बिहीबार, फागुन २०, २०७७

प्रचण्डसँग वार्ता गरिरहेका दुई मन्त्री – गौरीशंकर चौधरी र मणि थापा ?

'गौरीशंकर चौधरी सबैभन्दा पहिला प्रचण्ड-नेपाल पक्षमा फर्किनेछन् ।

विशेष संवाददाता २०७७ माघ २९ गते ७:४०

काठमाडौँ । एक साताअघि केपी शर्मा ओली पक्षमा लागेर खानेपानी मन्त्री बनेका पूर्व माओवादी नेता मणि थापाले अध्यक्ष प्रचण्डका अत्यन्तै निकट रहेका नेतालाई एसएमएस गरे ।

‘कमरेड ! मेरो ज्यान यता भएपनि मन भने उतै छ है । मेरो बारेमा अन्यथा सोच्नुपर्दैन ।’

प्रतिनिधि सभा पुनःस्थापना भएपछि थापाको मन्त्री पद गुम्छ । उनी सांसद थिएनन् । बढीमा उनले ६ महिनासम्म मन्त्री खान सक्छन् ।

मन्त्री थापा मात्र होइन, अर्का मन्त्री गौरीशंकर चौधरी र यहाँसम्म कि गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’समेतले मूल पार्टीमै फर्किने इच्छा जनाइरहेका छन् ।

केही दिनअघि मन्त्री क्वार्टरमा आफूनिकट नेताहरूसँग कुरा गर्दै बादलले भनेका थिए, ‘अदालतले बिताउला जस्तो छ ।’

अब फर्कौं बुधवारको आमसभातिर । प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको गरेको आमसभामा प्रचण्डले आफ्नो पक्षमा फर्किन चाहनेहरूको लिस्ट लामो रहेको दाबी गरेका थिए ।

‘केपीतिर गएकाहरू फर्किने लाम लागेको छ । लिस्ट लामो छ । अरु त अरु उहाँले बनाएका २ जना मन्त्रीहरू पनि फर्किने भनेर मसँग वार्ता चलिरहेको छ,’ प्रचण्डको भनाइ थियो ।

के प्रचण्डको दाबी सही छ त ?

मणि थापाको एसएमएसले प्रचण्डको दाबीलाई केही हदसम्म पुष्टि गर्छ । खुमलटार स्रोतको दाबी छ – ‘गौरीशंकर चौधरी सबैभन्दा पहिला प्रचण्ड-नेपाल पक्षमा फर्किनेछन् ।’

चौधरीले अध्यक्ष प्रचण्डलाई नै फोन गरेर आफू फर्किन चाहेको बताएका थिए । जवाफमा प्रचण्डले तपाईंले छिटो निर्णय गर्नुस् भनेका थिए ।

मन्त्री नै फर्किने भएपछि त्यसले ठूलो राजनीतिक सन्देश दिने आंकलन गरिएको छ ।

स्रोत भन्छ – ‘रायमाझी र थापा दुवैले प्रचण्डसँग कुरा गर्ने हिम्मत गरेका छैनन् तर प्रचण्डनिकट नेताहरूसँग निरन्तर सम्पर्कमा रहेका छन् ।’

अदालतले संसद पुनःस्थापना गरिदिने सम्भावना बढेपछि ओली समूहमा लागेर मन्त्री भएकाहरू प्रचण्ड-नेपाल पक्षमै फर्किन खोजिरहेका छन् ।

बादल फर्केलान् त ?

प्रचण्ड आफैंले सार्वजनिक सम्बोधनका क्रममा बादल आफूतिर फर्किने विश्वास व्यक्त गरिरहेका हुन्छन् । त्यसो भए के बादल पनि प्रचण्डसँग वार्तामा छन् त ?

