शनिबार, फागुन २२, २०७७

रुष्टियो प्रदेश २ सरकारः प्रदेश प्रमुख झालाई सरकारले स्वागत नगर्ने

ज्योतिन्यूज २०७७ फागुन ९ गते १६:१७

काठमाडौँ । तिलक परियारलाई हटाएर राजेश झा ‘अहिराज’लाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएपछि प्रदेश दुई सरकार रुष्टिएको छ ।

दलित समुदायका तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएर उच्च जातिका झालाई नियुक्त गरेको भन्दै नवनियुक्त प्रदेश प्रमुख झालाई प्रदेश सरकारले स्वीकार नगर्ने भएको छ ।

प्रदेश २ सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र साहले प्रदेश प्रमुखलाई आफूहरुले स्वागत नगर्ने प्रतिक्रिया दिनुभयो ।

अहिले नेकपाभित्रको झगडाका कारण परियारलाई हटाएर प्रधानमन्त्री ओलीले आफू निकटका राजेश झा ‘अहिराज’लाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख अहिराज आइतबार ४ बजे जनकपुर पुग्दै हुनुहुन्छ । स्रोतका अनुसार प्रदेश सरकारका मुख्य सचिव तथा कर्मचारीहरु प्रदेश प्रमुख झाको स्वागतका लागि एयरपोर्ट जानेछन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह कार्यकर्ताहरु पनि स्वागतका लागि जाने बताइएको छ ।

एमालेका कार्यकर्ताले एयरपोर्टमा एकसय एक किलोको मालाले प्रदेश प्रमुख झाको स्वागत गर्ने तयारी भइरहेको छ ।

फाल्गुण ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखमा तिलक परियारलाई हटाएर राजेश झालाई नियुक्त गर्नुभएको थियो ।

झाले शनिवार पद तथा गोपनियताको शपथ ग्रहण समेत गरिसक्नु भएको छ । ‘राजेश अहिराज’ को नामले परिचित नवनियुक्त प्रदेश प्रमुख झा मधेश मामिलामा विद्यावारिधी गर्नुभएको छ । त्यसैगरी उहाँ पत्रकारितामा समेत संलग्न हुनुहुन्छ ।

प्रतिक्रिया