शुक्रबार, वैशाख १०, २०७८

ओलीले राजनीतिक बेइमानी गरे: प्रचण्ड

ज्योतिन्यूज २०७७ पुष २८ गते २०:०८

पोखरा ।
नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पद प्राप्त गर्नका लागि केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद छोड्ने सम्झौतामा सुरुमा हस्ताक्षर गरेको बताउनुभएको छ ।

प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरूको आज पोखरामा आयोजित भेलामा प्रचण्डले प्रधानमन्त्री पद प्राप्त गर्नका लागि ओलीले राजनीतिक बेइमानी गरेको आरोप लगाउनुभयो । पार्टी एकताका क्रममा जबज छोड्न नहुने भन्दै माधवकुमार नेपालले कुरा राखेको र पूर्वमाओवादीका केही नेताले पनि २१ औँ शताब्दीको जनताको जनवाद राजनीतिक सिद्धान्त राख्नुपर्छ भनेर कुरा राखेको अवस्थामा ओलीले नै जबज छोड्न तयार भएपछि कुरा मिलेको प्रचण्डको दावी थियो ।

आफू र ओलीबीच साझा कार्यदिशा बनाउने र माओवादी आन्दोलन तथा मदन भण्डारीको भूमिकाको सही मूलयाङ्कन गरेर अगाडि बढ्ने सहमति भएको पनि प्रचण्डले बताउनुभयो । पार्टीमा अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले पार्टी विभाजन गरेको उल्लेख गर्दै अहिले नेताहरूलाई धम्क्याउने र तर्साउने काम गरिरहेको, संविधान र व्यवस्थाको विरुद्धमा लागिरहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया