आइतबार, फागुन २३, २०७७

७० वर्षपछि यसरी बदलियो भारतप्रति नेपालीको मनोविज्ञान

रमेश भुसाल २०७७ माघ ११ गते १६:०४

काठमाडौं । नेपाल र भारतबीच भारत स्वतन्त्र भएदेखी नेपालमा गणतन्त्रको घोषणा हुँदाको बखतसम्म अत्यन्त सुमधुर सम्बन्ध रहदै आएको थियो ।

नेपालमा हुने हरेक राजनीतिक परिवर्तनमा भारतको सकारात्मक सहयोग रहदै आएको छ । चाहे २००७ सालको परिवर्तन होस् चाहे २०६३ सालको परिवर्तन नै किन नहोस् । नेपाल र भारत बीच सदीयौंदेखि सुमधुर सम्बन्ध रहदै आएको परराष्ट्र मामिलाका जानकार र इतिहासकारहरु बताउने गर्दछन् ।

खासगरी तराइबासीहरु नेपाल र भारतका बीचमा उनीहरुकै भाषामा ‘रोटी–वेटी’को सम्बन्ध रहदै आएको बताउँदै यो सम्बन्धमा कुनै आँच आउन दिन नहुनेमा जोड दिने गरेका छन् । जसलेगर्दा उनीहरुलाई यदाकदा भारतपरस्तको आरोप पनि लाग्ने गरेको छ ।

नेपाल र भारतका बीचमा घनिष्ट सम्बन्ध रहिरहनुमा दुबै देशको राजनीतिक व्यवस्थामा समानता हुन पनि एक हो ।

भारत स्वतन्त्र भएपश्चात त्यहाँ संसदीय व्यवस्था लागु भयो भने त्यसको केही वर्षमा नेपालमा पनि संबैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्था लागु गरियो । ब्रिटिस उपनिवेसबाट सन् १९४७ मा भारत स्वतन्त्र भएपछि त्यहाँ संसदीय व्यवस्था लागु गरियो ।

त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्यो । त्यसैले नेपालमा पनि लामोसमयदेखी शासन गर्दै आएको निरंकुश जहानिया राणा शासनको विरुद्ध आन्दोलन भयो ।

नेपालमा राजतन्त्र रहेको र पृथ्वीनारायण शाहको अग्रसरतामा नै नेपाल एकिकरण भएको तथा उनकै सन्तान राजा रहदै आएको पृष्ठभूमिमा नेपाली जनताको राजाप्रति अगाध स्नेह र श्रद्धा रहेको परिपे्रक्षमा विनाकारण राणा शासनमा स्वयम् राजालाई समेत अधिकारविहिन बनाइ अघोषित प्रकारले नजरबन्धमा राखिदै आएकोप्रति जनताको आक्रोश रहदै आएको थियो ।

यस्तो अवस्थामा भारतमा पूर्ण संसदीय व्यवस्था लागु गरिएको भएपनि नेपालमा भने राणा शासनको अन्त्य गरी संबैधानिक राजतन्त्र सहितको संसदीय व्यवस्था लागु गर्ने जमर्को गरियो । हुनत नेपाल र भारतका बीचमा निकट सम्बन्ध कायम रहनुमा अन्य धेरै कारणहरु पनि छन् ।

नेपाल र भारतका बीचमा राजनीतिक मात्र होइन सामाजिक, सांस्कृतिक, भाषिक, जातीय, भौगोलिक तथा ऐतिहसिक लगाएत कैयौं समानता रहेका छन् ।

नेपाल एकिकरण र भारत स्वतन्त्र हुनुभन्दा हजारौं वर्ष पहिलेदेखी नै नेपाल र भारतका बीचमा धार्मिक एवं सांस्कृतिक रुपमा एकिकृत सम्बन्ध रहदै आएको देखिन्छ । अहिले भारतको भूमिमा पर्ने अयोध्याका रामको विवाह अहिले नेपालको भूमिमा पर्ने जनकपुरकी सीतासँग हुनु, हिन्दु धर्मालम्बीका चार मुख्य धाम मध्ये ३ धाम भारत र एक धाम नेपालमा भएको विश्वास गर्नु ।

