शुक्रबार, कार्तिक ५, २०७८

ढुक्क रहनुस् शासकदल फुटदैन

नरेन्द्रजंग पिटर २०७७ पुष ४ गते १३:४२

एउटै विषय शासकदल नेकपा नै कति लेख्ने ? किन लेख्ने ? लेख्नुको प्रयोजन के ? पक्कै हो । राजनीति नै सवै विषयको केन्द्र र चालकसिटमा सरकारी नेकपा भएकाले मेरो र हामीहरूको, तिम्रो र तिमीहरूको, उस्को र उनीहरूको सबैको जीवन, सरोकार र सपना पनि भएकाले फेरी उसैबारे लेख्छु । राजनीतिबाट आमजनमत निरास भैरहेको वेला अझ लेख्न आवश्यक हुन्छ । लेख्नु पर्छ, सडकमा चिच्याउनै पर्छ । शब्द जुलुस बन्नुपर्छ । युगको चिच्यहट बन्नै पर्छ । यो समरिक महत्वको अतिसंवेदनशील भूगोल । विश्वशक्तिको सरोकार छ । छाँया राजनीतिमा छ । हो,म कम्युनिष्ट आन्दोलनको विषय लेख्दैछैन्, बुर्जुवा राजनीति त्यसमा पनि संसदवादका रमिता र तमासा देख्दैछु, लेख्दैछु । बुर्जुवा राजनीतिमा चेक एण्ड ब्यालेन्स हुन्छ् तर यहाँ त्यसको समेत हुर्मत काढियो । भारतीय समाजवादी नेता राममनोहर लोहियाको भनाई छ –एक जिन्दा कौम ५ साल तक इन्तजार कर नही सक्ता ।
वर्चश्वशाली वर्ग इतिहासलाई भूलाउन, बिर्साइदिन र व्यवस्थापन गर्न चाहन्छ तर तथ्य, तर्क र अवस्था मेटाउन भने सक्दैन । यो द्धन्दमा मारकस बाबाका ‘भूतदेखी आतंकितहरू’ अहिले मरकसबाबाकै चेला देखेर खितखिताउदैँ तिघ्रा ठटाउदैछन् । कम्युनिष्टको ‘क’ देख्न नसक्ने, रगत देख्न नचाँहाने तर सेकुवा हसुर्ने एउटा जमात समाजमा जहिले पनि सक्रिय भैरहन्छ । त्यो उपलब्धीमा रजाँयी त गर्न चाहन्छ तर कारणलाई भने अपराध देख्छ । त्यो विडम्बनामा नयाँ न्यारेटिभ तयार गरिँदैछन् । तर, आन्दोलनका नायक ध्वस्त हुन सक्लान् तर प्रसंग र प्रभाव कहिल्यै खारेज हुँदैनन् । त्यसले समकालीन इतिहासलाई छोडेको छाप र सन्देश इतिहासमा दरिइसकेका हुन्छन चाहेर पनि कसैले मेटाउनै सक्दैन् ।
के शासकदलमा देखिएका समस्या रूपमा देखिएजस्तो मात्रै हो कि ? सामरिक महत्वको नेपाली भूगोलको । एकातर्फ संवेदनशील भूगोल अर्कोपक्ष २ तिहाइको ‘समाजवाद उन्मुख कम्युनिष्ट’ सरकार । हैन् …हैन् क्रान्ति र विद्रोहबाट स्थापित सत्ता र त्यसका अगुवाहरूको चीरहरण गर्ने यो मनोयुद्दको धराप हो । कम्युनिष्टहरू आन्दोलन, विद्रोह र सत्तामा उथुलपुथुलगर्दै क्रान्ति त गर्न जान्दछन, तर व्यबस्थापन गर्न भने चुक्छन भन्ने विश्वलाई नै देखाँउनु थियो । झापा किसान विद्रोह र जनयुद्दको नेतृत्वले आफ्नै गौरवता धान्न नसक्दाको परिणाम हो । जर्ज आरवेलको एनिमल फार्म र नाइन्टिन आइटीफोर फेरी पढ् त् ।
