शुक्रबार, वैशाख १०, २०७८

स्ट्राइक सावित्राको उपचारमा एन्फाले सहयोग गर्ने

ज्योतिन्यूज २०७७ फागुन ५ गते १०:२१

काठमाडौं । नेपालकी कीर्तिमानी स्ट्राइक सावित्रा भण्डारीको उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहयोग गर्ने भएको छ ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले सावित्राको उपचारका लागि एन्फाले सकृय सहयोग गर्ने बताएका हुन् । एन्फा अध्यक्ष शेर्पाले सावित्राको चोटले राष्ट्रिय टिममा अपुरणीय क्षति भएको जनाएका छन् ।

‘नेपाली महिला राष्ट्रिय टीमका अत्यन्तै उत्कृष्ट खेलाडी साबित्रा भाण्डारीको जारी लीगमा भएको घाइतेले नेपाली राष्ट्रिय टीमको आगामी दिनहरुमा अपुरणीय क्षति हुने भएको छ’ शेर्पाले फेसबुकमा लेखेका छन्– ‘साबित्रा भण्डारीको स्वस्थ्य उपचारमा एन्फा हरेक कोणबाट उपचारका लागि सकृय रहने र शिघ्र स्वस्थ्य लाभको कामना पनि गर्दछु।’

चोटका कारण सावित्रा एक बर्षसम्म मैदानबाट बाहिर रहनसक्ने डाक्टरहरुले बताएका छन् । सावित्रा राष्ट्रिय महिला लिग अन्तर्गत सोमबार नेपाल पुलिस क्लबसंगको खेलमा घाइते भएकी छिन् ।

उनको दायाँ घुँडामा चोट लागेको छ । बिएन्डबी अस्पतालमा एमआरआई गरिएको र रिपोर्टको प्रारम्भिक अध्ययनले घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको र अन्य चोट पनि देखिएको एन्फाले जनाएको छ । सावित्राले जारी लिगमा १० खेलमा ४३ गोल गरेकी छन्।

प्रतिक्रिया