त्यसैगरी गौतम वुद्धको जन्म नेपालमा भएपनि उनको बाँकी सबै जीवन भारतमा वितेको विस्वास गर्नु आदि । यस्ता कैयौं समानताका उदाहरण रहेका छन् नेपाल र भारतका बीचमा घनिष्ट सम्बन्ध रहनुमा । तत्कालिन अवस्थामा मानिसको आवत जावत समेत चीनमा भन्दा भारतमा सहज रुपमा गर्न सकिने भएकोले पनि नेपाल र भारतका बीचमा घनिष्ट सम्बन्ध रहदै आएको मान्न सकिन्छ ।

भारतसँगको सम्बन्ध यतिमा मात्र सिमित छैन रोजगारका हिसाबले पनि विगत लामोसमयसम्म नेपालीहरुको रोजगारको एकमात्र विकल्प भारत नै रहदै आएको सर्वविदितै छ भने पछिल्लो समय नेपालमै लगानीको ढोका खुलेपछि यहाँ लगानी गर्ने अधिकांश भारतीयहरू नै रहका छन् ।

रमेश भुसाल

पहिलो कारण हो नेपालका दुई छिमेकी मुलुक भारत र चीनका बीचमा सुमधुर सम्बन्ध नहुनु, दुबै देशको राजनीतिक व्यवस्था तथा आर्थिक नीति फरक हुनु र दुबै देशको बीचमा सीमा विवाद समाधान नहुनु (किनभने नेपालको जस्तै चीनको पनि भारतसँग सीमा जोडिएको छ । )

जसलेगर्दा चाहेर पनि नेपाल र भारत बीचको मैत्रीपूर्ण सम्बन्धमा सहजै दरार पैदा गराउन सम्भव थिएन । तर पछिल्लो समय भारत र नेपालबीच सम्बन्ध सुमधुर छैन ।

यसका केही कारणहरु छन्ः

नेपालमा कम्युनिष्ट पार्टीप्रति बढ्दो आकर्षण पनि भारतसँग सदीयौंदेखि रहदै मैत्रीपूर्ण सम्बन्ध विग्रनुको प्रमुख कारण बन्न पुगेको छ ।

नेपालमा राजतन्त्रको अन्त्य गर्न तथा माओवादी सशस्त्र युद्धलाई शान्तिपूर्ण आन्दोलनमा बदल्न महत्वपूर्ण भूमिका खेलेको भारत संबिधान सभाको एजेण्डामा नेपालमा कम्युनिष्ट पार्टीको वर्चश्व देखिएपछि नेपाल भारत सम्बन्धमा प्रत्यक्ष देखने गरी उतारचढा आउन थालेको हो ।

माथी भनिएजस्तै नेपाल भारत सम्बन्ध विग्रनुमा पछिल्लो समय राजनीतिक कारण नै प्रमुख बन्न पुगेको छ ।

किनभने चीनमा कम्युनिष्ट पार्टीको सरकार भएको र त्यहाँ लोकतन्त्र नभएको कारण नेपालका लोकतन्त्रबादीहरु कहिल्यै चीनको निकट हुन नसक्ने तथा यहाँका कम्युनिष्टहरु आफूलाई जति लोकतन्त्रबादी भनेपनि चीनकै सामिप्यमा रहन चाहने भएकाले आन्तरिक रुपमा समेत भारत र चीनलाई हेर्ने सवालमा दलहरूका बीचमा मतभेद रहदै आएको परिप्रेक्षमा नेपालको राजनीति संबिधान सभाको वरिपरी घुम्न पुगेपछि सिंगो विश्वको ध्यान नेपालको नयाँ संबिधानमा समावेस गरिने बुँदाहरुमाथि केन्द्रित भयो, त्यो स्वभाविकै पनि थियो ।

किनभने संबिधानले नै सम्बन्धित मुलुकको भावी शासकीय स्वरुप निर्धारण गर्ने हो र यो नै देशको मूल कानुन भएकाले त्यो देशको संस्थापन राजनैतिक मार्गचित्र पनि हो ।

त्यसैले संबिधान निर्माणको समयमा नेपालमा भारत विरोधी भावना फैलाउने कम्युनिष्ट पार्टीको नै प्रभाव बढि रहेको अवस्थामा नेपालको मूल कानूनमै भारतविरोधी शब्दावली समावेस हुनसक्नेतर्फ भारत चनाखो भएर हेरिरहेको थियो ।

