बिहीबार, फागुन २०, २०७७

चुनावको लागि गृहले माग्यो १६ अर्ब, प्रहरीले माग्यो १५ सय गाडी

ज्योतिन्यूज २०७७ फागुन १० गते ११:५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधी चुनाव घोषणा गरेसँगै गृह मन्त्रालयले चुनावी सुरक्षाको निम्ती १६ अर्ब रुपैया माग गरेको छ ।

म्यादी प्रहरी, सुरक्षा गाडी, सञ्चार सेट लगायतमा खर्च गर्ने योजनासहित उक्त रकम अर्थ मन्त्रालयलाई माग गरेको हो ।

चुनावका निम्ति १ लाखको हाराहारीमा म्यादी प्रहरी भर्ती गर्ने योजना अनुरुप ६ अर्ब रुपैयाँ खर्च रुपैयाँ अनुमानित लागत पेश गरेको छ । अघिल्लो पटक चुनाव हुँदा ९८ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो । उनीहरुलाई दुई महिना जति चुनावी सुरक्षामा खटाइनुपर्ने हुन्‍छ ।

सबभन्दा बढी रकम चाहिँ सुरक्षा गाडी खरिद निम्ति प्रस्ताव गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट १५ सय गाडी प्रस्ताव गरेका छन् । त्यसमा नेपाल प्रहरीले ११ सय र सशस्त्रबाट ४ सय वटा मागिएको छ । यद्यपि गृहमन्त्रालयले चुनावी प्रयोजन निम्ति विदेशी दाताले गाडी सहयोग उपलब्ध गराइदिन्‍छन् कि आशा राखेको छ ।

त्यस अतिरिक्त सञ्चार सेट निम्ति नेपाल प्रहरीले एक अर्ब रुपैयाँ र सशस्त्र प्रहरीले ५० करोड रुपैयाँको हाराहारीमा बजेट मागेका छन् । दुवै सुरक्षा निकायद्वारा प्रस्तावित बजेटलाई समायोजन गरी गृहमन्त्रालयले अर्थमन्त्रालयसमक्ष प्रस्ताव गरिसकेको छ ।
यता निर्वाचन आयोगले पनि सात अर्ब रुपैया बजेट माग गरेको छ ।

प्रतिक्रिया