शनिबार, वैशाख ४, २०७८

प्रदेश एकमा कोरोनाको न्यून संक्रमण : रिएन्टीजेन्टबाट परीक्षण, आधा घण्टामै रिपोर्ट !

ज्योतिन्यूज २०७७ पुष २९ गते ८:११

इटहरी । कोरोना संक्रमणको दर अहिले मुलुकभरि नै कम भइरहेको छ । प्रदेश एकमा पनि कोरोना संक्रमणको दर न्युन भइरहेको सुनसरीको धरान र इटहरीमा भने चाँडो कोरोना सङ्क्रमण पत्ता लगाउने रिएन्टीजेन्टबाट कोरोना परीक्षण सुरु भएको छ ।

नेपाल सरकारले पछिल्लो समय पिसिआर परीक्षण गर्दा धेरै समय लाग्ने भन्दै चाँडो परिणाम दिने रिएन्टीजेन्ट प्रविधिबाट कोरोना परीक्षण सुरु गरेसँगै सुनसरीको धरान र इटहरीमा पनि परीक्षण सुरु गरिएको हो ।

नेपाल सरकार स्वास्थ्य सेवा विभागले स्थानीय निकाय धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको संयोजनमा हिजो (मंगलबार) धरान १ को पुरानो अस्पतालमा रिएन्टीजेन्टबाट निस्शुल्क कोरोना परीक्षण भइरहेको छ ।

धरान उपमहानगरपालिकाले १ हजार जनाको परीक्षण समुदाय स्तरमै पुगेर परीक्षण गर्ने तयारी गरेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । उनका अनुसार आज पहिलो दिन १ सय ५० जनाको निःशुल्क कोरोना परीक्षण हुनेछ । आज पहिलो दिन समुदायमा अग्रपंक्तिमा खटिएका मानिसहरूको परीक्षण गरिँदै छ ।

विगतमा आरडिटी र सिपिआर विधिबाट कोरोना परीक्षण हुँदै आएकोमा पछिल्लो समय सही र चाडै नतिजा दिने रिएन्टीजेन्ट विधिबाट कोरोना परीक्षण देशै भरी गर्ने सरकारले सुरु गरेको छ ।

जस अनुसार सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा परीक्षण सुरु भएको स्वास्थ्य कार्यालय सुनसरीका सिआईसिटीका सहजकर्ता मनीष सुबेदीले बताए । उनका अनुसार हिजो पहिलो दिन इटहरीमा ८ जनाको रिएन्टीजेन्टबाट कोरोना परीक्षण गरिएको थियो भने आज पनि इटहरीमा परीक्षण जारी रहेको छ ।

अस्पतालमा छैनन् संक्रमित, बन्द हुन थाले उपचार

प्रदेश नम्बर एकमा निजी र सरकारी अस्पतालहरूले नै कोभिड विशेष अस्पतालहरू सञ्चालनमा ल्याएका थिए । तर, पछिल्लो समय संक्रमण दर न्यून हुन थालेपछि भने कोरोना उपचार सेवा बन्द हुन थालेका छन् ।

पुसको चौथो सातासम्म आइपुग्दा प्रदेशका सरकारीसहित निजी अस्पतालमा गरी कुल चार जना कोरोना संक्रमित उपचाररत छन् । कोरोना संक्रमितको संख्यामा आएको कमीसँगै विराटनगरको न्युरो अस्पतालले कोरोना उपचारको सेवा बन्द गरेको छ । नोबेल, विराट र झापाको विएमसी अस्पतालले कोरोनाको उपचारको सेवा बन्द गर्ने तयारी गरेका छन् ।

निजी अस्पताल मात्र हैन प्रदेशका सरकारी अस्पतालहरूमा पनि कोभिड संक्रमित नगण्य छन् । कोरोना संक्रमितको उपचार हुने प्रदेशका सरकारी अस्पतालमा अब दोहोरो संख्यामा संक्रमित छैनन् । प्रदेश सरकारले गत चैतबाट सञ्चालनमा ल्याएको कोसी कोभिड–१९ अस्पतालका अहिले सबै शैया खाली भएको छ ।

धरानको बिपीको कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबारसम्म जम्मा एक जना संक्रमित मात्र उपचाररत छन् । अस्पतालका सह प्रवक्ता चूडामणि पोखरेलले हालसम्म भर्ना भएका १ हजार १ सय ७३ जनामध्ये १ सय १९ जनाको मृत्यु भएको छ । प्रतिष्ठानबाट कोरोना स्वास्थ्य लाभ गरी ९ सय ७६ जना घर फर्किएका छन् ।

प्रतिक्रिया