शुक्रबार, कार्तिक ५, २०७८

यसरी गरियो शान्ति र अहिंसाका प्रवर्धक डा. रेग्मीको सम्झना

ज्योतिन्यूज २०७७ पुष ३ गते १८:५४

काठमाडौँ । आज पौष ३ गते शान्ति र अहिंसाका प्रवर्धक डा. डिल्लीरमण रेग्मीको १०८ औं जन्मजयन्ती एक कार्यक्रमको आयोजना गरी शान्ति दिवसका रुपमा मनाइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सचिव खगराज बरालले स्वर्गीय डा. डिल्लीरमण रेग्मीको राजनीतिक र सामाजिक व्यक्तित्वका बारेमा चर्चा गर्दै स्वर्गीय रेग्मी कुशल राजनीतिकज्ञ मात्र नभइ शान्ति र अहिंसाका प्रवर्धक समेत भएको बताउनुभयो ।

बरालले डा. रेग्मीले आफ्नो मृत्युपश्चात पुस्तकालय सहित सम्पूर्ण निजी सम्पत्ति नेपाल सरकारलाई हस्तान्तरण गरेर पुस्तकालय विकासप्रेमी को परिचय दिएको बताउँदै राष्ट्रलाई उनले महत्वपूर्ण योगदान दिएकाले विधालय पाठ्यक्रममा डा.रेग्मीको जीवनी समावेस गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल राष्ट्रको गौरव नेपाल राष्ट्रिय पुस्तकालयको नयाँ भवन जमलमा बनाउने प्रक्रिया रोकिएकोमा चिन्ता व्यक्त गर्दै त्यो पुस्तकालय जमलमै बन्नुपर्छ भन्ने कुरामा दृढ रहको र त्यसकालागि निरन्तर पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा सोही पुस्तकालयका कर्मचारी कुमार नेपालद्वारा लिखित “मेरो सम्झनामा डा. डिल्लीरमण रेग्मी” पुस्तकको विमोचन पनि गरिएको थियो ।

पुस्तकालय समितिकी अध्यक्ष इन्दिरा दलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिपक शर्मा, डा. तुलसी भट्टराई लगाएतले स्व. रेग्मीको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गर्नुभयो ।

डा. रेग्मीको जन्म वि. सं. १९७० साल पुस ३ गते काठमाण्डौको किलागलमा भएको थियो भने मृत्यु वि.सं. २०५८ साल भदौ १४ गते भएको थियो । प्रारम्भमा राजनीतिमा सक्रिय रेग्मी २० ११ सालमा छाटो अवधिकालागि शिक्षा मन्त्री समेत हुनुभएको थियो । शुरुदेखीनै भारतीय अहिंसाबादी नेता महात्मा गान्धीबाट प्रभावित रेग्मीलाई शान्ति र अहिंसाका प्रवर्धकका रुपमा चिनिन्छ ।

राजनीतिमा सक्रिय रेग्मी तत्कालिन समयमा इतिहासकारका रुपमा समेत परिचित थिए । हाल उनको निवासस्थानमा डा.डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय सञ्चालित छ । नेपाल सरकारले उहाँको नाममा ट्रष्ट बनाउने घोषणा गरेपनि हालसम्म त्यसले मुर्त रुप लिन भने सकेको छैन ।

हाल विकास समितिको रुपमा सञ्चालित यस पुस्तकालयले प्रत्येक २ वर्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान गर्दै आएको छ । हालसम्म दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला, म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङसाङ सुकी, भारतका अहिंसाबादी नेता महात्मा गान्धी, अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर, संयुक्त राष्ट्र संघका स्र्व महासचिव वान की मुन, स्वीस नागरिक टोनी हेगन, रुम टु रिडका संस्थापक जोन उड र रिड नेपाल तथा पिरड ग्लोबलकी संस्थापक डा. एन्टोनिया न्यूवरलाई यो पुरस्कार प्रदान गरिएको छ । त्यस्तै पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला(मरणोपरान्त), पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, संस्कृतिविद सत्यमोहन जोशी, ज्यूँदा शहीद रामहरि शर्मा, महावीर पुन लगाएतलाई राष्ट्रिय शानित पुरस्कार प्रदान गरिएको छ ।

डा. रेग्मीले प्रयोग गरेका सबै सामग्रीको सुरक्षित रुपमा संग्रह गरिएकोले त्यहाँ संग्रहालय पनि रहेको छ । जहाँ उनले आफ्नो जविनकालमा प्रयोग गरेका सामाग्रीहरुको अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया