शनिबार, फागुन २२, २०७७

फेसबुकले अष्ट्रेलियाका मिडिया र प्रयोगकर्तालाई समाचार सेयर गर्न बन्द गरिदियो

ज्योतिन्यूज २०७७ फागुन ६ गते ११:०१

क्यानबेरा । सामाजिक सञ्जाल फेसबुकले विवाद बढ्दै गएपछि अष्ट्रेलियाका मिडिया र प्रयोगकर्ताले समाचार पढ्न र सेयर गर्न नपाउने बनाएको छ ।

अस्ट्रेलियामा प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी नयाँ कानुनको विषयबारे विवादका कारण फेसबुकले प्रयोगकर्ताहरूलाई आफ्नो प्लेटफर्ममा समाचार हेर्न र साझा गर्नमा रोक लगाउने घोषणा गरेको हो ।

केही प्रयोगकर्ताहरूले निश्चित समाचार साइटहरूबाट सामाग्री साझा गर्न नमिल्ने बनाइसकिएको बताएका छन्। प्रस्तावित कानुनले गुगल र फेसबुकजस्ता ठूला प्रविधि कम्पनीहरूलाई अस्ट्रेलियाका सञ्चार संस्थाहरूसँग सम्झौता गर्न वा सामग्री साझा गरे बापत शुल्क तिर्न बाध्य पार्ने छ।

फेसबुकले आफूले कुनै मिडियाको सामग्री चोर्ने नगर्ने तर प्रयोगकर्ता या प्रकाशकहरूले नै आफ्नो साइट र समाचारको भ्यूज बढाउन फेसबुकमा समाचार सेयर गर्ने गरेकाले पैसा तिर्न नसकिने बताउँदै आएको छ ।

फेसबुकले २०२०मा अष्ट्रेलियन मिडिया हाउसले फेसबुकमा समाचार शेयर गरेर ४०७ मिलियन अष्ट्रेलियन डलर कमाएको दाबी गरेको छ । फेसबुकले समाचार बन्द गरिदिएपछि मिडिया हाउसका समाचारमात्र नभएर सरकारी निकायका सूचनाहरू पनि फेसबुकमा देखिन छोडेका छन्।

यसअघि गुगलले अस्ट्रेलियामा आफ्नो सर्च इन्जिन बन्द गर्ने धम्की दिएको थियो। तर बुधवार भने उसले विश्वकै सबैभन्दा ठुलो समाचार संस्था न्यूज कर्पसँग सहमति गरेको घोषणा गरेको छ।

प्रतिक्रिया