शनिबार, वैशाख ४, २०७८

अब लाइसेन्स परिक्षामा नयाँ व्यवस्था, लिखित परीक्षाको प्रश्न पहिल्यै ‘आउट’

ज्योतिन्यूज २०७७ पुष २८ गते १५:४८

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को मापदण्ड परिमार्जनको तयारी गरेको छ । लाइसेन्स लिनका लागि लामो समय कुर्नुपर्ने र प्रयोगात्मक परीक्षा वैज्ञानिक नभएकाले धेरै परीक्षार्थी फेल हुने गरेको भन्दै भौतिक पूवार्धार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले छलफल गरिरहेका छन् ।

अब विभागको परिमार्जित मापदण्मा लिखित परीक्षाका लागि सोधिने प्रश्न ‘आउट’ हुनेछ । सअघि गोप्य रुपमा दिइने प्रश्न नयाँ मापदण्ड आएपछि सार्वजनिक हुनेछ । लाइसेन्स लिन चाहने व्यक्तिले लिखित परीक्षा दिनुपूर्व नै प्रश्न पढेर परीक्षामा सामेल हुन पाउनेछन् ।

परीक्षार्थीलाई सहजीकरण गर्ने भन्दा अनावश्यक नियम लगाएर अनुतिर्ण गर्दा लाइसेन्स लिनेका लागि सँधै भिड लाग्ने अवस्था नयाँ मापदण्डले अन्त्य गर्ने मन्त्रालयको विश्वास छ ।
त्यसैगरी प्रयोगात्मक परीक्षामा समेत सहज बनाइने भएको छ । हाल ट्रायल पास गर्नका लागि ट्रायलको सबै प्रक्रिया पास गरेर निस्कनुपर्छ । तर अब भने ट्रायल परीक्षालाई १ सय पूर्णांक मानेर ६० ल्याउनेलाई लाइसेन्स प्रदान गर्ने व्यवस्था हुनेछ ।

कोटा सिस्टम पनि हट्यो

यसैबीच, सवारी लाइसेन्सको अनलाइन आवेदन फारम भर्न लागू गरिएको कोटा सिस्टम हट्ने भएको छ । यसको लागि सर्वरको क्षमता बढाउने, लोड म्यानेजमेन्ट लगायतको काम भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिनुभयो ।

तयारी पुरा भए बिहिबारबाट अनलिमिटेड बनाउने र त्यो दिन सम्भव नभए आइतबारदेखि गर्ने उहाँले जानकारी दिनुभयो । यसरी फारम भर्दा एकैपटक धेरैले भरेपनि सिस्टमले वेटिङमा राखेर बायोम्याट्रिकको मिति तोक्ने हमालले बताउनुभयो ।

यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गते देखि आवदेन खुला गरेको थियो ।

आवेदन खुला भएपनि कोटा सिस्टम फारम भर्नेको संङ्ख्या अधिक भएकोले अधिकांस सेवाग्राही फारम भर्नबाट बन्चित थिए । विभागका अनुसार सेवाग्राहीले अब बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्नेछन् ।

प्रतिक्रिया