आइतबार, चैत २९, २०७७

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु

ज्योतिन्यूज २०७७ पुष २९ गते १२:२०

काठमाडौं । दोलखा, मोरङ, बर्दिया, बारा, कपिलवस्तु, डोटी र बाग्लुङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ ।

दोलखा बैतेश्वर गाउँपालिका-३ जयनालुस्थित सडकमा बा.१५ च ७८०५ नम्बरको बोलेरोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने जय बहादुर तामाङका ६ वर्षीय छोरा संगम तामाङको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको चरिकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ कानेपोखरी गाउँपालिका-७ जदाहा मोडस्थित सडकमा को.२ त ६९९७ नम्बरको ट्याक्टरले को.१७ प ४८४५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-४ बस्ने ३० वर्षीय रोशन गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मोरङ अस्पताल पथरीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही गाउँपालिका-४ बस्ने ३२ वर्षीय राजकुमार तामाङलाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बर्दिया गुलरिया नगरपालिका-५ स्थित सडकमा भे.१ त ५९७३ नम्बरको ट्याक्टरले भे.१ ह ५५७२ नम्बरको अटोलाई मंगलबार साँझ ठक्कर दिँदा अटोमा सवार बारबर्दिया नगरपालिका-३ बानियाभार बस्ने ४५ वर्षीय डगिराम थारूको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनामध्ये १ जना उपचारपछि डिस्चार्ज भएका छन् भने २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । दुबै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा माहागढीमाई नगरपालिका-२ भुतही पुलस्थित सडकमा ना.२ त १२५३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई मंगलबार बेलुका दुर्घटना हुँदा ट्याक्टर चालक रौतहट कटहरिया नगरपालिका-९ बस्ने २५ वर्षीय शुकदेव पासवानको घटनास्थलमै मृत्यु भएको छ ।

कपिलवस्तु बुद्धभूमि नगरपालिका-१ वसन्तपुरमा लु.१० प ७४३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही नगरपालिका-२ गोरुसिंगे थारुगाउँ बस्ने २८ वर्षीय सुरेन्द्र थारु र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय टिकाराम थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका सुरेन्द्रको जिल्ला अस्पताल तौलिहवामा र टिकारामको मर्सिसिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

डोटी शिखर नगरपालिका-८ खुनस्थित सडकमा प्रदेश २-०३-००१ स ५४०२ नम्बरको अटो सडकबाट करिब ८० मिटर तल सेती नदीमा खसेर मंगलबार बेलुका दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका-३ आली बस्ने ५३ वर्षीय पदम जोराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अटोका चालक सोही नगरपालिका-३ बस्ने ४० वर्षीय लोक जोरा समेत ५ जनाको शैलेश्वरी अस्पतालमा उपचार भईरहेकोमा ३ जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ ।

बाग्लुङ नगरपालिका-३ बोक्से खाल्डोस्थित सडकमा ध.१ त ४७१२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा ट्याक्टर चालक म्याग्दी धवलागिरी गाउँपालिका-७ मुना बस्ने २९ वर्षीय केश बहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया