेला कमजोर बनेका छन् । सचिवालय, स्थायी र केन्द्रीय कमिटीमा अल्पमतमा रहेका ओली संसदीय दलमा पनि अल्पमतमै छन् । आफू अल्पमतमा रहेपछि ओलीले सहमति गर्नुपर्ने भन्दै रटान लगाउँदै आएका थिए । उनी आफैंले दलका नेताहरूसँग कुराकानी नगरी अध्यादेश ल्याएर सहमतिको कुरालाई पनि लत्याइदिए ।

प्रतिक्रिया