रूपलाई हेरेर मात्र परिणाम आंकलन गर्न सकिँदैन । संवाद सकिए, वाक युद्द सकियो । तर, जति झगडा र रगडा भए पनि शासकदल नेकपा आफ्नो जीवनकालमा भने फुटदैन् । कारण नौजनाको सेक्रेटेरियट नामक सिण्डकेट मात्रै हैन् । कुनैवेला फुट्लाकी सोच्दै लडाइं घोप्टेभिरमा पुगेको र फाइट टु फिनिसमा सकिने आशंका मैले पनि गरेको थिँए । अहिले पनि रुपमा त्यही देखिन्छ । ट्रयाक थ्री र ट्रयाक टु भिडन्त सकिएर शीतयुद्द अब अहंकार र नाक जोगाउने प्रत्यक्ष भिडन्तमा फेरियो । रैति बनेका कार्यकर्ता दुवैतर्फ किल्लाबन्दी हुँदैगए । एनजियो र फाउन्डेशन गतिविधि टोलटोलमा पुगिसके । अनलाइन र सामाजिक सञ्जाल रमिता र तमासा बनेकै छन् । तर पार्टी विभाजनकोलागि पार्टी हुँन पहिलो अनिवार्य शर्त हो । विचार, सिद्दान्त, दर्शन र लक्ष्य वेगर नयाँपार्टी अपिलको नैतिक पुजी नभएर फुटने इक्षााशक्ति र जोखिम उठाँउने हैसियत हुँदैन् । लोकपृयताको मापदण्ड न आग्रह, प्रतिकृयाले हुन्छ न पैसाले । नत्र करपोरेट आफ्नै पार्टी बनाउँथ्यो, खेताला नेता किन्दैनथ्यो । अभ्यास देखिएकै हुन । सामाजिक सञ्जालका फलोअरलाई शक्ति सोचेर पार्टी बनाउने नयाँशक्ति र साझापार्टीको हैसियत देखिसकियो । ०६२/६३मा नौरङ्गि आवेगी पार्टी नदेखिएका हैनन् । संसद र सरकारमा पनि ती पुगे र कति विलाए कतिलाई अस्तित्व धान्न अहिले सकस परिरहेको छ ।
हो पक्कै….पत्र युद्द मिडियाका चटरमटर खुराक बनेकै थिए । १९ र ३८ पने आरोप पत्र फिर्तालिए पनि छलफल भएपनि अब ती इतिहास र ‘कम्युनिष्ट’ आन्दोलनका नजिर बनिसके । सो जुहारी अध्यादेश प्रकरणबन्दै नारायणहिटी दरबारमा महाराजका हुजुरमा पुगेर लाल मोहर लाग्यो [माफ गर्नु होला, राजतन्त्रको रैती स्वभावले गडबडिएर नारायणहिटी (!) लेखिएछ] शितलनिवास राष्ट्रपति समक्ष पुगेर प्रमाणित भैसक्यो । संसारमै यति छिटो मन्त्रिपरिषदको प्रस्ताव राष्ट्रपतिले स्वीकारेको उदाहरण छैन् । त्रिकोणिय बसाईको एककोणिय संवैधानिक परिषदको बैठकसम्म पुग्दा राजनीतिक भैँचालो नै गयो । तव भने राजज्वतिषले पार्टी फुटने गणना गर्न थाले । तर, सदगुरू मौन छन् । गुगल ब्वाए मौन छन् । स्वयतबस्त्रधारी सिद्धबाबा कृष्णानन्द भनिने कृष्णबहादुर गिरी मुद्दाको लफडामा छन् ।
अब शासकदल नफुटनका कारणवारे चर्चा गरौँ
१.अहंकारी र शारीरिक अशक्त ७० वर्ष काट्दै गरेका बुढानेता त फाइट टु फिनिसमा देखिन्छन् तर अझै ५० हाराहारीका भाइनेताको राजनीतिक भविश्यको चिन्ता, संकटको अवस्था नै पार्टी नफुटनका कारण हुन । तर उनीहरू स्वभिमान, मौलिक परिचय, गौरवताका हकवाला बन्नुभन्दा पनि विगतमा गुट र गिरोहका सदस्य बनेर भिन्नै परिचय बनाउन भने सकेनन् । अधिकांशको राजनीतिक पृष्ठभूमि धरातलीय संघर्षबाट आउनुभन्दा विथ्यार्थी, एनजिओ, कानुनी वा शिक्षक रह्यो । जनयोद्दाको पनि हैसियत बजार र सत्ताले क्वाप्प निलिदियो । जव कुनै शक्तिसंग सार्वजनिक अपिल गर्ने नैतिक पुँजी हराँउछ तव ऊ राजनीतिभन्दा पनि प्राविधिक चुतु¥याँईमा विश्वास गर्छ । समस्याको प्राविधिक हल भनेको खहरेलाइ नदी सोचेझैँ हुन्छ । यूवा नेताको दिमाग बुढो वा बजारले कब्जागर्दा पार्टी, संसद वा सरकारमा उनीहरुले क्षमता देखाउन सकेनन् । परिवारवाद, भ्रष्टतन्त्र, एनजिओकरणमा फँसेकोले जनताबीचमा जाने आत्मावल गुमाए । फुटुनको सार्वजनिक प्रश्नको उत्तर पनि उनीसंग छैन् । दृष्टिकोण र सामाजिक पूँजी जोगाउन सकेनन् । फुटको नेतृत्वगर्न सक्दैनन् ।