संयोगवश हुनपनि त्यस्तै भयो भारतले नचाहँदा नचाहँदै पनि नेपालको वर्तमान संबिधानमा संघीयता र धर्म निरपेक्ष्यता समावेस गयिो । जसको कारण नेपालको वर्तमान संबिधानप्रति असहमति जनाउनुपर्ने वाध्यता आइलाग्यो ।

त्यसकालागि भारतले जुन बाटो अपनायो त्यो नै भारतका लागि अत्यन्तै महंगो सावित हुनपुग्यो । नेपाल भुकम्पको चपेटामा परेको वेला भारतले गरेको अघोषित नाकावन्दी नै भारतविरोधी जनभावना फैलाउन सबैभन्दा बलियो आधार बन्नपुग्यो ।

त्यसैगरी तराईमा पहाडीमूलका र तराईमूलका मानिसका बीचमा कहिले पनि आत्मीयता र भाइचारा सम्बन्ध नहुनु पनि भारतसँगको सम्बन्ध विग्रनुमा एउटा कारण बन्न पुगेको छ ।

थारु समुदाय वाहेक अन्य सबै तराईबासी मधेशी समुदायको भावनात्मक सम्बन्ध भारतसँग निकट रहदै आएको तथा तराईमा बसोबास गर्ने पहाडी समुदायप्रति नकारात्मक धारणा राख्दै पटक पटक भौतिक आक्रमण गर्ने र त्यो आक्रमणमा भारतीयमुलका मानिसहरुको संलग्नता रहनु पनि भारतप्रति नेपालीहरुको मनोविज्ञान परिवर्तन हुनुमा एउटा कारण बन्न पुगेको हो ।

नेपालीहरुको मनोविज्ञान बदलिनुमा बदलिदो अन्तर्राष्ट्रिय परिवेशले केही हदसम्म सहयोग गरेको देखिन्छ ।

चीनको विश्वव्यापी बढ्दो प्रभावको असर नेपालमा पनि पर्नु स्वभाविकै मान्नु पर्दछ । पछिल्लो समय विश्व अर्थतन्त्रमा उदयमान चीनले छिमेकी मुलकहरुमा आफ्नो प्रभाव विस्तार गर्न खोज्नु स्वभाविकै हो । तर नेपाल विविध कारणले लामोसमयदेखि भारत निर्भर रहदै आएकोमा पछिल्लो समय (खासगरी भारतको अघोषित नाकावन्दी पछि) नेपालले चीनसँग व्यापार र पारवाहान क्षेत्रमा चीनसँग सम्बन्ध बढाउन चाह्यो जुन भारतकालागि रुचिकर हुने कुरा भएन ।

नेपालमा कम्युनिष्ट पार्टीको सरकार भएको अवस्थामा चनिसँग सम्बन्ध बढाउन खोज्नु फेरी स्वभाविकै हो ।

तर नेपाल र चीन बीचमा धेरै असमानता रहेकोमा प्रमुख असमानता विकासको असमानता हो र नेपालले चाहेर पनि तत्कालै चीनसँग भारतसँग जस्तो सम्बन्ध स्थापित गर्न सम्भव थिएन र छैन पनि । चीन भने पछिल्लो समय नेपालमा आफ्नो प्रभाव बढाउन प्रयत्नशील रहेको देखिन्छ ।

नेपाली जनताको पछिल्लो मनोविज्ञानले उसको त्यो प्रयासलाई थप सहयोग पुर्याएको देखिन्छ ।
अन्तमा सदीयौंदेखि भारतको एकाधिकारभित्र रहदै आएको नेपाल अव भने त्यो विरासत तोड्ने प्रयासमा रहेको देखिन्छ ।

नेपालले पछिल्लो समय जारी गरेको नयाँ नक्शा, चीनसँग व्यापार सम्झौता, नेपालभित्र चीनिया लगानीलाई प्रोत्साहन आदि ।

त्यसैगरी तेस्रो मुलुकमा आकर्षक रोजगारीका अवसर, भारतीय सीमामा नेपालीहरुलाई गर्ने व्यवहार, गणतन्त्रको स्थापना पश्चात नेपालीहरुमा आएको स्वाभिमानी मनोविज्ञान लगाएतले गर्दा नेपालीहरुको ७० वर्ष पुरानो मनोविज्ञानमा परिवर्तन आएको देखिन्छ ।

रमेश भुसाल

भुषाल समसामयिक विषयबस्तुमा कलम चलाउँछन् ।

प्रतिक्रिया