हामीले बादलनिकट स्रोतलाई यसबारे सोधेका थियौं । स्रोत भन्छ – ‘ओली र ओलीनिकट नेताहरूका पछिल्ला गतिविधिलाई देखेर बादल असन्तुष्ट बन्नुभएको साँचो हो । तर उता गइहाल्ने भन्ने कुरा चाहिँ अहिलेसम्म भएको छैन ।’

केही दिनअघि ओलीनिकट युवाहरूको समूहले आयोजना गरेको भेलालाई बादल पक्षले बहिष्कार गरेको थियो ।

ओलीसँग बादल रुष्ट हुँदै जानुका ३ वटा कारण छन् । पहिलो हो बरियता विवाद । ओलीले बादललाई आफूपछिको दोस्रो बरियता दिने भन्दै आफ्नो समूहमा लगेका थिए । त्यो प्रतिबद्धता पूरा भएको छैन ।

यो पनि: मन्त्री क्वार्टरमा बादलको बिलौना – अदालतले बिताउँछ कि क्या हो ?

दोस्रो दलनिकट संघसंस्थाहरूमा बादलले गरिरहेको बार्गेनिङ । ‘ओलीले मिलाएर गर्नुस् न मात्र भन्ने रहेछन् तर ओलीनिकट नेताहरूले हामीलाई गन्दै गन्दैनन,’ बादलनिकट रहेका एक युवाले ज्योतिन्यूजसँग भने ।

बादल असन्तुष्ट हुनुको तेस्रो कारण हो ओलीले संघीयता र धर्मनिरपेक्षता खारेज गर्ने डर ।

ओलीसँग असन्तुष्टि बढ्दै जाने हो भने बादलसँग जम्मा २ विकल्प रहनेछन् । छुट्टै समूह खडा गर्ने । अनि सानो समूहको नेता बन्ने ।

दोस्रो हो प्रचण्ड माधवतिरै फर्किने । बादलले दोस्रो विकल्प अपनाउनेमा प्रचण्ड र नेपाल दुवै अध्यक्ष ढुक्क छन् ।

प्रचण्डले वार्ता भइरहेको दाबी गरेका दुई मन्त्री को को हुन् ?

पहिलो मन्त्री निसन्देह चौधरी हुन् । उनलाई प्रचण्डले कृषिमन्त्रीसमेत बनाएका थिए । केही दिनमा चौधरीले घोषणा गरेरै प्रचण्ड-नेपाल पक्षमा फर्किने तयारी गरिरहेका छन् ।

प्रचण्डले दाबी गरेको दोस्रो मन्त्री भने बादल या मणि थापा मध्ये एकजना हुन । थापाले एकपटक मन्त्री भइहाल्छु भनेर आफू ओलीतिर लागेको आफूनिकटलाई बताउने गरेका छन् ।

थापाले अदालतको फैसलापछि निर्णय लिने बुझिएको छ । बादलले पनि संसद पुनःस्थापना भएपछि नै निर्णय लिनेछन् । प्रभु शाह फर्किने सम्भावना भने न्यून छ ।

प्रतिनिधि सभा पुनःस्थापना गर्ने अदालतको निर्णयपछि मन्त्रीहरू मात्र होइन, करीब ३० जना जति सांसदहरू प्रचण्ड-नेपाल पक्षमै फर्किन सक्ने आंकलन बालुवाटारको छ । तर निर्वाचन आयोगले दिने आधिकारिकतामा धेरै कुराहरू निर्भर हुन्छ ।

ओलीले सूर्य चिह्न पाए भने यता फर्किनेको संख्या कम हुन सक्छ । प्रचण्ड-नेपाल पक्षले सूर्य पाएदेखि ओलीसँग निकै कम सांसद बच्नेछन् । सूर्य चिह्न फ्रीज भएको अवस्थामा पनि केही मन्त्री र सांसदहरू भने फर्किने सम्भावना छ ।

यो पनि पढ्नुहोस्:

निकटस्थलाई ओलीको ब्रिफिङ – वैशाखमा चुनाव हुँदैन, संसद पुनर्स्थापना भए पुनः भंग हुन्छ !

ओली ‘सनक’ को स्खलन शुरू, बालुवाटारमा ‘प्लान बी’ को तयारी

प्रतिक्रिया