२.राजनीति अब ब्यबसाय मात्रै नभै उद्दयोग पनि बनिसकेकोले उद्दयोगमा शेयर घटबढ भैरहँदा ङारङार ङुरङुर भै रहन्छ । तर उर्जा गुमिसकेको विषहीन सर्प भै सक्या शक्तिले संघार काटने जोखिम भने उठाँउदैन् ।
३. बरू दलाल बन्छ उत्पादन पेशामा प्राय फर्कदैन् ।
४. जुन पार्टी सिद्दान्त, विचार, दर्शनले नहाकिएर झण्डा र पार्टीनाम ट्रेडमार्क मात्र बन्छ भने पार्टी फुटनु र नफुटनुको कुनै अर्थ रहँदैन् । जुटदा पनि शक्ति हुँदैन फुटमा पनि औचित्य देखाउनै सकिँदैन् ।
५.फुटदा गुट वा गिरोह ठूलै नेताको सिंग जुधाइ अहंकारको साधना त होला, सन्तानलाइ जोहो गरिसकेका ढल्दो जीवनमा उनीहरूलाई त फरक नपार्ला तर उमेरवाँकी भएकाले अन्य पेसा नभएका, शक्तिस्वाद पाईसकेकाले अंशमा सकिने कि समग्मा सकिने धेरै पटक सोच्न विवस हुन्छन् ।
६.सामाजिकीकरण, सास्कृतिकीकरणगर्न नसकेका र राजनीतिकसंस्कृतिमा पनि नरहेकाले विभाजीत पाटीमा चुनावी हैसियत राख्दैनन् । जनमत सामु के भनेर, के नारा र अपिल लिएर जाँने भन्ने मनोआतंकमा हुन्छन । कार्यकालभरी गुट र गिरोहको फुर्को समाउनेले निमछरो सामने त ठाकुरे बन्ने तर सूचना र अवस्थाको जानकार सामू भने कर्कलाका ठाँठझै लर्याकलुरक हुनुपर्छ । प्रविधी र मिडियाले जनमस्तिकमा प्रभाव छोडिसक्यो । सगोलको पार्टीमाहुँदा न्याय, प्रशासन र बजेटमा खेल्ने अभ्यस्थअवस्था फुटमा नरहने आतंक र दवाव रहिरहन्छ ।
७.०४८को नेकपा एमालेको पाचौ माहाधिवेशनमा पदाधिकारीमा प्रदीप नेपाल नपरेपछि उनले भनेका थिए –अव म राजनीति गर्दिन् । गोविन्ददाईसंग (गोविन्द न्यौपाने,प्लान इन्टरनेसनल) यनजियोमा काम गर्छु । त्यसपछि लालगार्डका कमाण्डर उनी केन्द्रिय कमिटीमा लगिए । त्यसै माहाधिवेशनमा समाजवादीधाराको प्रस्ताव पेस गर्ने रघुजी पन्तले आफ्नै प्रस्तावको पक्षमा समेत मत दिएनन् । तर त्यो जोस, असहमति जाहेरगर्ने इक्षा शक्ति भएको अहिले ‘यूवानेतृत्व’ देखिँदैन् । जनयुद्दबाट सत्ता सुखसयलमा बिलाएकाहरू त अव लाल सलाम भन्न पनि लजाइसके ।
अध्यादेश घटनाले सिकाएको पाठः सस्था संमानित भएर मात्रै पुग्दैन्, त्यसको पात्र सो अ‍ौकात धान्न सक्दैन भने संस्थाको गरिमा त घटछ नै, त्यसले समग्र ब्यबस्था, समाजले नै कष्ट भोग्नुपर्छ । तव गरिमामय संस्थामा अयोग्य ब्यक्ति पु¥याउने, पदासिन गराउने, सल्लाहादिने ब्यक्ति पनि दोषी ठहरिन्छन् । जव आफ्नै चट्टानी अडान निर्णयको मसी सुक्न नपाँउदै वारम्वार निर्णय फिर्तालिन