शनिबार, फागुन २२, २०७७

फेसबुकले बन्द गरिदियो म्यानमारका सेनाको प्रमुख पेज

ज्योतिन्यूज २०७७ फागुन ९ गते १३:३०

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले सैन्य कू गरेको म्यानमारको सेनाको प्रमुख पेज बन्द गरिदिएको छ ।

सैन्य कूको विरोधमा उत्रिएका दुई जना प्रदर्शनकारीको प्रहरीले हानेको गोली लागेर मृत्यु भएको अर्को दिन फेसबुकले हिंसा भड्काउने कुरालाई प्रतिबन्ध गर्ने भन्दै पेज बन्द गरिदिएको जनाएको छ ।

म्यानमारको सेनाले फेब्रुअरी १ मा गरेको कूको विरोधमा अहिले निरन्तर प्रदर्शन भइरहेको छ ।

फेसबुकका एक प्रतिनिधिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी विश्वव्यापी नीतिअनुसार हामीले टाट्माडाव ट्रु न्युज इन्फरमेसन टिम पेज हटाएका छौं ।’ आइतबार उक्त पेज फेसबुकमा भेटिएको छैन । यस विषयमा प्रहरीका प्रवक्ताले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

पछिल्लो समय फेसबुकले मानव अधिकारको विषयलाई पनि संवेदनशीलरुपमा लिन थालेको छ । यसअघि सन् २०१८ मा पनि फेसबुकले म्यानमारका सेना प्रमुख मिन औंङ हालिङको पेज सहित अन्य १९ सेनाका अधिकारीहरुले चलाउने पेजहरु बन्द गरिदिएको थियो ।

यसअघि गत नोभेम्बरमा निर्वाचन हुनुभन्दा अगाडि फेसबुकले सेनाले सञ्चालन गरिरहेको ७० नक्कली खाता र पेज हटाएको घोषणा गरको थियो ।

यसअघि आइतबार भएको प्रदर्शनका क्रममा मन्डालय सहरमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो। प्रदर्शनका क्रममा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया