आइतबार, चैत २९, २०७७

‘ओलीको प्रतिगमनविरुद्ध पत्रकारहरुको मोर्चाबन्दी आवश्यक’

ज्योतिन्यूज २०७७ पुष २७ गते १७:०९

काठमाडौं । विभिन्न सञ्चार सम्बद्ध संघ–संगठनका नेताहरुले प्रतिगमन र निरङ्कुशताका विरुद्ध बृहत् मोर्चाबन्दी जरुरी भएको बताएका छन् ।

प्रधानमन्त्रीको कदमले मुलुक पश्चगमनतिर धकेलेकाले सम्पूर्ण पत्रकार तथा संचारकर्मीले पूर्ण लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि एकताबद्ध भएर आन्दोलनमा होमिनुपर्ने उनीहरुले बताए ।

आसन्न पत्रकार महासंघको महाधिवेशनलाई आन्दोलनकै रुपमा मनाउन आह्वान गर्दै नेताहरुले त्यसका लागि तयारी थाल्नु पर्नेमासमेत जोड दिएका छन् ।

राजधानीको संवाद डबलीमा आज भएको ‘अहिलेको राजनीतिक जटिलता र पत्रकारको भूमिका’ विषयक अन्तक्र्रियामा प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले प्रधानमन्त्री ओलीले मुलकलाई पछाडि धकेलेकाले उनको अलोकतान्त्रिक कदमविरुद्ध आन्दोलित हुनुपर्ने बताउनुभयो ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले लोकतन्त्रको रक्षार्थ पत्रकारहरु जहिले पनि लडिरहेको इतिहास स्मरण गर्दै अहिलेको संकटबाट मुक्ति पाउन संयुक्त आवाज लिएर आन्दोलित हुनुपर्ने धारणा राख्नुभयो ।

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले अहिलेको सरकार प्रतिगामी र फासिवादी चरित्रको भएकाले त्यसको विकल्पमा अग्रगामी एजेन्डा लिएर पत्रकारहरु आन्दोलित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रगतिशील पत्रकार संघका निवर्तमान अध्यक्ष नारायण शर्माले संकटको भूमरीमा फसेको मुलुकलाई जोगाउन पत्रकारहरुको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । पछिल्लो राजनीतिक संकट ठूलो डिजाइनबाट उत्पन्न भएको प्रष्ट्याउँदै शर्माले संयुक्त दबाब सिर्जना गरेर लोकतन्त्रको रक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रेस नेपालका अध्यक्ष केशव अर्यालले लोकतान्त्रिक विधिबाट चुनिएको वर्तमान ओली नेतृत्वले त्यही आधारलाई भत्काउँदै जनताको स्वतन्त्रतामाथि धाबा बोल्नेतिर मुखरित भएकोले पत्रकार तथा सञ्चारजगत्ले त्यसविरुद्ध लड्ने बेला आएको बताउनुभयो ।

प्रतिक्रिया