वाध्य हुईन्छ भने झन नैतिकरूपमा त्यहाँ टिकिरहन हुँदैन् । समय क्रुर हुँदो रहेछ । आफूलाइ न्याय नगर्नेलाई इतिहासले खलपात्र बनाएर दण्ड दिँदो रहेछ । वर्चश्वशाली तप्कालाई बहुसंख्यावादको अंहकार र समय बुझ्न नसक्ने बबुरो बनाँउदो रहेछ । राममनोहर लोहियाकै भाषामा– यदी सडक मौन हुन्छ भने संसद आवारा हुन्छ भने लोकतन्त्रिक सरकारले फासिवादी चरित्र अभ्यास गर्छ ’ । थपौँ –मेजेटेरियन सरकार हुकुमीतन्त्रको राजशाही झै मनमौजी पनि हुन्छ । संविधान धरापमा पर्छ । कानुनीज्ञाता अध्यादेशबारे संवैधानिक बहस गम्भीरतासाथ उठिरहेकैबेला, प्रतिपक्षीदल र सभामुखको अनुपस्थितिमा प्रधानन्यायाधिसको उपस्थित असहज मान्छन् । विषय संवेदनशील छ । अहिले विश्वव्यापी बहसमा लोकतान्त्रिक वरवरताको औचित्य न्यायिक बर्बताले दिन्छ भन्ने भनाई नेपालको सन्दर्भमा पनि कतै सान्दर्भिक त हुँदैन ! सडक मौन छ, भद्रप्रतिपक्ष आराम फर्माउदै छ ।
न फुटने न जुटने अवस्थामा के हुन्छ त ?
नेपालको प्रजातन्त्रको संगठित शंखनादगर्ने प्रजापरिषद नचोइटिई, दमन नखेपी, नझेली इतिहासको पानामा मात्रै रहन पुग्यो । संसारकै धेरै गौरवशाली पार्टीको हविगत त्यस्तै भयो । वाथरूमा सवै नाङ्गा भएकाले कस्ले कस्लाई ऐना देखाँउने ! अहंकार र प्रतिकृयानै शक्ति बनेको पार्टी क्रमशः सिथिल हुँदैजान्छ । न आन्दोलनको हैसियत रहन्छ न चुनावी औकात । तव गल्दै, खिँइदै जानु वाहेक केही रहँदैन् । चतुरे शिक्षितहरु लोकपृयनारामा नयाँनया यनजियो खोल्ने छन् । ओपन सोसाइटी फोरम यसैपनि सरकारी सोच निर्माता एवं कार्यकारी थलोमा सन २००६देखी घुसपैठ छ नै । नागरिक समाजका नाममा देखा परेकै छ । चइज्मका (दलाल, भ्रष्ट, लाउके, चाकर, चतुरे, ढोके, हुक्के, राजकबि, शक्ति भाष्यकार) राजनीतिक मौषम छिटै बुझनेहुँदा पहिल्यै कुलेलम ठोक्छन । कार्याकर्ता आफनै इतिहास प्रति पुर्पुरो ठोक्दै निराशहुँदै पलायन हुन्छन् । सत्ताका रसपान गरेका नवधनाढ्यमा फेरिइसकेका राजनीतिक जोखना हेरेर भगवान भरोसे भाकल गरिरहन्छन् । चतुरेको ठूलो हिस्सा दलवदल गर्नेछ । बुर्जुवादल फस्टाउनेछन् तर उनीमा पनि उदार चरित्र र प्रगतीशीलता देखिराखिएको भने छैन् । तर, कुनैपनि वामपन्थी बुर्जुवा पार्टीमा प्रवेश गरे पनि पछुवा त स्वीकारिएको छ तर निर्णायक थलोमा पुग्ने निलाम्बर आचार्यजस्ता भाग्यवानी बिरलै छन् । डा. केशरजंग रायमाझीले पनि अन्तसम्म दरवारसेवक ‘कम्युनिष्ट’ पार्टी राखेकै थिए । वर्ग आग्रह र वर्गचिन्तन, वर्गआग्रह र अभ्यासको फडको विभत्स हुँने रहेछ । सडकमा प्रतिरोधी झिनास्वर भने अहिले सुनिँदैछन्, त्यसले आकारलिन, अर्को आन्दोलनको शंखनादमा केही समय भने लाग्नेछ ।

नरेन्द्रजंग पिटर

ज्योतिन्यूजका नियमित स्तम्भकार पिटर बरिष्ठ वामपन्थी लेखक तथा पत्रकार हुन् ।

प्रतिक्रिया