शनिबार, चैत २८, २०७७

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

ज्योतिन्यूज २०७७ पुष २८ गते १३:०५

काठमाडौं । मकवानपुर, ईलाम, बाजुरा र नुवाकोटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

मकवानपुर हेटौडा उपमहानगरपालिका-५ क्याम्पडाँडास्थित सडकमा प्रदेश ३-०३- ००१ प ४०२० नम्बरको मोटरसाइकललाई ना.१ क ८३३३ नम्बरको टिपरले सोमबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका -६ चौघडा बस्ने १८ वर्षीय आशिस शिवभक्तिको घटनास्थलमै मृत्यु भएको छ । सोही दुर्घटनाबाट घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय निरज राईको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । टिपर चालक र दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाम माईजोगमाई गाउँपालिका-४ सिरिसेस्थित सडकमा ना.८ ख ५८६५ नम्बरको गाडी रोकेर मर्मत गर्ने क्रममा सोमबार दिउँसो आफैं पछाडी गुड्न गई किचिएर सोही गाडीका चालक धादिङ कल्लेरी गाउँपालिका-४ बस्ने ३० वर्षीय संदिप राईको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

बाजुरा बडिमालिका नगरपालिका-९ गडखेत स्थितमा सोमबार राति अनटेस्ट ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खस्न जाँदा ट्याक्टरमा सवार स्वामिकार्तिक गाउँपालिका-४ छापु बस्ने ६० वर्षीय धननाथ योगीको मृत्यु भएको छ । दुर्घटनाबाट गम्भीर घाईते भएको उनको जिल्ला अस्पताल बाजुरामा उपचारको क्रममा मृत्यु भएको हो । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नुवाकोट ककनी गाउँपालिका-४ निहाले डाँडास्थित सडकमा ना.२ ख ८९४७ नम्बरको बसले प्रदेश ३-०२-००९ प २८५० नम्बरको मोटरसाइकलाई सोमबार दिउँसो ठक्कर दिंदा मोटसाइकल चालक ककनी गाउँपालिका-२ बस्ने ३४ वर्षीय हस्त बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनाबाट गम्भीर घाईते भएका उनको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका बारेमा स्थानीयबासीको सहयोगमा आवश्यक उद्धार कार्य गर्नुका साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया