शुक्रबार, वैशाख १०, २०७८

भारतलाई नेपालको बोस नठान्न प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश

ज्योतिन्यूज २०७७ पुष २८ गते ११:४१

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई नेपालको बोस नसम्झन आग्रह गर्नुभएको छ ।

भारतीय पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले भारत र नेपालको क्षेत्रफल ठूलो सानो भएपनि दुवै देशको हैसियत समान भएको बताउनुभयो । उहाँले भारतलाई ठूलो दाइ र नेपाललाई सानो भाइको रुपमा नलिन आग्रह गर्दै भारत कहिल्यै पनि नेपालका बोस नभएको बताउनुभयो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको प्रष्ट सन्देश दिदै ओली नेपालले आफ्नै भूमि समेटेर नयाँ नक्सा बनाएको र यसबारे वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भूगोल र जनसंख्याको आधारमा नेपालभन्दा भारत ठूलो भए पनि दुवै देशको सार्वभौमिकता बराबर रहेको प्रष्ट पार्नुभयो । उहाँले दुवै देश सार्वभौम रहेको र दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियतमा सानो र ठूलो देशको नभएर समान हैसियतको भएको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपालले भारत र चीनलाई फरक ढङ्गले व्यवहार नगर्ने पनि बताउनुभयो । दुवै देशलाई पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अङ्गीकार गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले भारत र चीनबीचको विवादित क्षेत्र गलवानका बारेमा नेपाललाई कुनै लेनादेना नभएको बताउनुभयो ।

दुई देशबीचको विवादमा नेपाललाई कसैको पक्ष या विपक्षमा लाग्नु जरुरी नभएको प्रधानमन्त्रीले बताउनुभयो । प्रधानमन्त्री ओलीले भारत र चीनबीचको सीमा विवाद समाधानको लागि आफूले मध्यस्थता गर्न सक्ने दाबी पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सन २०२१ लाई नेपाल र भारतको विचमा रहेका सबै समस्याहरु हल भएको वर्षको रुपमा घोषणा गरिने बताउँदै सीमा विवादको समाधान वार्तामार्फत गर्न सकिने बताउनुभयो ।
ओलीले भारत र चीनवीचको समस्या समाधानमा नेपालले मध्यस्तता निर्वाह गर्न सकिने बताउनुभयो ।

उक्त अन्तरवार्ताको क्रममा ओलीले नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्दे उहाँको चरित्र अस्थिर रहेको बताउनुभयो । उहाले भन्नुभएको छ, ‘मैले उनलाई कहाँबाट ल्याएँ, मैले उनीसँग संविधान बनाउन सहकार्य गरेँ, उहाँको चरित्र अस्थीर छ ।’

प्रतिक्रिया